s

वैदेशिक रोजगारी शून्य शुल्क प्रणाली लागू गर्ने तयारी

सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई नि:शुल्क पठाउने प्रक्रिया अघि बढाउने भएको छ । रोजगारदाता कम्पनीहरूले कामदार लिँदा शुल्क लिन नपाउने भए पनि सरकारी नीतिका कारण म्यानपावर कम्पनीहरूले कामदारसित चर्को शुल्क लिइरहेको अवस्थामा सरकार शून्य शुल्क प्रणाली लागू गर्ने तयारीमा लागेको हो ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई शुल्क नलिई वैदेशिक रोजगारमा पठाउन सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका थिए । श्रेष्ठले आफूले मलेसिया भ्रमणका क्रममा नेपाली कामदारले त्यहाँ भोगिरहेको शोषणबारे सरकारलाई जानकारी गराउँदा दुवै मन्त्रीले यस्तो तयारी भएको जानकारी दिएको बताए ।

मलेसिया, कतार, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत कुनै पनि मुलुकमा रोजगारीका लागि जान शुल्क बुझाउनु पर्दैन । तर सरकारी संयन्त्र कमजोर हुँदा र नीति नियम पनि त्यो अनुरूप नहुँदा नेपाली युवा चर्को शुल्क तिरेर जान बाध्य छन् । नेपाली कामदारमाथि विदेशमा चर्को शोषण छ,' हालै मलेसियाको भ्रमण गरेर फर्केका पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गरेर बताए ।

श्रेष्ठले विदेशमा रोजगारीका लागि जाने कामदारप्रति सरकार गम्भीर नभएको भन्दै यसमा सचेत गराउन लिखित पत्रसहित आफूले प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेको बताए । उनले भने, 'मलेसियामा नेपाली युवायुवतीको अवस्था र कामबारे बुझ्न जेल पनि पुगें, त्यहाँको अवस्था साह्रै चिन्ताजनक पाएँ । जेलमा रहेका नेपालीले उपचारसमेत नपाएको र घरफिर्ती क्याम्पमा बसेकाले फोनसमेत गर्न नपाएको अवस्थाले मन छोयो । त्यसैले सुरक्षित वैदेशिक रोजगारीमा पठाउने अभियान नै सुरु गरेको छु ।'

Published on: 17 April 2015 | Kantipur 

Back to list

;