s

भारत लग्न खोजिएकी किशोरीको उद्धार

किशोर बुढाथोकी
 
जोगबनी नाका हुँदै घरेलु श्रममा लगाउन भारतको नयाँदिल्ली लैजान खोजिएकी १५ वर्षीया किशोरीलाई मंगलबार उद्धार गरिएको छ।
 
पारिवारिक सल्लाहबमोजिम नै नयाँदिल्ली लैजान लागिएकी उदयपुरकी मगर थरकी किशोरीलाई विराटनगर भन्सार कार्यालयनजिकबाट प्रहरीले उद्धार गरेको हो।श्रम गर्ने उमेर नै नभई भारत लैजान खोजिएका कारण उनलाई प्रहरीले उद्धार गरेको हो । राम्रो काम गर्न पाइन्छ। 
 
राम्रो पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएकाले पैसा कमाउन अभिभावकसँगको सल्लाहबमोजिम नै छिमेकीको साथ लागेर आफू घरबाट भारततर्फ हिँडेको ती किशोरीले प्रहरीलाई बताएकी छन्।इलाका प्रहरी कार्यालय रानीका प्रहरीनिरीक्षक गंगाप्रसाद पौडेलले सीमानाकाबाट उद्धार गरिएकी किशोरीलाई अभिभावकको जिम्मा लगाइएको बताए। 
 
घरपरिवार र अभिभावकसँग सल्लाह गरेर नै नयाँदिल्लीमै व्यापारव्यवसाय सञ्चालन गरेर बस्दै आएका छिमेकीले उनलाई भारत लैजान लागेको भए पनि श्रममा लगाउनका लागि उमेर नपुगेका कारण उद्धार गरेर घर फर्काइएको प्रनि पौडेलले बताए।'१८ वर्ष नपुगीकन घरेलु श्रममा लगाउन पाइँदैन। त्यसमाथि कुनै पनि श्रममा लगाउन विदेशी भूमिमा लैजान पाइँदैन', पौडेलले भने,'अज्ञानता र अशिक्षाका कारण ती किशोरीलाई भारत लैजान अभिभावकले छिमेकीको जिम्मा लगाएको पाइयो। उद्धार गरेर जिम्मा लगाउने बेलामा बालिका भएकाले यो उमेरमा श्रम र काममा लगाउनु हुँदैन भनेर सम्झाइबुझाइ गरियो।'
 
भारत पुगेपछि बालिका जोखिममा पर्ने सम्भावना भएकाले पनि उद्धार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। प्रनि पौडेलले भने, ‘जोखिममा पर्ने वर्गलाई सम्भावित जोखिमबाट मुक्ति दिलाउन सम्झाउनेबुझाउने गर्छु।' बालिकालाई जिम्मा लिन आएका अभिभावकले आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन छोरीलाई भारत पठाउनु आफ्नो बाध्यता रहेको बताए का छन्। 
 
'कस्तो काममा लगाउन हुन्छ र कस्तोमा हुँदैन भनेर थाहा थिएन। त्यही भएर छिमेकीको साथमा पठाउँदा केही हुँदैन भनेर पठाइएको हो', किशोरीका बुबाले भने, ‘अबदेखि कुनै पनि काममा लगाउन भारत पठाउँदैनौं। कानुनी र जोखिमका कुरा थाहा नभएकाले पनि छोरीलाई पठाउन लागिएको हो।' 
 
Published on: 9 December 2015 | Annapurna Post
 

Back to list

;