s

भारतले ५ लाख दिने

राजापुर १०, टेडियाकी २८ वर्षीया मीना सुनारका परिवारलाई भारत, हरियाणा राज्य सरकारले ५ लाख भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । हरियाणाको रोहतकमा सामूहिक बलात्कारपछि उनको हत्या भएको थियो । हरियाणाका कृषि मन्त्री ओमप्रसाद धनखडले आर्थिक सहयोगको घोषणा गरेको मीनाका आफन्तले बताए । हरियाणास्थित रोहतक जिल्लाका एसएसपी शंशाङ्ग आनन्दले सहयोग रकम घोषणाको जानकारी बर्दियाका प्रहरी प्रमुख -एसपी) गोविन्दराम परियारलाई गराएका छन् । एसपी परियारले भारतीय प्रहरी अधिकारीले पीडित परिवारलाई क्षतिपूर्ति बापत उक्त रकम राज्य सरकारले सहयोग उपलब्ध गराउने घोषणा गरेको बताए । 

अविवाहित २८ वर्षीया मीना उपचारका लागि दिदी भिनाजुसँग गत मंसिर १२ गते भारतको हरियाणा गएकी थिइन् । मानसिक बिरामी उनी डेराबाट बेपत्ता भई ४ दिनपछि मृत भेटिएकी थिइन् । रोहतकबाट करिब ११ किमि टाढा बहुअखबरपुरस्थित राष्ट्रिय राजमार्ग नजिकको खेतमा उनको शव फेला परेको थियो । 

मीनाकी दिदी जानकीले पीडकका आफन्त र अपराधी व्यक्तिबाट आक्रमणको खतरा हुन सक्ने भन्दै राज्यबाट सुरक्ष्ााको व्यवस्था मिलाएको बताइन् । दुई दशकदेखि मीनाका दिदी भिनाजु रोहतकमा ठेलामा खाना बेचेर जीविकोपार्जन गर्दै आएका छन् । 'तत्काल बहिनी बेपत्ता भएको रिपोर्ट प्रहरीमा दर्ता गरे पनि खोजीका लागि तदारुकता देखाइएन,' दिदी जानकीले भनिन्, 'तर घटनाको केही दिनमै प्रहरीले अपराधी पत्ता लगायो ।' प्यूठान घर भएका एक जना नेपालीसहित ८ अभियुक्तलाई मीनाको सामूहिक बलात्कार र हत्या आरोपमा हदैसम्मको कारबाही माग गरेर मुद्दा दायर भएको छ ।

Published on: 2 March 2015 | Kantipur

Back to list

;