s

बालबालिका बेचिएका बेचियै

प्रताप विष्ट, विमल खतिवडा, बेचु गौंड, अमृता अनमोल, अमन कोइराला, शंकर आचार्य, मनोज पौडेल र शिव पुरी  नवलपरासीको रामग्राम नगरपालिका-२ का १० वर्षीय गौरी कहांर रूपन्देही ठूठीपीपलस्थित रेस्टुरेन्टमा काम गर्थे । दुई महिनाअघि उनका बुवाको मृत्यु भयो । मृत्यु संस्कारका लागि घर ल्याउन खोज्दा रेस्टुरेन्ट मालिकले दिएनन् ।

अनि पो थाहा भयो- उनी त आफ्नै आमाबाट चार महिनाको २५ हजारमा बेचिएका रहेछन् । मालिकले नदिन जिद्दी गरेपछि अन्तत: प्रहरीले उद्धार गर्‍यो । दोस्रो बिहे गरेकी आमा र किन्ने रेस्टुरेन्टवालालाई कारबाही भने भएन । 

चितवन बछौली-३ का १३ वर्षीय रोसित थापा ३ महिनाअघि बेपत्ता भए । १६ दिनसम्म अत्तोपत्तो भएन । परिवार निराश बन्यो । १६ दिनपछि उनी अचानक फर्किएर आए । परिवारका सदस्य खुसी भए । तर उनलाई कसले गायब बनायो भन्नेबारे प्रहरीले खोजी गरेन । परिवारले बुझ्न सकेन । 

उनी कात्तिक १४ गते खाना खाएपछि हराएका थिए । 'लग्ने मान्छेको अनुहार देखिनँ,' रोसितले भने, 'मास्क लगाएका थिए ।' उनका अनुसार अपहरणभन्दा केही दिनअघिदेखि घर छेउमा बोलाएर अनुहार छोपेका व्यक्तिले सधैंजसो पैसा दिने गर्थे । कहिले १ सय रुपैयाँ दिन्थे, कहिले बढी । 

'मोबाइल पसलमा लगेर काम लगाइदिन्छु, महिनाको २० हजार हुन्छ भन्थे,' उनले सुनाए, 'यो कुरा घरमा भनिनँ । राति आएर ५ सय भारु दिए, पछि चकलेट खान दिएर मलाई लगे ।' उनले चकलेट खाएपछि केही थाहा नपाएको बताए । एकैचोटि मोबाइल पसलमा काम गर्ने ठाउँमा पुगें । त्यहीं काम गर्न लगाए । त्यहाँ हिन्दी बोल्ने धेरै थिए । 

'पसलको मालिकले कुन ठाउँबाट आएको भनेर सोधे,' उनले भने, 'चितवनको सौरहाबाट आएको भनें । यत्रो बच्चालाई काममा लगाउने भन्दै मलाई त्यहाँ पुर्‍याउनेलाई गाली गर्दै घर पठाइदिए ।' 

 एक महिनाअघि रूपन्देहीको बुटवल-११ इँटाभट्टाकी हराएकी १४ वर्षे बालिकालाई अभिभावकले १० दिनपछि राजधानीमा भेटेर ल्यायो । नृत्य कार्यक्रममा नाच्न जाउँ भनी चिनजानकी दिदीले उक्साएपछि कक्षा ८ मा अध्ययनरत उनी परिवारलाई नभनी गइन् । त्यहाँ 'डान्स गर्ल' का रूपमा राखिएकी उनलाई प्रहरीले उद्धार गरेको थियो । 

लेखपढ गर्ने उमेरका बालबालिका 'तस्करी' को सिकार बनेका यी केही उदाहरण मात्र हुन् । पछिल्लो समय मध्य तथा पश्चिम तराईका जिल्लामा दिनहुँ कलिला नानीबाबु हराउने गरेका छन् । यसले अभिभावक पिरोलिएका छन् । किशोर अवस्थामा प्रवेश गर्न लागेका बालबालिका धेरै बेपत्तै छन् । 

झुक्याएर, फकाएर, बेहोस बनाएर, विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई स्वदेश र भारतका सहरमा पुर्‍याएर जटिल काममा लगाउने गरिएको पाइएको छ । 

कोही यतै, कोही पारि 

मकवानपुरमा ६ महिनामा ७२ बालबालिका हराए । सिविन हेल्पलाइनमा परेका निवेदनमा २७ बालक र १९ बालिका हराएका थिए । तीमध्ये ४१ जना फेला परे । जिल्ला प्रहरीमा त्यही समयमा १६ बालिकासहित ३६ जना खोज्ने उजुरी परे । तीमध्ये ३१ जना फेला परेको डीएसपी दीपक थापाले बताए । दुवैतिर गर्दा ८२ जना भए पनि १० जनाको खोजीमा दुवैतिर निवेदन परेका थिए । 

 हराएका अधिकांश बालबालिका होटल, गलैंचा उद्योग, ग्यारेज, घरेलु बालश्रमिकमा काम गर्नुका साथै भारतसमेत पुर्‍याउने गरेको पाइन्छ । पर्सामा बालअधिकार क्षेत्रमा कार्यरत विभिन्न संस्थाले सन् २०१४ मा भारतबाट १ सय ३९ नाबालकको उद्धार गरे । उनीहरू भारतका विभिन्न सहरस्थित उद्योगमा मजदुरी गर्थे । १२ देखि १८ वर्षका ६ बालिका आदापुरस्थित कम्पनीमा नर्तकीको काम गर्थे । दिल्लीमा जबर्जस्ती यौन पेसामा लगाइएका १६ वर्षका २ बालिका र बनारसमा घरेलु कामदार बनाइएकी १२ वर्षीयाको उद्धार गरिएको थियो । 

त्यस अवधिमा विभिन्न नाकाबाट जोखिमपूर्ण रूपमा भारत लगिँदै गरेका एक सय बालबालिकालाई सीमाबाट फर्काइएको थियो । उद्धारमा खटिएकी संगीता पुरीका अनुसार नाबालक मुम्बई, दिल्लीलगायत सहरमा झोला बनाउने, कपडामा जरी भर्नेजस्ता उद्योगमा बँधुवा मजदुरसरह थिए । प्रहरीले छापा मारेर उनीहरूको उद्धार गरेको थियो । 

भारतीय महानगरका भित्री भागमा गोप्य रूपमा चलाइने ब्याग र कपडामा जरी भर्ने उद्योगमा यस्तालाई दैनिक १८ घण्टासम्म काम लगाएको, बिहान बेलुका मात्र २ छाक खाना पाउने, २४ घण्टा उद्योग परिसरमा बस्नुपर्ने, घाम ताप्न र उज्यालोसमेत देख्न नपाउने अवस्थाका हुने गरेको पुरी बताउँछिन् । यसरी उद्धार गरेर ल्याइएकामध्ये अधिकांश नाबालक धनुषा, रौतहट, सर्लाही र बाराका दक्षिणी भेगका हुन्छन् । उनीहरू पढ्न मन नलाग्ने, सरकारी विद्यालयमा शिक्षक नबस्ने र नियमित पढाइ नहुनाले सानैमा सिप सिक्न र कमाएर अभिभावकलाई मद्दत गर्न जाने गरेको बताउँछन् । 

मगन्ते पनि बनाइन्छ

सर्लाहीबाट झुक्याएर भारतको गयामा माग्ने काममा लगाइएका १३ बालबालिकाको १ वर्षअघि एक संस्थाले उद्धार गरेर अभिभावकलाई बुझायो । १२ वर्षमुनिका बालबालिकालाई धार्मिक स्थलमा आउने पर्यटक र दर्शनार्थीसँग पैसा माग्न खटाइएको अवस्थामा लालबन्दीस्थित बाल संरक्षण संस्थाले उद्धार गरेको थियो । उद्धार गर्न पुगेका दिनेश घिमिरेले सबैलाई माग्न परिचालन गरिएको बताए । त्यस समूहमा सिन्धुली क्यानेश्वरका १२ र रौतहटका एक बालक थिए । जिम्मा लिन आएका अधिकांश अभिभावकले थाहा नपाएर छोराछोरी पठाएको बताएका थिए ।

दलालले अभिभावकलाई मासिक ३ हजार दिने भन्दै भारत लगेका थिए । 'अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर लगेको पाइयो,' घिमिरेले भने, 'माग्न बसेका बालबालिकाले कम्तीमा मासिक १५ हजार कमाउँदा रहेछन् । परिवारलाई थोरै दिएर खर्च कटाइ दलालले प्रतिव्यक्ति ७/८ हजार बचाउँदा रहेछन् ।'

जिल्लाका भाँडसर, भेल्ही, सासापुर र राजघाट गाविसका ५ बालकलाई गत भदौमा भारतको राजधानी दिल्लीको रेल-वे स्टेसनमा श्रमिक काम गर्दैगर्दा उद्धार गरी घर फर्काइएको थियो । जिल्ला प्रहरी प्रवक्ता वीरेन्द्र ठाकुरले चेतना अभावमा अभिभावकको मन्जुरीमा बालबालिका लग्ने गरेको पाइएको बताए । 

जिल्ला प्रहरी चितवनका अनुसार साउनयता १८ बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये ५ जना फेला परे । १३ को अवस्था खुलेको छैन । तिनमा ५ देखि १५ वर्षका छन् । कोठा भाडामा लिएर बस्नेका छोराछोरी बढी मात्रामा हराउने गरेको एसपी सहकुलबहादुर थापाले बताए । सई देवराज शर्माका अनुसार दाजुभाइलाई आमाबुवाले बढी माया गरेको भनेर छोरीहरू घर छाडेर हिँड्ने गरेकोसमेत पाइएको छ । 
रूपन्देहीमा चालू आवको ६ महिनामा २१ ब्ाालबालिका हराए । गत आर्थिक वर्षमा ३८ जना हराएको उजुरी परेको थियो । हराउनेमा १५ बालिका र २३ बालक थिए । विगत ३० महिनामा ८० जना बालबालिका रूपन्देहीबाट हराएको उजुरी प्रहरीमा परेको छ । ३९ बालबालिका मात्रै भेटिएका छन् । 

जिल्ला प्रहरी रूपन्देहीको मुद्दा शाखाका सई डेलिम घिमिरेका अनुसार धेरैलाई आर्थिक प्रलोभनमा होटल तथा रेस्टुरेन्टमा लग्ने गरिएको छ । बालिकालाई नाच्ने, भाँडा माझ्ने, ग्राहक रिझाउने र अश्लील गतिविधिमा प्रयोग गरिएको पाइएको छ । यस्ता कार्यमा 'सञ्जाल' सक्रिय भए पनि पत्ता लगाउन सकिएको छैन । विपन्नका सन्तान छिमेकी वा आफन्तले लगेर बन्धक बनाएर काममा लगाएको समेत पाइन्छ । 

बिचौलिया सक्रिय

कपिलवस्तु र आसपास पहाडी जिल्लाका गाउँघरबाट बिचौलियाले रोजगारीको प्रलोभन देखाएर भारत लग्ने गरेका छन् । यसरी लगेर भारतका विभिन्न सहरमा बन्दी जीवन बिताइरहेका १९ जनाको १ वर्ष अवधिमा उद्धार गरिएको छ । आर्थिक समस्यामा परेका परिवारलाई फकाउन सजिलो हुने भएकाले यस्ता व्यक्तिको आँखा लाग्ने गरेको छ । यहाँबाट लगेर उद्योग कलकारखानामा काम लगाउँदै रकम लिएर बिचौलिया फरार हुनेे शान्ति पुन:स्थापना गृह कृष्णनगर संयोजक भूमिराज भट्टराईले बताए । यस्तालाई सस्तोमा श्रममा लगाउन सकिने हुँदा उद्योगी आकषिर्त हुने गरेका छन् । 

रौतहटको सरुअठा-१ का ११ वर्षीय सरताज सब्जी फिरोजलाई आमा फत्मा खातुनले दलालको साथ लगाएर भारतमा कमाउन पठाइन् । बुवा अमरुलसब्जीको मृत्युपछि गाउँका महाजनसँग लिएको ऋण तिर्न नसकेर उनले डेढ महिनाअघि भारतको बैंग्लोरस्थित झोला कारखानामा पठाएकी थिइन् । 

शरीरले धान्न नसक्ने कामले फिरोजको हातभरि चोट लाग्यो । जटिल श्रम गरिरहेको अवस्थामा त्यहाँको निर्देश नामक संस्थाको पहलमा प्रहरीले छापा मारेर उद्धार गर्‍यो । उद्धार गरी ल्याएका उनी यहाँ आफन्त देखेपछि भक्कानो छाडेर रोए । त्यहाँबाट २ साताअघि ल्याइएका १५ बालकलाई एसपी सानुबाबु थपलियाले अभिभावकको जिम्मा लगाए । उनीहरूमध्ये ८ जना झोला कारखानामा र ७ मुजफरपुरको मोबाइल कम्पनीमा श्रम गर्न बाध्य थिए । उनीहरूमध्ये ६ अभिभावक र ९ भागेर दलालको सम्पर्कमा पुगेका थिए । चिनजानका मानिस घरमा पुगेर २० देखि २५ हजार खर्च दिएर बालकलाई काममा लैजाने गरेको बालकल्याण समिति प्रतिनिधि इन्द्रजित सहनीले बताए । उद्धारमा क्रियाशील किरण ठाकुरको अध्ययनमा पनि बेचिनुको मुख्य कारण आर्थिक अभाव नै हो । 

कानुनमा के छ ?

कानुनले फिरौती बुझेर अपहरण वा शरीर बन्धक लिनेको हकमा ७ वर्षदेखि १५ वर्ष कैद र ५० हजारदेखि २ लाखसम्म जरिवाना तोकेको छ । अन्यको हकमा भने ४ वर्षदेखि ८ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना व्यवस्था छ । त्यस्तै मानव बेचबिखन तथा ओसारपसार गरेको ठहर भएको खण्डमा किन्ने र बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । तर दुवै प्रकारले फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई १० देखि १५ वर्ष कैद र १ लाखसम्म जरिवाना छ । 

प्रलोभनमा पर्छन्

- लोकनाथ ज्ञवाली, अध्यक्ष, अभिभावक संघ, रूपन्देही 

बालबालिका किन हराउँछन् ?

हराउने धेरै कारण छन् । प्रमुख कारण सुरक्षा नहुनु हो । बालबालिका प्रलोभनमा पर्ने, सजिलै अरूका कुरा पत्याउने, बढी उत्सुक र जिज्ञासु हुने, धम्क्याउन सजिलो हुने जस्ता कारणले दलालले सजिलै आफ्नो जालमा पार्ने गरेका छन् । 

कसरी हराउँछन् ? 

तीन तरिकाले हराएको पाइन्छ । एकथरी बालबालिकालाई दलालले डर वा धम्की देखाएर बेपत्ता पारेको पाइन्छ । यस्ता सानो उमेरका धेरै हुन्छन् । अभिभावकबाट फिरौती लिन वा बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन त्यस्ता बालबालिका प्रयोग गरिन्छ । अर्कोथरी पुलपुलिएका सम्पन्न परिवारका हुन्छन् । ती कुलतमा लागेका हुन्छन् र साथी या अन्य कसैको लहलहैमा लागेर अभिभावकबाट टाढा हुन्छन् । त्यसपछि दलालको फन्दामा पर्छन् । अर्कोथरी बालबालिका विपन्नता वा अभिभावकको मायाको अभावले अभिभावकबाट छुट्टएिर टाढा जान्छन् । 

को दोषी देख्नुहुन्छ ?
बालबालिका हराउनुमा सबै पक्ष दोषी छन् । अभिभावक, विद्यालय, राज्य सबै पक्षले जिम्मेवारी लिनुपर्छ ।

अभिभावक दोषी

- सहकुलबहादुर थापा, एसपी, जिल्ला प्रहरी कार्यालय, चितवन 

कसरी हराउँछन् बालबालिका ? 

डेरामा बस्ने अभिभावकका बालबालिका बढी हराएको पाइएको छ । अभिभावक छोराछोरीलाई विद्यालय पठाएर काममा जान्छन् । छुट्टी भएर आउने आशामा हुन्छन् । तर बाटो बिराउने, कहिले साथीभाइको लहलहैमा लागेर हराउने गर्छन् । आर्थिक प्रलोभनमा परेरसमेत हराउने गर्छन् ।

को जिम्मेवार देख्नुहुन्छ ?

यसमा बढी अभिभावक सचेत हुनुपर्छ जस्तो लाग्छ । छोराछोरी कता गएका छन्, के गरिरहेका छन् भनेर अभिभावक चनाखो हुनुपर्छ । अभिभावकले समाजमा कस्ता मान्छे आउने/जाने गर्छन् त्योबारेमा ख्याल राख्न आवश्यक छ । 

रोक्न के गर्नुपर्ला ? 

मुख्य रूपमा जनचेतना जगाउन आवश्यक छ । समाज सचेत हुनुपर्छ । अभिभावकले सन्तानको बढी ख्याल गर्नुपर्छ । छोराछोरीलाई नयाँ मान्छे भेट्दा सजग हुनुपर्छ भन्ने कुरा सिकाउनुपर्छ ।

६ महिनामा कहाँ कति हराए ? 

मकवानपुर    ७२ 

रूपन्देही     २१

रौतहट    २१

चितवन     १८
सर्लाही     १६

नवलपरासी     ५

स्रोत : नेपाल प्रहरी र सिविन हेल्पलाइन

Published on: 29 January 2015 | Kantipur

Back to list

;