s

विदेशको सीपले खेतबारीमा प्राण

कुनै बेला खेतबारीमा भविष्य नदेखेर विदेशी भूमिमा पसिना बगाउन पुगेका झापाका सयौं युवायुवती यतिबेला आफ्नै खेतबारीमा भविष्य खोजरहेका छन्। विदेश गएर सफल भएका हुन् वा असफल, फर्केपछि धेरैले कृषिकर्म रोजेका छन्। यसैले उनीहरुलाई समृद्ध भविष्य खेतबारीमै सम्भव छ भन्ने दरिलो आत्मविश्वास दिलाएको छ।
 
झापा ज्यामिरगढी –५ का युवा रेवत उप्रेती यस्तै उदाहरण हुन्। ४ वर्ष मलेसियामा पसिना खर्चेका उनी ५ वर्ष अघि घर फर्किए। आउनासाथ आफ्नो खेतबारी सम्हाल्ने अठोट गरे। उनले धान, मकै, गहुँ लगायतका अन्नबालीमा मात्रै होइन, खेतका आली–आलीमा बोटबिरुवा पनि उमारे। 'वर्ष दिन खेतमा राम्ररी लाग्दा एउटा ट्रयाक्टर लिन सफल भएँ', उनले सुनाए, 'त्यसपछि अझै उन्नत तरिकाले खेती सुरु गरेँ।' अहिले उनले घरको ग्वालीमा १० माउ गाई पालेका छन्। घरैमा प्रांगारिक मल उत्पादन गरेका छन्। आफ्नो खेतबारीमा हालेर उब्रेको मल बिक्छ। 'विदेशमा मैले कृषिबाटै तरक्की भएको देखेँ', उनी भन्छन् 'त्यहाँ देखेपछि मैले पनि गर्दा हुनेरहेछ भन्ने बोध भयो। अहिले उत्साही छु।'
 
छोराको कम्प्युटर पढ्ने चाहना पूरा गरिदिन विदेशिएकी कनकाई नगरपालिका–६ की पार्वता फुयाँल अहिले कृषिकर्ममा सक्रिय छिन्। छिमेकी घरमा कम्प्युटर ल्याएको देखेपछि सानो छोराले 'ममी हाम्रोमा कहिले कम्प्युटर ल्याउने?' भनेर बारम्बार गरिरहने प्रश्नले उनलाई इजरायलसम्म पुर्याेयो। 'आफ्नै ठाउँमा पनि राम्रो काम गर्न सकिने रहेछ', करेसाबारीमा भेटिएकी उनले भनिन्, 'हामीले सम्भावनाको खोजी गर्न नजानेका रहेछौँ।'
 
३६ वर्षीया फुयाँलले २०६५ सालदेखि २०६९ सालसम्म इजरायलमा 'केयरटेकर'को काम गरिन्। सामाजिक क्षेत्रमा राम्रै इज्जत कमाएकी उनले जेष्ठ नागरिकको सेवा गर्ने अवसर पाइन्। पैतृक सम्पत्ति सदुपयोग गर्नुभन्दा वैदेशिक रोजगारीमा जान उनलाई उचित लाग्यो त्यतिबेला। आफ्नै परिश्रममा विश्वास गर्ने पार्वताका श्रीमान् पनि बेरोजगार थिए। ३ जना छोराछोरीको आवश्यकता पूरा गर्न उनले विदेश जाने निर्णय लिएको बताइन्।
 
'तर, विदेशमा जति काम यहाँ गरे लाखौँ कमाउन सकिन्छ', उनले थपिन् – 'काम सानो–ठूलो भन्न थाल्यो भने चाहिँ सफल हुन सकिन्न।' विवाह अघिदेखि नै वैदेशिक रोजगारका लागि प्रयास गरे पनि ३ जना छोराछोरी भइसक्दा समेत आफ्ना पतिलाई विदेश पठाउन नसकेपछि इजरायल गएकी थिइन् उनी। त्यसपछि खाडी मुलुक गएका उनका श्रीमान् तारा अढाई वर्षपछि घर फर्किए र कृषि पेशामा लागे। अहिले फुयाँल दम्पति नै खेतबारीको काममा व्यस्त हुन्छन्। तारा पनि वैदेशिक रोजगारीमा सिकेको सीप खेतबारीमा लगाउँछन्। वैदेशिक रोजगारीको अनुभव बटुलेकी फुयाँलले इजरायलबाट राम्रै आयआर्जन गरेर फकिईन्। त्यो रकम घर खर्चमा मात्रै सकिनन् तरकारी उत्पादनको काममा पनि खर्च गरिन्। 'करेसाबारीमा लगानी गरेपछि थोरै भए पनि आम्दानीको बाटो हुन्छ', उनले भनिन्, 'परिवारलाई सहयोग पुग्छ, यो नै खुसीको कुरा हो।' आम्दानीको स्रोत भएपछि पारिवारिक वातावरण व्यवस्थित भएको उनको अनुभव छ। 'वैदेशिक रोजगारीले कार्यक्षमतामा वृद्धि भयो, कठिन अवस्थामा पनि धैर्य गर्ने शक्ति मिल्यो', उनले भनिन्, 'अब त खेतबारीबाटै राम्रो कमाइ गर्ने अठोट लिएकी छु।'
 
फुयाँल मात्रै होइन, कनकाई नगरपालिकाकै धनमाया बराल शिवाकोटी पनि ८ वर्षसम्म इजरायल बसेर गत वर्ष फर्किएकी छन्। ४५ वर्षीया धनमायाले इजरायलमा भएको आर्थिक क्रान्ति नजिकबाट नियालेकीले नेपाल आइपुग्ने बित्तिकै व्यावसायिक कृषि पेशामा लागेकी छन्। 'इजरायलमा बाह्रै महिना टमाटर पाइन्छ, बाह्रै महिना काँक्रा पाइन्छ, कृषि पेशामा संलग्नको सम्मान गरिन्छ', उनले भनिन्, 'यहाँ पनि हामीले गर्न सक्ने प्रशस्तै आधार पहिल्याएकी छु।'
 
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक शालिकराम भट्टराईका अनुसार केही वर्षयता झापामा कृषि उद्यमीहरुको संख्या ह्वात्तै बढेको छ। धेरैले तरकारी खेती, बोटविरुवा, चिया तथा अन्य नगदेसहित अन्न बालीलाई आफ्नो आयको मुख्य आधार बनाएका छन्। 'अधिकांश विदेशबाट फर्केर आएका युवायुवतीले कृषि उद्यम रोजेका छन्', उनले भने 'कसैले खेतबारी हराभरा पारेका छन्, कसैले पशुपालन रहरलाग्दो पाराले गरेका छन्। यही कारण जिल्लामा कृषिको उत्पादकत्व वृद्धि भएको छ।' हुनेले आफ्नै जमिनमा, नहुनेले भाडामा लिएर पनि खेती गरिरहेको उनको भनाइ छ। कृषिमा नयाँ पुस्ताको प्रवेशले आधुनिक प्रविधि र उपकरण पनि भित्रेको छ। 'अहिले धेरै काम मेसिनबाट हुन्छ', प्राविधिक भट्टराईले थपे 'यसले लागत खर्च घटाएको छ भने उत्पादकत्व बढाएको छ।'
 
Published on: 29 August 2015 | Nagarik
 

Back to list

;