s

भारतमा २ नेपाली पक्राउ

कामको खोजीमा सीमावर्ती मूर्तिहा पुगेका दुई नेपाली नागरिकलाई भारतीय वन रक्षकले पक्राउ गरी कारागार पठाएको छ । बुधबार दिउँसो उनीहरूलाई मूर्तिहा छाउनीस्थित रेन्जपोस्ट नजिकबाट वन रक्षकले नियन्त्रणमा लिएको हो । उनीहरू गुलरिया नगरपालिका ४ का कुन्ना यादव र गुनपा १४ टेपरीका दामोदर रेग्मी हुन् । ती दुई जनालाई बेग्लाबेग्लै स्थानबाट फरक समयमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

गुलरिया नगरपालिका ४ हस्नापुरकटीका कुन्नालाई मूर्तिहा रेन्जपोस्टले पक्राउ गरी बहराइच कारागार पठाएको छ । उनीमाथि वन मुद्दा दायर गरी कारागार पठाएको उनका आफ्न्तले जनाएका छन् । यादवका आफ्न्त कांग्रेस क्षेत्रीय सभापति मुक्तिनाथ यादवका अनुसार कारागार पठाउनुको कारण खुल्न सकेको छैन । ६ महिनाअघि भारतीय वन रक्षकले सोही गाउँका मनोज यादवलाई वन मासेको आरोप लगाउँदै यसैगरी कारागार पठाएको थियो । मनोजका साथी भएका कारण कुन्नालाई पनि त्यसै गरेको मुक्तिनाथले बताए । वनरक्षकले रेग्मीमाथि वन र चोरी तस्करी आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी बर्दियाका निरीक्षक प्रह्लाद शाहले भारतमा पक्राउ परेको थाहा पाउनासाथ नेपाल प्रहरी घटनास्थल पुगेको बताए । भारतीय वन अधिकारीले नेपाल प्रहरीलाई यादव र रेग्मी वन र चोरी तस्करीका फरार अभियोगी भएकाले नियन्त्रणमा लिएको जनाएको छ ।

Published on: 26 April 2014 | Kantipur

Back to list

;