s

वैदेशिक रोजगारी त्यागेर गाईपालन

कपिलवस्तु, चैत २९ गते । कपिलवस्तु वाणगङ्गा नगरपालिका–६, भगलापुरका झविन्द्र पौडेलले गाईपालनबाट मनग्गे आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाईपालन गर्नुभएको पौडेलले मासिक एक लाख बचत गर्दै आउनुभएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नुभएको थियो ।

२८ महिना कतार र आठ वर्ष कुवेत बसेका उहाँले डालु पशुपालन फार्म सञ्चालन गर्नुभएको थियो । विदेशबाट आएर घरजग्गाको सट्टा गाईपालनमा लगानी गरेको प्रतिफल अहिले मासिक एक लाख बचत भइरहेको उहाँले बताउनुभयो ।

विदेशमा श्रमिक हुनभन्दा गाई पाल्दा आर्थिक प्रगति भएको उहाँ बताउनुहुन्छ । उहाँले १२ वटा गाईबाट व्यवसाय सुरु गर्नुभएको थियो । १६ लाखको लागतमा उन्नत जातका आठ वटा जर्सी र चार होलिस्टोन गाई खरिद गर्नुभएको थियो । अहिले ५० गाईबाट दैनिक १२५ लिटर दुध उत्पादन गर्दै आउनुभएको छ ।

दुहुनो गाईबाट दैनिक औसत १५ लिटर दुध उत्पादन भएको छ । औसत ४.२ फ्याट र आठ एसएनएफ भएको दुध सहकारी संस्थाले प्रतिलिटर ६५ रुपियाँमा खरिद गर्दै आएको छ । उहाँले वाणगङ्गा नगरपालिकाबाट भकारो सुधारका लागि ३० हजार र गोठ सुधारका लागि ५० हजार मात्र अनुदान पाएको बताउनुभयो ।

गाई र गोठका लागि करिब ४५ लाख रुपियाँ लगानी गर्नुभएको छ । दुई कामदारलाई रोजगारी दिनुभएको पौडेलले २७ कट्ठा जग्गामा धानको सिजनबाहेकको समयमा ‘बर्सिम’ र पाँच कट्ठामा ‘नेपियर’ जातको घाँस लगाउनुभएको छ ।

Published on: 11 April 2024 | Gorkhapatra

Link

Back to list

;