s

बन्दको व्यथा

४२ दिनदेखि लगातार तराई बन्द छ। प्रादेशिक सीमांकनलगायत संविधानका कतिपय प्रावधानमा असन्तुष्ट मधेसी मोर्चा र थरुहट पक्षधरको आन्दोलन अझ कडा हुँदै गएको छ। उनीहरूको बन्दले यातायात नचल्दा सर्वसाधारणले कतै आउजाउ गर्न पाएका छैनन्। विद्यार्थीको पढाइ बिजोग भएको छ। उद्योग, व्यापार क्षेत्र अस्तव्यस्त छ। बन्दको सबैभन्दा बढी मारमा दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने समुदाय परेका छन्। काम गर्न नपाउँदा भोकभोकै हुनुपर्ने अवस्थासमेत आएको छ।
 
विराटनगर ११ बलुयाहीका रिक्साचालक फुलचन्द मुखिया शुक्रबार साँझ बजारबाट निराश हुँदै घर फर्किइरहेका थिए। एकाबिहानै रिक्सा लिएर बजार आएका उनले दिनभर कुर्दा पनि खासै यात्रु पाएनन्। जम्मा ४० रुपैयाँ कमाए। ‘६० रुपैयाँ रिक्सा साहुलाई दिनुपर्छ। त्यति पनि कमिएन,’ उनले भने, ‘कसरी जीविका चलाउनु?’ ४२ दिनदेखिको बन्दले फुलचन्दजस्ता सयौं रिक्सा चालक र मजदुरको हालत यस्तै छ। ‘कोको सित के–के वार्ता गरेर हुन्छ यो समस्या तत्काल समाधान गर्नुपर्छ,’ उनले भने, ‘यही रिक्सा चलाएर ९ जनाको परिवार पाल्नुपरेको छ। अब त भोकभोकै हुनुपर्ने स्थिति आएको छ।’
 
उनकै छेउमा रिक्सा अडाएर बसेका थलहा ८ का देवनारायण सरदारले पनि यस्तै पीडा सुनाए। ‘हामी गरिखाने वर्गलाई धेरै समस्या छ, कसले के गरेर हुन्छ हामीलाई बाँच्न दिनुपर्‍यो,’ उनले भने। उदयपुर त्रियुगा २ का मजदुर नरेश सदायको चुलो बल्न छाडेको निकै दिन भयो। लगातार बन्दले काम नपाएर उनीजस्ता हजारौं मजदुरको बिजोग भएको छ। ‘बेल्चा चल्न छाड्यो, चुलो बल्न छाड्यो,’ उनले भने।
 
‘झन्डै २० दिन भयो, एकछाक मात्रै खाएर गुजरा गर्दै छु,’ अर्का मजदुर पुरन चौधरीले भने, ‘त्यो पनि ऋण गरेर।’ उनले साहुसँगै १० हजार रुपैयाँ ऋण लिएको सुनाए। सामानको मूल्य उस्तै बढेको छ। ‘बजारमा नुन ५० रुपैयाँ किलो छ, चामल, तेल र दालको त कुरै नगरौं,’ उनले भने, ‘५ जनाले एकछाक खाँदा ५ सयले पुग्ने अवस्था छैन।’ बिजुली पेन्टर पलम्बर तथा निर्माण मजदुर युनियनका केन्द्रीय सदस्य चञ्चलाल बोटले भने, ‘दैनिक ज्यालदारी गर्ने ५ हजार मजदुरको रोजीरोटी बन्द भएको छ।’ आर्थिक अभावमै बाँच्दै आएका मजदुर लामो समयको बन्दले सबैभन्दा बढी समस्यामा छन्। बजारमा चामल, दाल, पिठो र तेलसमेत अभाव हुँदा मजदुरको अवस्था दयनीय छ। पाइगए पनि मूल्य बढेर छोइसक्नु छैन।
बुबाको निधनपछि काँधमा परिवारको जिम्मेवारी पाएका धनुषा चोराकोइलपुरका २६ वर्षीय मदन पासवान रिक्सा चलाउँछन्। झन्डै डेढ महिनायताको बन्दले उनको घरमा चुलो कसरी बल्ने भन्ने चिन्ता छाएको छ। ‘ऋणपान गरेर अहिलेसम्म परिवार चलाइयो,’ उनले भने, ‘अझै कहिलेसम्म हो यस्तो सास्ती खेप्नुपर्ने?’
 
मासिक १२ सय रुपैयाँमा घर भाडा लिएर, वृद्धा आमा, तीन भाइ,श्रीमती र २ वर्षीय छोरासहित जनकपुर १६ पुलचोकमा बस्दै आएका पासवानको आम्दानी आधाभन्दा धेरै घटेको छ। ‘पहिले दैनिक हजारदेखि १५ सयसम्म कमाइ हुन्थ्यो। अहिले ५ सय कमाउन पनि गाह्रो छ,’ उनले भने, ‘कफ्र्युका बेला त ठ्याम्मै कमाइ भएन।’
 
ठेला, ट्रयाक्टर, भवन निर्माण, पलेदार (गोदामबाट सामान लोड/अनलोड गर्ने) आदिका कामदारले पनि काम पाउन छाडेका छन्। जलेश्वरमा रोजगारी पाउन छाडेपछि रिक्सा चलाउन यसै साता जनकपुर आएका महोत्तरी मझौरा विसनपुरका रामदयाल महरा यता पनि निरास बनेका छन्। भन्छन्, ‘सडक भरिभराउ हुन्छ। तर, एउटै पनि ग्राहक पाइँदैन।’ उनी आउने शनिबार काम खोज्न भारत जाने निधोमा पुगेका छन्।
भदौमा आमहडताल सुरु भएसँगै हिन्दु र मुस्लिम धर्मावलम्बीको पर्वको माहोल सुरु भएको थियो। भदौमा हिन्दुको झुलनोत्सव, मधुश्रावणी, कृष्णाष्टमी, रक्षाबन्धन, नागपञ्चमीजस्ता महत्त्वपूर्ण पर्व त्यौहार बन्द र आमहडतालकै माहोलमा मनाइए। शुक्रबार सम्पन्न मुसलमानहरूको पवित्र पर्व बकर इद पनि यस्तै माहोलमा मनाइएको छ।
 
शिवचोकमा फलफूलको व्यवसाय गर्ने सुमित्रा महतोको ४० हजार मूल्य बराबरको स्याउ, सुन्तला, केरा, अनारलगायत फलफूल नगरमा कफ्र्यु तथा दंगाग्रस्त घोषणा भएका बेला कुहेर खेर गयो। ‘४२ दिनमा ५० हजारभन्दा बढी घाटा गयो,’ उनले भनिन्।
इद मनाउन पाएनन् |
 
सुनसरीको इनरुवा ५ का मोहमद रोजित मियाँले सधैंजस्तो हर्षोल्लासका साथ बकर इद पर्व मनाउन पाएनन्। अति विपन्न उनको परिवार प्लास्टिक टिपेर जीविकोपार्जन गर्दै आएको छ। तर, लामो बन्दका कारण प्लास्टिकका झोला र प्लास्टिकजन्य पदार्थ संकलन गर्न उनले सकेनन्। त्यही कारण चार छोराछोरीका लागि उनले बकर इदमा नयाँ लुगा हालिदिन सकेनन्। दैनिक १० किलोसम्म प्लास्टिक टिपेर उनी दुई सय रुपैयाँ कमाउँथे।
 
इनरुवामा राम घिमिरेको जमिनमा रहेको लिचीको बोटमुनि उनले ३०औं वसन्त गुजारेका छन्। विराटनगर सरौचिया घर भएका उनी ३० वर्षदेखि त्यही रूखमुनि बसेका छन्। बाबु मोहमद फजिरको मृत्यु भएपछि उनी श्रीमतीसहित इनरुवा आएर प्लास्टिक लगायतको कबाडीका सामान संकलन र बिक्री गर्दै आएका हुन्। त्यही रूखमुनि उनले दुई छोरी र दुई छोरा हुर्काए। अहिले उनीहरू पनि उनलाई प्लास्टिक टिप्न सघाउँछन्। मासु किन्ने पैसा नभएपछि उनलाई छिमेकीले सहयोग गरे। लिचीको बोटमुनि रहेको ठेलामा श्रीमती रोशन खातुनसँग खाना खाएर चुठ्दै गर्दा उनले भने, ‘यो बन्दले कसलाई फाइदा पुगेको छ मलाई थाहा छैन। तर मलाई भने पुरै घाटा छ। बिहान–बेलुका छाक टार्न नै मुस्किल परेको छ।’
 
धनुषाको बल्हागोठ ४ बल्हाका मोहम्मद फारुख सेख, जनकपुर १ रेल्वे स्टेसनस्थित साल्ट ट्रेडिङको नुन गोदामका पलेदार हुन्। सेखसहित यसै गाउँका आधा दर्जन परिवार नुनको बोरा ओसारपसार तथा लोड/अनलोड गर्ने काम गर्छन्। तर, गत ४२ दिनदेखि सबै बेरोजगार छन्। यस बेरोजगारीको समयमा आएको बकर इद पर्वमा उनीहरू रम्न सकेनन्। ‘बकर इदमा खसी ढाल्नै पर्‍यो। इष्टमित्रलाई खुवाउनै पर्‍यो अनि बालबालिकालाई लत्ताकपडा पनि किन्नै पर्‍यो। बेरोजगारीको अवस्थामा पर्वको व्यवस्थापन कस्तो कठिन हुन्छ, यस पालि बुझेको छु,’ ३५ हजार ऋण लागेको सुनाउँदै सेखले भने।
 
इनरुवा ५ को ठूलो मुसहरीका सञ्जय सदा स्थानीय हार्डवेयरमा छड, सिमेन्ट, बालुवा, गिटी लोड/अनलोड गर्ने मजदुर हुन्। यातायात बन्द भएपछि घरमै बसिरहेका उनी अहिले बेरोजगार छन्। खान घरमा अन्न छैन। छिमेकीकहाँबाट सापटी चलाइरहेको उनले बताए। उनी सोध्छन्, ‘सर गाडी कहिले चल्छ?’ उनलाई काम नपाउँदा ९ जनाको परिवार पाल्न मुस्किल भएको छ।
 
उनीजस्तै जितेन सदाको पनि पीडा उस्तै छ। ८ जनाको परिवार मजदुरी गरेर पाल्दै आएका उनको चुलोमा पनि सजिलै भात पाक्दैन अचेल। उनी
भन्छन्, ‘हामी मात्र होइन यो गाउँका सयभन्दा बढी मजदुर अहिले बेरोजगार भएका छौं।’ त्यही टोलका गोपाल शर्मा ढुंगाको सिलौटो र लोहोर बनाएर बिक्री गरेर जीविको गर्दै आएका थिए। तर, लामो समयदेखि गाडी नचलेपछि पहाडबाट उनले सिलौटो र जाँतो बनाउन आवश्यक पर्ने ढुंगा ल्याउन पाएका छैनन्। पुख्र्यौली पेसाबाट कमाउन छाडिएपछि उनी अहिले चरा मारेर जीविका चलाउँदै आएको बताउँछन्। ८ जनाको परिवार अहिले चरा मारेर पाल्न मुस्किल भएको उनी सुनाउँछन्। भन्छन् ‘दिनभरि चरा मार्छु केही बिक्री गर्छु र केही घरमै पकाएर खान्छु, त्यसरी नै जीवन धान्दै आएको छु।’
 
सास्ती बढ्यो
 
एक दशकदेखि वीरगन्जस्थित महावीर चोकमा उखुको जुस बेचेर गुजारा चलाउँदै आएका श्रीभगवान साह सोनार ४१ दिनयता फुर्सदिला छन्। तराईमा गर्मी घटेको छैन। यहाँ आन्दोलनरत दलको बन्दले उनको व्यापार ठप्प छ। बजारमा चहलपहल हुँदा दैनिक ४ देखि ६ सय रुपैयाँ कमाउथे। डेढ महिनायता कमाइ छैन। ‘कमाएर राखेको ५ हजार पनि सकियो, किराना पसलको उधारो ८/९ हजार पुगेको छ,’ उनले भने, ‘घर खर्च चलाउन ब्याजमा १५ हजार ऋण लिएको थिएँ, त्यो पनि सकिन लाग्यो, ३ जनाको परिवार धान्न धौ–धौ भयो।’
 
वीरगन्ज नगवाका ४० वर्षीय ठेला चालक प्रेमप्रसाद गुप्ताको ७ जनाको परिवारलाई हातमुख जोर्न समस्या छ। दैनिक ५ देखि ८ सय रुपैयाँसम्म कमाउँथे। अचेल ‘बोहनी’ समेत हुँदैन। ‘कहिलेकाहीं सय/पचास हात पर्छ,’ उनले भने, ‘त्यतिले खाजा खाने कि रासन किन्ने?’ उनकी पत्नी ललिताले यसअघि मजदुरी गरेर बचत गरेको ५ हजार रुपैयाँ पनि सकिएको बताइन्। ‘५ हजार रुपैयाँ ऋण थपिएको छ,’ उनले भनिन्, ‘१० हजार जति किराना पसले साहुको उधारो रकम पुगेको छ, कहाँबाट ल्याएर तिर्ने हो।’ छोराछोरी विद्यालय जानबाट वञ्चित भएकाले डेढ महिनादेखि बरालिएर हिँड्न थालेका छन्।
 
नगवाकै विवेक कलवारको नगरको मुख्य सडकमा ‘साइबर क्याफे’ व्यवसाय छ। साइबर बन्द भएको पनि ४० दिन पुग्यो। ‘आम्दानी त रोकियो रोकियो, घर भाडासमेत बित्थामा तिर्नुपरेको छ,’ उनले भने, ‘हामीजस्ता गरी खाने वर्गका लागि बन्द हडताल वज्रपात हो।
उद्योग वाणिज्य संघ बाराका अध्यक्ष विनोदप्रसाद साह भन्छन्, ‘बन्द खप्नै गाह्रो भए पनि सहेर उकुसमुकुसमा जीवनयापन भइरहेको छ, न व्यवसाय गर्न पाएका छन् न त केही बोल्न मुख खोल्ने वातावरण छ।’ कलैया ११ का दिनेश महतोका अनुसार हाटबजारबाट तरकारी किनेर खाने अवस्था छैन। हरिहरपुरका धर्मेन्द्र यादवको पीडा बेग्लै छ। भन्छन्, ‘बैंकमा पैसा छ, तर झिक्न नपाएर पोखरीमा माछाको दाना हाल्न सकिएको छैन।’ दर्जनौं गाउँका जन्मेदेखि एक वर्षमुनिका बालबालिका तथा गर्भवती महिलाले खोप पाउन सकेका छैनन्। ‘बन्दले उद्योग धराशायी हुने अवस्था आइसक्यो,’ जगदम्बा स्टिल्सका प्रबन्धक पवन गुप्ताले भने।
 
व्यथा आ–आफ्नै
 
सहरमा नयाँ संविधानको स्वागत र विरोधमा दिनहुँ सभाजुलुस भइरहँदा बाँकेको उदयपुर गाउँका रामदयाल खटिकलाई कुनै मतलब छैन। १० वर्षदेखि ठेला मजदुरी गर्दै आएका उनले १४ जनाको परिवार धान्नुपर्छ। नयाँ राजनीतिक घटनाक्रमसँगै करिब डेढ महिना लामो बन्दले रोजीरोटी खोसेको छ। ‘कहिले आन्दोलन भन्छन्, कहिले बन्द। काम नपाएर परिवार पाल्न धौ–धौ भएको छ,’ नेपालगन्जस्थित बीपीचोकनजिकै ठेलाको काम खोजिरहेका उनले भने, ‘काम नपाएर भोकै मर्ने अवस्था आयो। काम नपाएका बेला सापटी लिएर खाएको चामलको पैसा तिर्न सकेको छैन।’
उनीसँगै ठेलामा काम गर्दै आएका बेलभारका गोर्बे कोरीको पनि उस्तै समस्या छ। घरमा १० जनाको परिवार भोकभोकै पर्न लाग्यो। उनी भने काम पाउने आसले शुक्रबार पनि नेपालगन्ज आए तर निराश भए। ‘आज पनि कुनै काम पाइएन। साँझ चुलोमा आगो नबल्ने भयो,’ निकै निराश देखिएका उनले संवाददातासँग भने, ‘काम मिलाई दिनुपर्‍यो नत्र बच्चाबच्ची भोकै मर्ने भए।’
 
उनीहरूसँग रहेका ६ ठेला मजदुरले त्यही गुनासो गरिरहेका थिए। आन्दोलन र बन्दको कारणबारे ती मजदुरलाई जानकारी छैन। उनीहरूको जोड काम खोज्नेमा थियो। ठेलाको भाडा दैनिक ८० रुपैयाँ तिर्नुपर्छ। कमाइ नभए पनि मजदुरले साहुलाई अनिवार्य बुझाउनै पर्छ। त्यसैले उनीहरू बढी चिन्तित देखिन्छन्।
 
यातायात व्यवसायीको आफ्नै गुनासो छन्। उनीहरूले बैंकबाट ऋण लिएर किनेको गाडी ठप्प भएपछि ब्याजसमेत तिर्न नसकेको बताए। ‘डेढ महिना भइसक्यो, गाडी चल्न पाएका छैनन्। यस्तो अवस्थामा कसरी ऋण तिर्ने?’ यातायात व्यवसायी बखत केसीले भने, ‘बन्दको अवज्ञा गरेर गाडी चलाए पनि यात्रु पाइँदैनन्। कर्मचारीलाई पारिश्रमिक पनि दिनसक्ने अवस्था छैन। धेरै यातायात मजदुर अर्को पेसा खोज्न थालेका छन्।’
सार्वजनिक बस किन्न ३५ देखि ७० लाख मूल्य पर्छ। त्यसैले अधिकांश व्यवसायी बैंकबाट ऋण लिएर यातायात व्यवसाय गर्छन्। आन्दोलन र बन्दको प्रत्यक्ष असर उनीहरूलाई नै पर्छ। ‘बैंकले कमाइ भयो भएन भनेर हेर्दैन, ब्याज खोज्छ। मासिक ब्याज बुझाउन नसक्दा ताकेता गरेर हैरान गरिसक्यो,’ यातायात व्यवसायी रामेश्वर सिटौलाले भने, ‘डेढ महिनादेखि गाडी बन्द छन्। हाम्रो पीडा कसलाई भन्न जाने होला।’
 
धम्बोझी चोकनजिकै मकै पोलेर बस्दै आएकी नेपालगन्ज १६ बेलासपुरकी शिवरानी चिडिमारले लामो समयदेखिको आन्दोलनले गुजारा गर्नै समस्या भइरहेको बताइन्। ‘एक महिनासम्म पसल चलाउनै पाएन। अहिले बजार खुलेजस्तो भए पनि ग्राहक छैनन्,’ उनले भनिन्, ‘आन्दोलन पहिले नै जोगाएर राखेको आम्दानीले परिवार पालिरहेकी छु।’
 
बर्दियाका निर्माण व्यवसायी अशोककुमार यादवले निर्माणका काम हुन नसक्दा दैनिक २० हजार रुपैयाँ घाटा बेहोर्नु परेको बताए। पाँच ठाउँमा करिब १५ करोडको भवन निर्माणका लागि ठेक्का लिएका उनले भने, ‘यातायात नचल्दा छड, सिमेन्ट, गिटी, बालुवालगायत सामान ढुवानी हुन सकेको छैन।’ मजदुरले काम नगरे पनि उनीहरूको पारिश्रमिक सित्तैमा दिनुपर्ने बाध्यता छ।
 
उनीजस्तै गुलरियाका थोक विक्रेता नन्दकिशोर गुप्ताको बन्दले ५० प्रतिशत व्यापार ठप्प भएको छ। डेढ महिनाको बन्दले करिब दुई लाख रुपैयाँ घाटा भएका गुप्ता निकै तनावमा छन्। बैंकबाट लिएको ऋणको ब्याज र कर्मचारीको तलब खर्चले व्यवसायी समस्या परेका हुन्। ‘यस्तै भइरह्यो भने व्यवसाय बन्द हुने अवस्था आउँछ,’ उनले भने, ‘बन्दकर्ताले आफ्ना माग माग्नु जायज होला। तर, यसरी लामो समय बन्द गर्नु उचित छैन।’
उद्योग वाणिज्य संघले दुई सातायता बन्दको अवज्ञा गर्दै पसल खोल्न आह्वान गरे पनि यातायात नियमित नचल्दा व्यापारी मर्कामा छन्। गल्ला व्यवसायी त्रिलोचन रेग्मीले धान, चामल, गहुँलगायत खाद्यान्न मुलुकका विभिन्न ठाउँ पुर्‍याउन नसक्दा गोदाममा थन्किएर रहेको बताए। ४८ दिनको बन्दले बैंक ब्याज बुझाउन नसकेको उल्लेख गर्दै उनले भने, ‘गोदाम भाडा र मजदुरलाई दिनुपर्ने पारिश्रमिक बुझाउन निकै समस्या भइरहेको छ।’ बन्द नहँुदा दैनिक २/३ ट्रक गल्ला पठाउने गरेका व्यवसायी रेग्मीको दैनिक ५ हजार बढी व्यापार घाटामा रहेको छ।
 
दाङ लमहीकी व्यापारी सहना श्रेष्ठ ४३ लामो बन्दले आजित भइन्। व्यापार व्यवसाय बन्द भएपछि उनले भदौ महिनाभर एक पैंसाको पनि कारोबार गर्न पाइनन्। ‘यति लामो बन्द त कहिलै भोगिएको थिएन,’ उनले भनिन्,‘उपभोग्य वस्तु सकिएकाले पसल खोलेर पनि व्यापार गर्ने अवस्था भएन।
 
साह्रै सास्ती भयो।’ दैनिक ज्याला मजदुरीमा जीविका चलाउँदै आएका गंगापरस्पुर धरमपुरका मोतीराम चौधरीको जीवन पनि बन्दले निकै कष्टकर भयो। बन्दले उद्योग व्यवसाय ठप्प भएपछि उनले मजदुरी गर्न पाएनन्। ‘कामै गर्न नपाएपछि कसरी खाने खर्च जुटाउनु? हाम्रो त बेहालै भयो नि,’ उनले भने, ‘बन्दले हामीजस्तै गरिबलाई असर पर्‍यो। नेताहरूलाई केहीभएन।’ आलु लगाउने सिजन भएकाले आलुको बिउ किन्ने पैसासमेत नभएर समस्या भएको उनले बताए। ऋण लिएर आलुको बिउ किनेको चौधरीले बताए।
 
थरुहट/थारुवान संघर्ष समितिले साउन २७ देखि आह्वान गरेको बन्दले देउखुरी साह्रै प्रभावित भयो। विद्यालयसमेत एक महिना बढी लगातार बन्द रहे। उद्योगी व्यवसायीको निरन्तरको अनुरोधपछि मात्र बुधबारदेखि बन्द खुलेको छ। सबैको अनुरोधमा हाललाई बन्द स्थगन गरेको संघर्ष समितिका देउखुरी संयोजक हीरालाल चौधरीले बताए। बन्दले विद्यालय खुल्न नपाएपछि बालबालिकाले सडकमै पढेर विरोध गरेका थिए।
गरिखान भारततिर टीकापुरको हिंसात्मक घटनाको महिना दिन बितिसक्दा पनि पुरै सुदूरपश्चिमको जनजीवन अझै पुरानै अवस्थामा फर्कन सकेको छैन। महिना दिनसम्म टीकापुर र धनगढीमा लगाइएको कफ्र्युले जनजीवन कष्टकर बनेको छ। टीकापुर ९ विजयनगरका चैतु थारूले डकर्मी काम गरेर दैनिक हजार रुपैयाँ जति आम्दानी गर्दै आएका थिए। ‘महिना दिनदेखि कफ्र्यु लागेको छ,’ उनले भने, ‘अब कहिले टीकापुरका पुराना दिन फर्कने हुन केही पत्तो छैन।’
 
उनीसँगै दैनिक ज्यालादारी गरी घरखर्चको जोहो गर्दै आएका टीकापुर ९ कै तेजराम चौधरी र सुरज चौधरीजस्ता थुप्रै कामदार महिना दिनदेखि विचल्लीमा परेका छन्। रोजगारी नपाउँदा उनीहरूलाई दैनिक गुजारा गर्नसमेत धौ–धौ परेको छ। साँझ बिहानको छाक टार्न पनि समस्या परेपछि ऋण/सापटी गरेर काम चलाउँदै शिवनगर मुक्त कमैया शिविरका रामलाल चौधरी बताउँछन्। ‘नातेदार र साथीभाइसित ऋण सापटी लिएर अहिलसम्म त जेनतेन तानतुन गरें,’ रामलाल भन्छन्, ‘कफ्र्यु खुलेपछि कमाउँला र तिरौंला भनेर लिएको ऋण सापटीले कति दिन चलाउने। बडो समस्यामा परियो।’
 
दिन प्रतिदिन गरिखाने बाटो बन्द भएपछि कतिपय युवा कामको खोजीमा भारततर्फ पस्न थालेका छन्। ‘बस्न नसक्ने अवस्था आएकैले थारू युवाहरू भारततिर लागे,’ कैलालीको भजनी त्रिशक्ति नगरपालिका ७ मधुवनका बडघर महादेव चौधरीले भने, ‘एकातिर लगातारको कफ्र्यु अर्कोतर्फ भदौ ७ को घटना पछि धरपकडको त्रासले अपायक समयमा पनि थारू युवा भारत पलायन भएका हुन्।’
 
टीकापुर र आसपासका क्षेत्रबाट मात्र होइन, कैलालीका विभिन्न ग्रामीण भेकसँगै कञ्चनपुरबाट समेत थारू युवा भदौ पहिलो सातायता ठूलो संख्यामा भारत पसेका हुन्। ‘गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र देखिन्छन्,’ महादेव भन्छन्, ‘गाउँमा भेला छलफल भयो भने महिला मात्र आउँछन्। कमाउन सक्नेजति सबै भारततिर मजदुरी गर्न गएका छन्।’
 
त्यसो त उक्त घटनापछि कैलाली र कञ्चनपुरका साना–ठूला सबैखाले उद्योग कलकारखाना बन्द हुन पुगे। लामो समयसम्म नियमित रूपमा यातायात सञ्चालन, ठूला–साना होटेलका कोठा खाली भए । आवागमन ठप्प भयो। त्यसमाथि लगातारको बन्दका कारण व्यापार, व्यवसाय, उद्योग, कारखाना सबै प्रभावित भएपछि त्यसमा कार्यरत कर्मचारी मजदुर पनि समस्यामा परेका टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार हमालले बताए।
 
उनले आफ्नो इँटा उद्योगमा काम गर्ने अधिकांश मजदुरले पेस्की मागिरहेको र इँटा पनि बिक्री नभइरहेको बताए। उनले भने, ‘कसैले खानेकुरा सकियो भन्छन्। कसैले बिरामी भएर उपचार गराउनु पर्‍यो भन्छन्। कतैबाट पैसा नआएर आफ्नो बेहाल छ। आम्दानी छैन। तैपनि सापटी मागेर भए पनि उनीहरूको चित्त बुझाउने प्रयास गरिरहेको छु।’ टीकापुरमा ३ करोडभन्दा बढी लगानी गरेर होटेल व्यवसाय थालेका थर्क शाह सामान्य अवस्थामा होटेलका सबैजसो कोठा प्याक हुने भए पनि अहिले सुनसान भएको बताए। उनले भने, ‘पहिला ग्राहक कुरेर बस्थ्यौं। अहिले हरेक दिन कफ्र्यु कुरेर बस्छौं।’
 
Published on: 27 September 2015 | Kantipur
 

Back to list

;