s

विदेश जाने ऋण नपाएपछि कृषिमा

विदेश जाने ऋण खोज्दा नपाएपछि थालेको कृषि पेसाले यहाँका एक किसानलाई लखपति बनाएको छ । तित्याङ ८ का बलबहादुर थापाले खाडी मुलुकमा जाने रकम जुटाउन नसकेपछि गाउँमै व्यावसायिक तरकारी खेती गरेर सफल किसान बनेका हुन् ।

डेढ रोपनीमा केराउ र त्यत्तिमै अन्य बेमौसमी तरकारी लगाएर उनी वाषिर्क चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । 'विदेश जान एक लाख लाग्थ्यो, तरकारी लगाउँदा १० हजार पनि लागेन,' थापाले भने, 'अहिले केराउबाट मात्रै सिजनमा डेढ लाख रुपैयाँसम्म कमाउँछु ।' हरियो केराउका लागि बजार खोज्नु नपरेको उनी बताउँछन् ।

थापाले दुइटा प्लास्टिक घरमा बेमौसमी गोलभेडा लगाएका छन् । रायो साग र अन्य तरकारी पनि प्रशस्तै छ । उनले हरेक वर्ष एक लाख रुपैयाँ रायोबाट कमाएको बताए । 'हरियो तरकारीका रूपमा साग बाह्रै महिना बिक्री गर्छु,' उनले भने, 'गोलभेडा, काउली, सिमी, बन्दालगायत तरकारी मागअनुसार पुर्‍याउन सकेको छैन ।'

बलबहादुरले छिमेकी ३९ युवालाई गाउँमै व्यावसायिक तरकारी उत्पादक बनाएका छन् । घरैमा उत्पादन हुने जैविक र गिती मल बनाउने, पिसाब संकलन र प्रयोगबारे पनि उनी सिकाउने गर्छन् । अहिले तित्याङ ८ का अधिकांश घरमा व्यावसायिक तरकारी खेती गरिएको छ ।

'बजारमा जेसुकै कामका लागि गए पनि तरकारी लिएरै जान्छौं,' युवा किसान राजुले भने, 'पहिला अप्ठ्यारो लाग्थ्यो, अहिले बानी परिसक्यो ।' अधिकांश उत्पादन बारीबाटै बिक्री हुने गरेको उनले बताए ।

युवाहरू गाउँमै अडिएर व्यावसायिक खेती गर्दा जिल्ला कृषि विकास कार्यालयले पनि कमलडाँडामा प्राविधिक सहयोग बढाएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।

Published on: 19 March 2014 | Kantipur

Back to list

;