s

वैदेशिक रोजगारको माखेसाङ्लो

अखण्ड भण्डारी

तीन दिनअघि सुदूर पश्चिमका एक युवासँग भेट भयो । हँसिलो चेहराका उनका आँखामा भने टिलपिल आँसु थियो । वैदेशिक रोजगारको माखेसाङ्लोमा परेका उनको कथा त्यसभन्दा मार्मिक । उनले आफ्नो समस्या यसरी सुनाए, 'मेरो घर बाजुराको गोत्रीमा पर्छ । विदेश जाने रहर पहिल्यैदेखि थियो । नजिकको एकजना दाइले एक दिन सोधे, 'जाने भए भन् है । मैले मान्छे चिनेको छु ।' 

ढुंगो खोज्दा देउता भेटियो । म जाने भएँ । उनकै सल्लाहअनुसार दुई दिन हिँडेर सदरमुकाम मार्तडी आएँ । उनले सम्पर्क गराइदिएको व्यक्तिलाई त्यहाँ भेटेँ । उनले धनगढीमा फोन गरे, 'मेरो आफ्नै भाइ हो, मामाको छोरो । दुःख पाको केटो छ । राम्रो काममा पठाइदिनुहोला ।' 
'भइहाल्छ नि', फोन ह्यान्डस फ्रि गरेका थिए, उताबाट उत्तर आयो, 'तिम्रो भाइ मेरो जिम्मा भयो । चिन्तै नलेऊ धेरै राम्रो काम छ ।' 

'पैसा पनि मिलेसम्म थोरै लिनु', उसले आग्रह गर्‍यो । 
'तिम्रो भाइ भनेपछि त्यति गर्दिनँ होला त ?' हल्का रिसाए जस्तो गरेर उसले भन्यो, 'बरु मौका उम्किन्छ, पठाइदिइहाल ।' 
'कतै फँस्ला, दुःख पाउला ?' उसले सम्झाउन छोडेन ।

'विश्वास लाग्दैन भने नपठाऊ', ऊ रिसायो, 'एउटा कोटामा सातजना मान्छे छ, तिम्रो भाइ भनेर मात्रै ।' 
'विश्वास नगरेको होइन', यताको व्यक्ति नम्र भयो, 'तैपनि त । डर लाग्छ नि ।' 

मलाई आश्चर्य लाग्यो । मेरो आफ्नै मामाको छोरो भन्छ । यति धेरै काँध थापेर कुरा गर्छ । किन होला ? 'आफ्नै मान्छे भनेन भने मोराहरूले ठग्नु ठग्छ', फोन राखेर उसैले कारण खोल्यो, 'अब ढुक्क भएर जाऊ ।' 

म त्यही दिन धनगढीतिर लागेँ । डँडेलधुरा पुग्दा रातको ८ बज्यो । त्यहीँ एउटा होटलमा बसेँ । भोलिपल्ट दिउँसो २ बजेतिर धनगढी पुगेर फोन गरेँ, 'कहाँ भेटौं ?' 

'तिमी कहाँ छौ ?' उसले सोध्यो ।
'बस रोक्ने ठाउँमा', मैले भनेँ ।
'पख', उसले भन्यो, 'म त्यतै आउँछु ।'

नजिकको चिया पसलमा चना र चिसो खाँदै उसले सोध्यो, 'पासपोर्ट ल्याएका छौ ?' 
'छ', ब्याग खोतल्दै मैले भनेँ । 'लेऊ त', उसले माग्यो । मैले दिएँ । हेरेर आफ्नो गोजीमा हाल्दै भन्यो, 'एमआरपी नै रहेछ, काम हुन्छ ।'

'कहिलेसम्म हुन्छ ?' मैले सोधेँ । 
'धेर दिन लाग्दैन', उसले भन्यो, 'बढीमा १५ दिन लाग्ला ।'
'काम के गर्नुपर्छ ?' मैले सोधेँ, 'खर्च कति लाग्छ ?'
'कोठाभित्र एसीमा बसेर एक-एक किलाका प्याकेटमा दाल-चामल प्याकिङ गर्ने । काम सजिलो छ । खर्च खासै लाग्दैन । तिमीलाई मिलाउँला नि । आफ्नै मान्छे भनेर म रिक्वेस्ट गरिदिउँला ।'

मेरो मन खुसीले ढक्क फुल्यो । झन्डै आँखाबाट आँसु नै झर्‍यो । 'अब घर गए हुन्छ', उसले भन्यो, 'केही दिनमा म फोन गर्छु, अनि आउनु ।' त्यही बाटो त्यसरी नै म फर्किएँ । मार्तडी पुग्न दुई दिन । उता हिँडेर दुई दिन । 'तिमी सकेसम्म छिटो आऊ', घर पुगेको भोलिपल्ट त्यसैले फोन गर्‍यो, 'काठमान्डु जानुपर्ने भो ।' फेरि उसरी नै झरेँ । 'आजैको टिकट छ', उसले भन्यो, 'अत्तरियामा भेटौं, म पनि जान्छु ।'
ललल

'उही हो तपाईंको भान्जो ?' काठमाडौं नयाँ बसपार्कको एउटा गेस्टहाउसमा भेट्न आएको नयाँ व्यक्तिले उसलाई सोध्यो, 'आफ्नै भान्जो हो ?' 
'ठ्याक्कै आफ्नै हो', धनगढीबाट ल्याउने व्यक्तिले भन्यो, 'मेरी ठूली दिदीको छोरो ।' 
'त्यही भएर', उसले भन्यो, 'अनुहार निकै मिल्दो रहेछ ।' 
'हो नि', उसले थप्यो, 'कसै-कसैले त दाजु-भाइ नै भन्छन् ।' 
'भान्जा बाबु अब मेरो जिम्मा भो', उसले भन्यो, 'ढुक्क भए हुन्छ ।' 

'ल ठीक छ', उसले गोजीबाट पासपोर्ट झिकेर दिँदै भन्यो, 'काम राम्रो होस् । पैसा थोर लागोस् ।' 
'चिन्तै नलिनुहोस्', उसले भन्यो, 'तपाईंको भान्जो मेरो पनि भान्जो नै हो । बरु एउटा मेडिकल गरेर दुवैजना फर्किए हुन्छ । प्रोसेस पुरा गर्न एक महिना लाग्ला ।' 
मेडिकल गरेर हामी भोलिपल्टै फर्कियौं । 

'कस्तो लाग्यो मेरो आइडिया ?' बाटामा उसले सोध्यो, 'आफ्नै भान्जो भनेकाले उसले कस्तो माया गर्‍यो ? नत्र यी काठमान्डुका मान्छे अरूलाई गन्दै गन्दैनन् ।' मैले जवाफ दिने तरिकै जानिनँ । मात्र मुसुक्क हाँसेर तारिफ गरिदिएँ । 
ललल

नभन्दै करिब एक महिनामा तिनै कृत्रिम मामाको फोन आयो, 'भिसा आयो रे । अब विदेशै उड्नेगरी काठमान्डु जानुपर्छ ।' 
'पैसा कति लाग्ने भो ?' जोहो गर्नुपर्ने भएकाले मैले सोधेँ । 
'बढी पर्दैन', उसले भन्यो, 'एक लाख पचास हजारमै मिलाइदियो रे ।' 
'बाफ रे', म आत्तिएँ, 'त्यत्रो ?'

'तलब २ हजार छ', उसले सम्झायो, 'त्यो भनेको नेपालको ६० हजार हो । साढे दुई महिनामा तिरिन्छ । अनि कमिन्छ । यो मौका हो । यसमा कत्रो मारामार हुन्छ । तीन लाख तिरेर जान हारालुछ हुन्छ ।' 
'होला त नि', मैले सोचेँ, 'जानै पर्‍यो ।' 

ललल

ऊ पैसा लिन अत्तरिया आयो । उसैलाई एक लाख पचास हजार रुपैयाँ बुझाएर काठमाडौंतिर लागेंँ । 
'श्रम हुँदै छ', काठमाडौंमा भनियो, 'बस्दै गर, समय लाग्छ ।' 
'दुई दिनको ओरियन्टेसन क्लास लिनुपर्छ', अर्को दिन भनियो, 'अनि मात्र प्रोसेस सुरु हुन्छ ।' 

बीस दिन बसेपछि लुसुक्क आएर टिकट र कागजपत्र थमाउँदै त्यो मान्छे फुत्त बाहिरियो । हेरेँ । अंग्रेजी बुझ्ने कुरै भएन । गेस्टहाउसको स्टाफलाई देखाएँ । उसले भन्यो- तलब जम्मा ९ सय रहेछ । काममा लेखिएको छ, कन्स्ट्रक्सन लेबर । 
म छाँगाबाट खसेझैँ भएँ । उसलाई फोन गरेँ । उठाएन । धनगढीवालालाई गरेँ । उठाएन । केही छिनमा दुवै मोबाइलले भन्न थाले, 'स्विच अफ गरिएको छ ।'

नजाउँ भने ओहोर-दोहोर र काठमाडौंको बसाइमा हजारौं खर्च भइसक्यो, जाउँ भने कसरी जानु ? त्यो एक लाख पचास हजार कसरी उठाउनु ? भन्नुहोस्, अब म के गरूँ ?

Published on: 20 April 2015 | Kantipur

 

 

Back to list

;