s

बेरोजगारलाई रोजगार कार्ड

एलपी देवकोटा

कर्णालीका बेरोजगार युवाले अब रोजगार कार्ड पाउने भएका छन् । कर्णाली क्षेत्र विकास इकाई कर्णाली रोजगार नमुना कार्यक्रमअन्तर्गत यो कार्ड पाएका बेरोजगारलाई सय दिन रोजगार दिन लागिएको हो । यसका लागि जुम्ला र कालिकोटका दुई-दुई गाविसमा दुई योजना पनि सञ्चालन गरिने भएको छ ।

पहिलो चरणमा जुम्लाको गुठिचौर-कुडिसन्टा ग्रामीण सडकअन्तर्गत ढौडेखोलादेखि मुडुरी खण्डलाई नमुना आयोजना बनाइनेछ ।

उक्त आयोजनामा काम गर्न जनभेला गराई समुदायबाट काम गर्न इच्छुकको आवेदन र्फम भर्नुपर्ने कार्यक्रमले जनाएको छ । नागरिक वडा मञ्चले बेरोजगार पहिचान गरी गाविसस्तरीय समन्वय तथा अनुगमन समितिले सिफारिस गरेपछि जिविसले रोजगार कार्ड उपलब्ध गराउनेछ । उनीहरूलाई प्रशिक्षणसमेत दिने कर्णाली क्षेत्र विकास इकाईका जिल्ला संयोजक राजबहादुर बुढथापाले बताए । उनले भने, 'रोजगार कार्ड प्राप्त गरेका कामदारको बिमा व्यवस्था गरिनुका साथै प्राथमिक उपचार, हेल्मेट, बुट र औजार उपलब्ध गराउने छौं ।' काम गर्ने स्थानमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था र कामदारका साना नानीको हेरचाहसमेत गरिनेछ ।

पहिलो चरणमा डिल्लीचौरको- तिर्खु र गुठिचौरको मुडुरीका गरिब १ सय ६६ जना १८ वर्षदेखि ५९ वर्षसम्मका बेरोजगारले सय दिन रोजगार पाउने छन् । कर्णाली रोजगार नमुना कार्यक्रमले जिल्लाका दुई गाविसमा करिब ५० लाखसम्मका ग्रामीण सडक र सिँचाइ योजना सञ्चालन हुनेछ ।

यी योजना सफल भए कर्णालीका पाँचै जिल्लामा सम्पूर्ण योजनामा लागू हुने र सबै बेरोजगारले रोजगार कार्ड पाउने जिविसले जनाएको छ ।

Published on: 17 March 2014 | Kantipur

Back to list

;