s

भारत जाने युवा गाउँमै रोकिए

राजेन्द्र नाथ

रझेना ५ कौशिल्यानगरका पूर्णबहादुर थापा केही वर्षअघिसम्म भारतको सिमलामा मजदुरी गर्थे । सिजनमा हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने र नजिकका बजारमा ढुवानीको काम गर्ने थापा, अहिले गाउँमै रोकिएका छन् । काका आइतबहादुर दर्लामीले खोलेको 'आइत बिजुली भण्डार' मा कार्यरत थापाले यसअघि झन्डै तीन वर्षसम्म सिमलामा मजदूरी गरे । त्यहाँ उनी दैनिक डेढ सय रुपैयाँमा काम गर्थे । तर घर फर्केपछि काकाको सल्लाहमा 'इलेक्टि्रक मोटर रिवाइन्डर' सम्बन्धी तीनमहिने तालिम लिएपछि उनी सधंैका लागि गाउँमा रोकिएका हुन् । 'त्यहाँ कामको सम्मान थिएन । गरे गर नगरे नगर' को व्यवहार हुन्थ्यो,' उनले भने, 'अहिले गाउँमै बसेर मासिक ८/१० हजार रुपैयाँ कमाइरहेको छु ।'

इलेक्टि्रक मोटर रिवाइन्डर, ड्रेस मेकर, विल्डिङ इलेक्टि्रसियन, मोटरसाइकल सर्भिस मेकानिक्स र डकर्मीजस्ता तीन महिने तालिम पाएपछि बाँके र बर्दियाका दर्जनभन्दा बढी युवा विदेश जान छाडेका छन् । एक स्थानीय संस्थाको समन्वयमा उनीहरूले तालिम लिएका थिए । सिपले गाउँघरमा रोजगारका अवसर जुरेपछि भारत जान छाडेको उनीहरूले बताए । सिजनमा कामका लागि बर्सेनि भारत जाने बेलवा ४ का किशुन थारू, महाबली थारू, राजेन्द्र थारू र मोतिराम थारूले डकर्मीसम्बन्धी तालिम लिएपछि नगरोन्मुख बजार क्षेत्रमा प्रशस्त काम पाएकाले भारत जानुपर्ने बाध्यता हटेको बताए । 'चारै जना सामूहिक रूपमा काम गर्छौं,' टोली नेता किशुनले भने, 'सीप सिकेर आत्मनिर्भर भएपछि विदेशिने बाध्यता त हटेको छ नै, परिवारलाई पनि समय दिन पाइएको छ ।'

गाउँका युवामात्र होइनन्, युवतीहरूले पनि तालिमपछि रोजगारी पाएका छन् । कोहलपुरकी रेखा थारू र टीका वली स्थानीय मदन चोक नजिकको एक निर्माणाधीन घरमा हाउस वाइरिङको काममा व्यस्त छन् । चर्को गर्मीमा असिनापसिना भएर कडा श्रम गरिरहेका उनीहरूले काम थालेपछि घरपरिवार र छिमेकीको व्यवहारमा समेत परिवर्तन आएको बताए । 'आफ्नो खुट्टामा उभिन थालेपछि भित्रैबाट आत्मविश्वाससमेत बढ्दो रहेछ,' रेखाले भनिन् । युरोपियन युनियनको आर्थिक सहयोगमा हेल्भेटास स्वीस इन्टरकोप्रेसन नेपालले सञ्चालन गरेको 'सेइस परियोजना' मार्फत बाँकेका १ सय ८१ युवायुवतीलाई तालिम दिइएको थियो ।

तालिम लिएपछि १६ जनाले आफ्नै व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ । विगतका दिनहरूमा घरको काममा सीमित कोहलपुरकी चित्रा डिसीले तालिमपश्चात टेलरिङ सेन्टर सञ्चालन गर्नुका साथै कपडाको व्यापारसमेत गरेकी छन् । 'सबैभन्दा ठूलो कुरा सीप रहेछ,' उनले भनिन्, 'तालिम लिएपश्चात् व्यवसायबाट मासिक २०/२५ हजार आम्दानी गरिरहेकी छु ।'

Published on: 29 September 2013 | Kantipur

Back to list

;