s

बायोमेट्रिकका नाउँमा ठगीको शंका


कामदार, वैदेशिक रोजगार व्यवसायी, मेडिकल सेन्टर र सरकारको हितमा भन्दै ल्याउन खोजिएको बायोमेट्रिक प्रणालीका नाममा नेपाल स्वास्थ्य व्यवसायी महासंघले हरेक मेडिकल सेन्टरबाट ५० लाख रुपैयाँ मागेको खुलासा भएको छ । उक्त रकम मलेसियाले नै मागेको भन्दै महासंघले उठाइरहेको छ । यसले मेडिकल सेन्टरमा बायोमेट्रिक प्रणाली स्थापनाको विषय 'ठगीको योजना' मात्र रहेको शंकामा बल पुर्‍याएको छ । महासंघले करिब ३ सय ५ मध्ये लगानी गर्न सक्ने मेडिकल सेन्टरबाट पहिलो किस्ताबापत १० लाख रुपैयाँ उठाइरहेको छ । त्यसरी पैसा उठाएको प्रमाणित हुने अडियो रेकर्ड कान्तिपुरले फेला पारेको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष कैलाश खड्कालाई १० लाख रुपैयाँ बुझाउन गएकी नयाँ बानेश्वरस्थित साई पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरकी निर्देशक चन्द्रकला दाहालले गोप्य रूपमा अडियो रेकर्ड गराएकी हुन् । बिनाभर्पाइ र बिनाधितो नगद मागिएपछि पैसा दिएको प्रमाणित गर्न दाहालले उक्त रेकर्ड गराएको शंका छ । सुरुमा पैसाको लेनदेन अस्वीकार गर्दै आएका खड्का र दाहालले रेकर्ड सुनेपछि रकम लिए/बुझाएको स्वीकारेका छन् । दाहालले आफू 'साह्रै अप्ठ्यारोमा पर्ने' भन्दै र खड्काले आफ्नो करिअर बर्बाद हुने भन्दै रेकर्ड सार्वजनिक नगरिदिन आग्रह गरेका छन् ।

रेकर्डमा खड्काले प्रणालीको विरुद्धमा आन्दोलन भए वा अन्य कारणले रोकियो भने बायोमेट्रिक नेपालमा नआउन सक्छ भनेका छन् । सँगै उनले बायोमेट्रिक आउने भयो तर उनले नपाउने अवस्था आए अरू कसैलाई पनि ल्याउन नदिने ठोकुवा पनि गरेका छन् । 'इन्केस मलेसिया -बायोमेट्रिक) हाम्रो हातमा आएन भने म नेपालमा हन्ड्रेड पर्सेन्ट कन्र्फम आउनै दिन्नँ,' उनले रेकर्डमा भनेका छन्, 'तर तपाईंको सेटिङको पैसा डुब्दैन ।' उनको यो दाबीले नेपालका मेडिकल सेन्टरमा बायोमेट्रिक प्रणाली राख्ने योजना मलेसिया सरकारको होइन भन्ने शंकामा बल पुर्‍याउँछ ।

संविधानसभाको दोस्रो निर्वाचनअघि गरिएको हुन सक्ने उक्त रेकर्डबाट महासंघका तर्फबाट खड्काले मात्र करिब आधा दर्जन मेडिकल सेन्टरबाट पहिलो किस्ता पैसा उठाएको बुझिन्छ । रेकर्डमा मलेसियाले नेपालमा भएका करिब ३ सय ५ मध्ये ३० देखि ६० मेडिकल सेन्टरलाई मात्र बायोमेट्रिक प्रणालीमा सूचीकृत गर्ने र त्यसपछि ती मेडिकल सेन्टरले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने भएकाले मासिक २५ लाख रुपैयाँ कमाइ हुने प्रलोभन दिइएको छ । तर बायोमेट्रिक प्रणालीमा सूचीकृत हुन मलेसियाले ५० लाख रुपैयाँ मागेको खड्काले बताएका छन् । 

'खासमा उनीहरूले १ लाख डलर (एक करोड रुपैयाँ) भनेको,' रेकर्डमा खड्काको भनाइ छ, 'तर ८ लाखको सिस्टमसहित ५० लाखमा कुरा मिल्यो ।' रेकर्डमा खड्काले बायोमेट्रिक प्रणाली आएको ३ महिनालगत्तै बाँकी रकम दिनुपर्ने भनेका छन् । दाहालले आफू व्यवसायी भएको र व्यावसायिक हितकै लागि पैसा दिएकाले रेकर्ड गरेको बताइन् । 'कसैलाई हानि/नोक्सानी गर्ने काम गरेकी होइन,' उनले भनिन्, 'तर यो सार्वजनिक भयो भने मलाई साह्रै अप्ठ्यारो पर्छ, समाचार नलेखिदिनुहोस् ।' रेकर्डमा खड्काले बायोमेट्रिक र खाडी मुलुक जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट गर्ने गाम्का प्रणालीमा केही फरक नरहेको बताएका छन् ।

योजना सफल भएर बायोमेट्रिक प्रणाली लागू भो भने महासंघले केही महिनाभित्र थोरैमा ३० मेडिकल सेन्टरबाट कम्तीमा १५ करोड रुपैयाँ कुम्ल्याउनेछ । त्यसको दीर्घकालीन असर भने मलेसिया जाने कामदार र मेडिकल सेन्टरलाई पर्नेछ । बायोमेट्रिक प्रणाली लागू भए मलेसिया जाने हरेक नेपाली कामदारले करिब १५ सय रुपैयाँका दरले मलेसियास्थित बेस्टिनेट एसडीएन बीएचडी नामक निजी कम्पनीलाई बुझाउनुपर्ने छ । गत वर्ष करिब १ लाख ५ हजार जना वैदेशिक रोजगारीमा गएका थिए । त्यस हिसाबले उक्त कम्पनीले कामदारबाट हरेक वर्ष करिब १५ करोड ७५ लाख रुपैयाँ असुल्ने देखिन्छ । त्यस्तै प्रत्येक मेडिकल सेन्टरले बायोमेट्रिक प्रणाली नवीकरण गर्न हरेक वर्ष २ हजार ६ सय ४० अमेरिकी डलर (करिब २ लाख ६४ हजार रुपैयाँ) तिर्नुपर्ने मेडिकल सञ्चालक बताउँछन् ।

उक्त रेकर्डले ठगी योजनामा नेपालस्थित मलेसिया दूतावास र श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीलाई समेत तान्न सक्ने देखिन्छ । ठगीको योजना बनाउने महासंघका अध्यक्ष प्रवीण तिवारी र खड्कालगायतलाई एमाओवादी र गुन्डा नाइकेहरूको संरक्षणसमेत रहेको रेकर्डले संकेत गर्छ ।

पैसा लिएर पुगेकी दाहालले बायोमेट्रिक प्रणाली लागू हुनेमा सचिवदेखि माओवादीसम्म बाधा हुन सक्ने थुप्रै शंका व्यक्त गरेको रेकर्डमा सुन्न पाइन्छ । उनलाई आश्वस्त पार्न खड्काले भनेका छन्, 'सचिव हामीसँग छ ।' माओवादीको सरकार बने अप्ठ्यारोमा पर्न सक्ने दाहालको शंकामा खड्काले भनेका छन्, 'मसँग माओवादी पनि छन् । म बाबुराम भट्टराईकहाँ सीधै जान्छु । उनको छाती जाँच्ने, प्रेसर जाँच्ने डाक्टर नै मैसँग छ ।' रेकर्डमा खड्काले गुन्डा र प्रहरी पनि आफूसँग रहेको बताएका छन् ।

मलेसियाले भने २०६८ चैत ३० देखि मलेसिया छिर्ने सबै नाकामा बायोमेट्रिक प्रणाली जडान गरिसकेको छ । जुन नाकाबाट मलेसिया छिरे पनि त्यहाँको अध्यागमनले विदेशीसँग औंलाको छाप लिन्छ र 'ओभर स्टे' तथा अन्य गैरकानुनी काम नगर्न चेतावनीपत्र दिन्छ । मलेसियाले विदेशीबाट हुन सक्ने सुरक्षा खतरा टार्न हरेक अध्यागमनमा बायोमेट्रिक प्रणाली स्थापना गरेको हो । 

के हो बायोमेट्रिक ?

बायोमेट्रिक मानिसको पहिचान खुल्ने विशेष प्रकारको संकेत वा चिह्न हो । त्यसमा औंलाको छाप, रेटिना, डीएनए, बोलाइको लबजदेखि हाउभाउसम्म पर्छ । खासगरी अपराधी पहिचान गर्न यस्ता चिह्न तथा संकेतको प्रयोग गरिन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षणको कुनै सम्बन्ध छैन । 

अवैधानिक रूपमा विदेशी बस्न थालेपछि र त्यसबाट सुरक्षा खतरा भएपछि मलेसियाले विदेशीको बायोमेट्रिक तथ्यांक लिन थालेको हो । महासंघले भने मलेसियाले नेपालका मेडिकल सेन्टरबाटै बायोमेट्रिक तथ्यांक लिने (महासंघको भाषामा बायो मेडिकल गर्ने) निर्णय गरेको दाबी गर्दै आएको छ, जसको आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । मलेसियाले बायोमेट्रिक प्रणाली जडान गर्न त्यहींको बेस्टिनेट एसडीएन बीएचडी नामक निजी कम्पनीलाई ठेक्का दिएको दाबी गरेको छ । बेस्टिनेटले बायो मेडिकल गरेका विदेशी कामदारको तथ्यांक अनलाइनमा राख्न 'फरेन वर्कर्स सेन्ट्रलाइज्ड मेनेजमेन्ट सिस्टम' को नाममा अर्को वेब पेज पनि बनाएको छ । महासंघको दाबी छ, 'बायो मेडिकल लागू भएका नेपालसहित १४ देशका कामदार यही वेब पेजमा दर्ता हुन्छन् ।' तर करिब अढाइ महिनादेखि सञ्चालनमा आएको बेस्टिनेट र फरेन वर्कर्स सेन्ट्रलाइज्ड मेनेजमेन्ट सिस्टमको वेब पेजको डोमेन क्रमशः गत माघ २५ र जेठ २३ गते दर्ता भएका हुन् । डोमेन दर्ता गरेका एक वर्ष पनि नपुगेका नयाँ कम्पनीलाई मलेसियाले कसरी १४ देशका कामदार व्यवस्थापन गर्ने जिम्मा दियो भन्ने पनि खुल्न सकेको छैन । त्यस्तै १४ देशका कामदारले प्रयोग गर्ने भनिएको वेब पेज र बेस्टिनेटको वेब पेजलाई कुनै पनि वेब पेज रेंकरले रेंकिङ गर्न सक्दैन । वेब पेज रेंकिङ गर्न 'तथ्यांक उपलब्ध नभएको' भन्ने उत्तर दिन्छ । वेब पेज रेंकर वेबसाइट सञ्चालन गर्ने कम्पनीको विश्वसनीयता जाँच्ने एउटा आधार हो ।

'मलाई फसाइयो'

मैले चन्द्रकला दाहालसँग १० लाख रुपैयाँ लिएको हुँ । तर ८ लाख रुपैयाँको बायोमेट्रिक प्रणाली पनि दिइसकेको छु । उनले यसरी मसँग भएको कुराकानीको गोप्य रेकर्ड गर्लिन् भन्ने लागेको थिएन । पैसाको डिलिङ भएकै हो । व्यवसायी भएकाले आवश्यक परे बायोमेट्रिकका लागि खर्च नै गर्न परे पनि गरौं नै भन्ने हो । तर उनी आफैं पछि लागी लागी पैसा दिएकी हुन् । मैले ५० लाख रुपैयाँ लिएको होइन ।

यो मविरुद्धको योजनाबद्ध षड्यन्त्र हो । म महासंघको वरिष्ठ उपाध्यक्षका हिसाबले अध्यक्षको उम्मेदवार हुँ । आउने असारमा महाधिवेशन हुँदैछ । त्यही भएकाले मलाई सिध्याउन यो खेल खेलिएको हो । म मेडिकलको अवस्था सुधार्न कटिबद्ध रूपले लागेको मानिस हुँ । त्यसका विरोधीले मलाई फसाउन यो खेल खेलेका हुन् । चन्द्रकलासँग मेरो हिजो पनि राम्रो सम्बन्ध थिएन । उनले मलाई अविश्वासको प्रस्ताव पारित गरी हटाउन १ सय ३ जना सदस्यका हस्ताक्षर संकलन गरेकी थिइन् । तर सकिनन् । त्यही भएर यो योजना बुनिएको हो । मेरो करिअर बर्बाद पार्न खोजिएको हो

Published on: 15 January 2014 | Kantipur

Back to list

;