s

वैदेशिक रोजगारीको अँध्यारो पाटो, ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो

काठमाडौँ, चैत १९ गते । वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।

यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरूको सङ्ख्या धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि दैनिक औसतमा एक हजार नौ सय बढी श्रम स्वीकृति लिएर जाँदा पाँच वटा शव काठको बन्द बाकसमा नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । बोर्डका पछिल्लो आठ महिनाको अवधिमा साउदी अरबबाट ५१४, मलेसियाबाट ३३३, कतारबाट १२३ र संयुक्त अरब इमिरेट्स (युएई) बाट ८२ जना नेपालीको शव नेपाल ल्याइएको छ । यीमध्ये १९७ वटा शव बोर्डको खर्चमा सम्बन्धित देशको दूतावास, गैरआवासीय नेपाली सङ्घलगायतको समन्वयमा नेपाल ल्याइएको बोर्डले जनाएको छ ।

गत आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका थिए । उक्त वर्ष औसतमा दैनिक दुई हजार ११३ जनाभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार, चालु आव २०८०/८१ को साउनदेखि फागुनसम्मको आठ महिनाको अवधिमा श्रम स्वीकृति लिई चार लाख ७१ हजार २१० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । चालु आव सुरु भएपछि दैनिक औसतमा एक हजार ९६३ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएको देखिन्छ ।

बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार चालु आवमा मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ८१७ मृतकको परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकीको दिने प्रक्रियामा रहेको छ ।

गत आवमा मृत्यु भएका एक हजार २०८ जनाको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरेको थियो । ढकालका अनुसार आव २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

चालु आवको आठ महिनामा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड छ लाख ३५ हजार रुपियाँ उपलब्ध गराइएको छ ।

बोर्डका अनुसार आव २०६५/६६ देखि २०८०/८१ को फागुनसम्म (१५ वर्ष आठ महिनामा वैदेशिक रोजगारीमा गएका १३ हजार ३९५ जनाको मृत्यु भएको छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्फत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ ।

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मुत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना रहेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु तथा आत्महत्याको ठुलो सङ्ख्या छ ।

नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण सामान्य सिप र सूचनाबिना नै विदेश जाने गरेको बताउने गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ४६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो सङ्ख्या जोखिममा पर्ने गरेका छन् ।

चालु आव २०८०/८१ को सात महिनामा वैदेशिक रोजगारीबाट आठ खर्ब ३९ अर्ब विप्रेषण भित्रिएको छ । चालुु आवको आठ महिनामा चार लाख ७१ हजार रोजगारीका लागि बिदेसिँदा सो अवधिमा एक हजार २५५ जना श्रमिकले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।

Published on: 1 April 2024 | Gorkhapatra

Link

Back to list

;