s

बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार

काठमाडौँ, चैत २१ ग्ते । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिनुभयो । बहाना वैदेशिक रोजगारीको भए पनि उनीहरूलाई तेस्रो मुलुक लगेर बेचबिखन गर्न लागिएको पत्ता लागेपछि उद्धार गरिएको उहाँले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा आकर्षक तलब पाउने लोभ देखाएर उनीहरूलाई विदेशमा बेचबिखन गर्न लागिएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनामाथि अनुसन्धान गरिरहेको छ । ती गिरोहले यसअघि पनि केही महिलालाई विदेश पठाउने बहानामा बिक्री गरेको पाइएपछि उनीहरूलाई उद्धार गरिएको हो । महिला बेचबिखनमा संलग्नमध्येका गणेशबहादुर कटुवाललाई यही चैत २ गते काठमाडौँको टोखा नगरपालिका-५ बाट ब्युरोले पक्राउ गरेको थियो । उनीसँग सोधपुछ तथा अनुसन्धानका क्रममा सोही घटनामा संलग्न रहेको पाइएपछि फरार भएका आरोपीमध्ये ५८ वर्षका लक्ष्मीप्रसाद निला सिटौलालाई मङ्गलबार चैत २० गते काठमाडौँबाटै पक्राउ गरिएको हो ।

उनीहरूसँगको बयानका तथा थप अनुसन्धान गर्दै जाँदा त्यसरी विदेश पठाउने लोभ देखाएर थप पाँच महिलाहरूलाई पनि बेचबिखनमा संलग्न गराउनका लागि होटलमा राखेर आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गौशालाको होटलमा पुगेको थियो । “सिटौलालाई पक्राउ गर्ने क्रममा उनले भ्रमण भिसामा दुबई हुँदै खाडी मुलुकहरूमा घरेलु कामदारको रूपमा आकर्षक तलब सुविधाको काममा लगाइदिने प्रलोभन देखाइ थप पाँच जना महिलाहरूलाई लैजाने तयारी गरेको पाइएपछि तत्कालै होटलबाट उनीहरूलाई उद्धार गरिएको हो,” प्रहरी उपरीक्षक फुयाँलले भन्नुभयो । उद्धार गरिएकाहरूसँग थप जानकारी लिने तथा घटनाको थप अनुसन्धानका काम जारी रहेको ब्युरोले जनाएको छ । रासस

Published on: 4 April 2024 | Gorkhapatra

Link

Back to list

;