s

बेरोजगार युवालाई कार्ड

कर्णालीका बेरोजगार युवालाई रोजगार कार्ड वितरण गरिने भएको छ । कर्णाली क्षेत्र विकास इकाई, कर्णाली रोजगार नमुना कार्यक्रमअन्तर्गत युवालाई कार्ड दिएर सय दिन काम दिइने भएको हो । बेरोजगारहरूलाई काम दिने, दिगो भौतिक पूर्वाधार निर्माण गर्ने र आर्थिक उन्नति गराउने उद्देश्यका साथ जुम्ला र कालिकोटका दुईदुई गाविसमा दुई वटा योजनाहरू सञ्चालन गरिने भएका हुन् ।

पहिलो चरणमा जुम्लाको गुठीचौर गाविस कुडी सन्टासम्म जोड्ने ग्रामीण सडकअन्तर्गत ढौडे खोलादेखि मुडुरी खण्ड नमुना आयोजनाका रूपमा काम गरिने भएको छ । आयोजनामा काम गर्न भेला गराई समुदायबाट इच्छुकहरूको आवेदन र्फम भरेर नागरिक वडा मञ्चले बेरोजगारको पहिचान गर्नेछ । 

गाविस स्तरीय समन्वय तथा अनुगमन समितिले सिफारिस गरेपछि जिल्ला विकास समितिले रोजगार कार्ड उपलब्ध गराउने र उनिहरूलाई प्रशिक्षणसमेत गरिने कणर्ाली क्षेत्र विकास इकाईका जिल्ला संयोजक राजबहादुर बुढथापाले बताए । उनले भने, 'रोजगार कार्ड प्राप्त गरेका कामदारहरूको बिमाको व्यवस्था गरिनुका साथै प्राथमिक उपचार, हेल्मेट, बुट, औजार उपलब्ध गराइनेछ ।' काम गर्ने स्थानमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था तथा बालबच्चा हेरचाहको व्यवस्थासमेत गरिने भएको छ । 

डिल्लीचौरको तिर्खु र गुठीचौरको मुडुरीका गरिब एक सय ६६ जना १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगारहरूले एक सय दिन रोजगार पाउने भएका छन् । कर्णाली रोजगार नमुना कार्यक्रमले जिल्लाका दुई वटा गाविसमा करिब ५० लाखसम्मका ग्रामीण सडक र सिँचाइ योजनाहरू सञ्चालन हुनेछ । यी नमुना योजनाहरू सफल भएमा कणर्ालीका पाँच वटै जिल्लामा सम्पूर्ण योजनाहरूमा लागू हुने र सबै बेरोजगारहरूले रोजगार कार्ड पाउने जिविस जुम्लाले जनाएको छ ।  

Published on: 9 March 2014 | Kantipur

Back to list

;