s

बेचिएकी चेली शिशु च्यापेर फर्किइन्

मदन ठाकुर

'म त फोटो स्टुडियोमा थिएँ, होस खुल्दा मुम्बईको कोठीमा पो रहिछु,' राजपुरतुलसी–८ मलहेनियाकी १६ वर्षीया लालोकुमारी (नाम परिवर्तनले भनिन्। चौध महिनादेखि गायब उनी केही दिनअघि मात्र गाउँ फर्किएकी हुन्, त्यो पनि चारमहिने शिशु च्यापेर।

प्रश्नहरू बर्सिए– कस्को शिशु? को हो बाबु?

'दिनभरिमा सात–आठ जना आउँथे, कसको भनूँ,'

जबर्जस्तीको देहव्यापारमा बाध्यताका ग्राहकको फेहरिस्त राख्नुको अर्थ पनि के र?

आइतबार आयोजित पत्रकार सम्मेलनमा गाउँकै केही व्यक्तिले आफूलाई झुक्याएर मुम्बई पुर्यागएको खुलासा गरिन्। उनका अनुसार स्थानीय सेखओसी अख्तर, सेख महफुज, सेख मरगुव र लेफाकत मियाले उनलाई फोटो खिचाउने बहानामा भारतको वैरगैनिया पुर्यारएका थिए। यसअघि मियाकी पत्नी सेहरा खातुनले उनलाई अनेकौं प्रलोभन देखाएर फोटो खिचाउन राजी बनाएकी थिइन्।

वैरगनियाको फोटो स्टुडियोमा मुहार सफा गर्न उनलाई रुमाल दिइयो। रुमालमा नसालु पदार्थ के थियो कुन्नि, त्यसपछि उनलाई केही थाहा छैन। होस खुल्दा मुम्बईको कमाटीपुरास्थित कोठीमा, बेहोसीमै तीन दिन बितिसकेछन्। ब्युँझिएपछि कहालिइन्, 'म कहाँ छु, घर जान देऊ।'

रुक्सार नामकी युवतीले उनलाई सुझाइन्– 'तिमीसँग आएका चार जनाले तिमीलाई बेचेर गए, अब तिमीले यहाँ बस्नुपर्छ। ग्राहकलाई शारीरिक सुख दिनुपर्छ।'

झुक्याएर कोठी पुर्या इने अरू युवतीले जस्तै प्रतिवाद उनले पनि गरिन्। अनि कोठीको चरम यातना सहन नसकी शरीर सुम्पनुपर्ने बाध्यतालाई उनले पनि पन्छाउन सकिनन्, अरूले जस्तै।

'दिनमा सात जनाभन्दा बढी आउँथे, चार महिनाअघि गर्भ बसेछ,' उनले भनिन्। त्यसपछिको एक महिना उनको शरीरले फुर्सद पायो। सायद लगातारको नारकीय भोगाइबीच थोरै सुखको अनुभूति उनले यही बेला गरिन्। तर, कसाहीलाई बाख्राको के माया? सुत्केरी ज्यान तंग्रिन नपाउँदै कोठीमालिकले फेरि धकेलिदियो, उही यौनकै कारखानामा। तर, यसपालिका एक ग्राहकको मन पग्लिएछ। उनलाई सुटुक्क बाहिर निकालेर भगायो। बिहारको रेल चढाएर नेपाल पठाइदियो। उनी भौंतारिँदै बल्लबल्ल आइपुगिन्, सदरमुकाम गौर। आफ्नै गाउँ।

आफन्तको सहयोगमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यी सबै नाटकीय वृत्तान्त पोखिन्। रुँदै भनिन्, 'मलाई यो अवस्थामा पुर्यािउने चारै जनालाई जसरी पनि कारबाही होस्।'

यता छोरी बेपत्ता बनाएको थाहा पाएपछि पीडित आमाले २०६९ फागुन १५ गते चारै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन गइन्। तर, तल्लो तहका कर्मचारीले दर्ता हुनै दिएनन्। प्रहरी प्रमुखसँग भेट्न पनि दिएनन्। 'म पटकपटक धाएँ, एक दिन मलाई कार्यालय परिसरमा देखेपछि एसपी गोविन्दराम परियारको सहयोगमा बल्ल दर्ता भयो,' उनले सुनाइन्। प्रहरीले २०७० साउन १ गते मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा दर्ता गरे पनि आरोपी पक्राउ परेनन्। 'उनीहरू प्रहरी आउँदा लुक्थे, गइसकेपछि मलाई पिट्थे,' चोट देखाउँदै सोगराले भनिन्– 'उनीहरूले मलाई प्रहरी कार्यालयमै मार्ने धम्की दिँदा पनि कसैले केही गरेन।'

कुवेतमा मजदुरी गर्ने पतिले घर चलाउन पठाएको पैसा छोरी खोज्नमै सकिएको उनले बताइन्। पीडित युवतीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पीडकहरूविरुद्ध बयान दिएकी छन्। पीडिता स्वयंले बयान दिएकाले उनीहरूलाई तत्काल पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत कारबाही चालउने प्रहरीले बताएका छन्।

Published on: 28 April 2014 | Nagarik

Back to list

;