s

वैदेशिक रोजगारीले जन्मान्तर घटबढ

झापा कुमरखोद-७ की मीनामाया हास्दाको काखमा दुई महिनाका छोरा छन् । उनकी छोरी ११ वर्षकी छन् । दुई बच्चाको उमेरको फरक यति लामो बनाउन उनले चाहेकी होइनन् । हास्दा समुदायमा एक वर्ष फरकमा बच्चा जन्माउने चलन छ । छिटो जन्माए सँगै हुर्किने मनसायले अधिकांश दम्पतीले एक या दुई वर्षको अन्तरमा बच्चा जन्माउँछन् ।

लखनपुर-६ की सुष्मा कार्कीको एकवर्षे दूधे बालक छन् । फेरि उनी गर्भवती भएकी छन् । जन्मान्तर कम्तीमा दुई वर्ष हुनैपर्छ भनेर बिहे अगाडि अरूलाई सम्झाउँदै हिँड्ने सुष्माले त्यसलाई किन व्यवहारमा उतार्न सकिनन् ? सामान्य लेखपढ मात्र गर्न सक्ने मीनामाया र स्नातक गरेकी सुष्माले बच्चा जन्माउने सवालमा किन यस्तो भएको होला भन्ने लाग्न सक्छ । त्यसको कारण हो, वैदेशिक रोजगारी । दम्पती लामो समय छुट्टिएर बस्नुपर्ने बाध्यताले परिवार योजना नियमित हुन नसकेर यस्ता अन्तर देखिएका हुन् ।

नेपालीको सरदर जन्मान्तर तीन वर्षको छ । तर, दम्पतीको नियमित भेट नहुँदा यसमा उतारचढाव आएको बालबालिका जमघट हुने स्थानमा प्रस्टै देखिन थालेको छ । सिंहदेवी निमावि सुरुंगाका प्रधानाध्यापक डम्बर फुयालका अनुसार केही वर्षयता दाजुबहिनी र दिदीभाइको उमेरमा अप्रत्याशित फरक देखिन थालेको छ । सामान्यतया दाजुभाइ, दिदीबहिनीमा बढीमा १/२ वर्षको फरक हुन्छ । तर, अहिले ६/७ वर्ष वा त्यसभन्दा बढी देखिने गरेको फुयाल बताउँछन् । 'पहिलो र दोस्रो सन्तान एक कक्षाको फरकमा पढिरहेका हुन्छन् तर अहिले क्रमशः लामो फरक देखिन थालेको छ,' उनी भन्छन् । 

सरकारको जनसंख्या नीतिमा जन्मान्तरलाई भरसक लामो बनाउने उल्लेख छ । त्यसका लागि शिक्षाको स्तर उकास्ने, आर्थिकस्तर वृद्धि गर्ने र परिवार नियोजनका साधनको उपलब्धता बढाउने जस्ता विधि बनाइएको छ । तर, जन्मान्तर बढाउने भन्दैमा नयाँ ढंगले नेपाली समाजमा उमेरको खाडल बढ्दै गएकामा चिन्ता गर्नुपर्ने अवस्था सिर्जना भएको सरोकारवाला बताउँछन् ।

जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक केशव अधिकारीका अनुसार सन् २०११ को जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले जन्मिएका कुल शिशुमध्ये १८ दशमलव ९ प्रतिशतको जन्मान्तर पाँच वर्षभन्दा बढी छ । 'सर्वेक्षणले अधिकांश दम्पतीले २५ देखि ३५ महिनाको जन्मान्तर राखेको देखाउँछ,' उनले भने, 'जन्मान्तर अस्वाभाविक रूपमा बढ्दै जानुमा दम्पतीको नियमित भेटघाट हुन नसक्ने कारण नै मुख्य देखिन्छ ।' 

लखनपुरका स्वास्थ्यकर्मी लोकनाथ गौतमका अनुसार गर्भ परीक्षण गराउन आउने महिलाको अवस्था हेर्दा जन्मान्तर कसैको बढेको र कसैको घटेको देखिन्छ । शिक्षित परिवारका आमा पनि एक वर्षमै र अशिक्षित परिवारका ५/६ वर्षको अन्तरमा गर्भ जाँच गराउन आउने गरेका छन् ।
'गर्भ जँचाउन ढिलो या छिटो आए पनि एउटा अवस्थाचाहिँ फेरिएको छ,' गौतम भन्छन्, 'पहिले पतिलाई लिएर आउँथे, अहिले अधिकांशले सासूलाई ल्याउँछन् ।' पत्नी गर्भवती भएपछि पति वैदेशिक रोजगारीमा जाने गरेका कारणले सासूले बुहारीलाई गर्भ जँचाउन ल्याउने गरेको गौतम बताउँछन् । उनका अनुसार सुत्केरीलाई गर्नुपर्ने स्याहारसम्बन्धी परामर्श पनि स्वास्थ्य संस्थाले सासूहरूलाई दिने गरेका छन् । 

सुष्माका पतिको गत वर्ष नै कोरिया जाने भिसा लाग्यो । चारदेखि ६ वर्ष उतै बस्नुपर्ने भएपछि ती दम्पतीले दोस्रो सन्तान जन्माउन त्यति लामो धैर्य नगर्ने निर्णय लिए । 'उहाँ फर्केर आउँदासम्म दुइटै बच्चा हुर्किसक्छन्, त्यसपछि जन्माउने झन्झट गर्नुभन्दा म पनि कुनै रोजगारीमा लाग्छु,' सुष्माले भनिन्, 'लामो समय अलग बस्नुपर्ने भएकाले परिवार योजना आफूले भने अनुसार गर्न नसकिँदो रहेछ ।'

जिल्ला जनस्वास्थ्य प्रमुख चन्द्रदेव मेहताका अनुसार नवविवाहित दम्पतीमध्ये एक जना लामो समय वैदेशिक रोजगारीमा गए त्यसले प्रजननलाई असर पार्छ । ५/७ वर्षका लागि विदेश गएकाहरूको परिवारमा लामो वा छोटो जन्मान्तर देखिएको उनले बताए । 'आमा र बच्चाको स्वास्थ्यका दृष्टिले तीनदेखि पाँच वर्षको जन्मान्तरलाई उपयुक्त मानिन्छ,' मेहताले भने ।

वैदेशिक रोजगारीमा गएका अधिकांश प्रजनन उमेरका महिला/पुरुष छन् । ०६८ को जनगणनाअनुसार झापाबाट ८० हजार ६ सय २५ युवायुवती विदेशमा छन् । जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुख रामशरण पाठकका अनुसार एक वर्षको जन्मान्तरले जसरी कुल जनसंख्या तीव्र वृद्धिको सम्भावना हुन्छ, त्यसैगरी पाँच वर्षभन्दा बढीको जन्मान्तरले वृद्धिदरलाई असर गर्छ । 'त्यति मात्र होइन, ८/१० वर्षको जन्मान्तरले समग्र जनसांख्यिक संरचनामा उतारचढाव ल्याउँछ,' पाठक भन्छन्, 'यसले भविष्यको नियमित प्रजनन दर र मानव स्रोतमा समेत अभाव सिर्जना गर्छ ।'

Published on: 23 September 2014 | Kantipur

Back to list

;