s

विदेशमा अदक्ष कामदार बढी

सिकर्मी काम गर्न कतारको हलिउल्लाह कम्पनीले बोलाएका सोलुखुम्बु, राम्सेका पेम्बा शेर्पा उक्त काम गर्न नसक्दा एक सातामै घर फर्किए । ३० वर्षे शेर्पालाई फर्निचरको काम गर्न लगाउँदा नसकेपछि कम्पनीले अघिल्लो महिना घर फर्काएपछि थियो ।
 
अचेल उनी विदेश जाँदा लागेको खर्च उठाइदिनु पर्यो भन्दै वैदेशिक रोजगार विभाग लगायत निकाय धाइरहेका छन् ।
 
कतार जानुअघि मेनपावर कम्पनीले गर्नुपर्ने कामबारे प्रस्ट नभनेका कारण फर्कनु परेको दाबी गर्दै शेर्पाले विदेश जाँदा मेनपावरलाई बुझाएको ८० हजार र अन्य खर्च २० हजारसहित एक लाख रुपैयाँ फिर्ता लिन दौडधुप गरिरहेका छन् । 'मेनपावरले फर्निचर उद्योगमा काठ एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम भनेको थियो,' उनले भने, 'उहाँ त काठका सामान तयार गर्नुपर्ने पो रहेछ ।'
 
काठका सामान तयार गर्ने सीप नभएका शेर्पालाई कम्पनीले उक्त काम नगरे रोजगारी दिन नसकिने बताएपछि निराश हुँदै घर फर्किए । काम गर्न विदेश जानुअघि ऋण लिएका शेर्पा बीचमै फर्केपछि मेनपावरले लिएको रकम फिर्ता नगरे घर, जग्गा बेचेर तिर्नुपर्ने बताउँछन् ।
 
राम्रो कमाइ गरेर नयाँ घर बनाउने योजना बुनेका मोरङ, उर्लाबारी–९ का कृष्ण खत्रीको विदेश यात्रा पनि एक महिनामै टुगिंयो । ग्रिनतारा मेनपावरले हल्का सवारी चालकको काम भन्दै मलेसिया उडाएका खत्री त्यहाँ हेभी गाडी चलाउन लगाइको बताउँछन् । हेभी गाडी चलाउन नसकेपछि एक महिनामै फर्काइएका खत्रीले सीप नसिकी जाँदा पछुताउनु परेको बताए । 'आवश्यक सीप सिकेर गएको भए न बीचमै फर्किनुपथ्र्यो, न लगानी डुब्थ्यो, 'उनले भने । अहिले उनी ग्रिनताराले लिएको ५५ हजार रुपैयाँ फिर्ता लिने धुनमा छन् ।
 
वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहँदा सीप नसिकेका कारण फिर्ता हुने र लगानी डुबाउने क्रम पनि उस्तै छ । सम्बन्धित काममा दक्ष भएर मात्र विदेश जानुपर्ने भनिँदै आए पनि यसमा न जाने व्यक्तिले चासो दिन्छ, न नियमनकारी निकायले अनुगमन गर्छन् । मेनपावर कम्पनी त यो यो काम गर्नुपर्छ, यति तलब–सुविधा पाइन्छ भनेर सचेत गराउनुको साटो चाँडोभन्दा चाँडो उडाउनै हतारिन्छन् ।
 
'सीप नसिकी जाँदा एकातिर कामदार जोखिममा पर्छन्, अर्कोतर्फ उनीहरूले पाउनुपर्ने पारिश्रमिक पाउँदैनन्,' वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, 'वैदेशिक रोजगारीका जोखिम घटाउन र राम्रो पारिश्रमिक लिन कामदारलाई दक्ष बनाउन जरूरी छ ।'
 
पछिल्ला दुई वर्षमा बर्सेनि पाँच लाख बढी युवायुवती श्रम स्वीकृति लिएर खाडी लगायत मलेसिया पसे पनि बाहिरिएको संख्याको तुलनामा कम रेमिटेन्स भित्रिएको सरकारी अधिकारीहरू बताउँछन् । 'वर्षमा कमाउन सक्ने उमेरका पाँच लाख युवायुवती वैदेशिक रोजगारीमा पठाएको देशले अहिले आर्जन गरिरहेको रेमिटेन्समा चित्त बुझाउन सकिँदैन,' वैदेशिक रोजगार विभागका एक अधिकृतले भने, 'सीप सिकाएर पठाउन सकेको भए अहिलेको तुलनामा पक्कै पनि बढी रेमिटेन्स आउँथ्यो ।'
 
सीप नसिकी जाँदा अंग्रेजीमा 'थ्री–डी' भनिने काम गर्न बाध्य हुन्छन् । यस्ता कामदारलाई फोहरी (डर्टी), जोखिमपूर्ण (डेन्जरस) र कठिन (डिफिकल्ट) काम गर्नुपर्ने बाध्यता आउँछ, भन्छन् भुक्तभोगी ।
 
मेनपावर कम्पनीले भनेअनुसारको काम नपाएपछि मलेसियाबाट फर्केका कोटेश्वरका मीनबहादुर तामाङले भने, 'विदेश जानुअघि कामदारले सम्बन्धित काम जाने/नजानेको बारे राम्रोसँग जाँच गरेपछि मात्र सरकारी निकायले श्रम स्वीकृति दिनुपर्छ ।' उनलाई मेनपावरले बिजुलीका सामान बेच्ने पसलमा काम गर्ने जानकारी दिएको थियो । उता कम्पनीले वायरिङको काम लगाउन खोजेपछि घर फर्किएको तामाङले जानकारी दिए ।
 
वैदेशिक रोजगार विभागका अनुसार कामको खोजीमा विदेश पस्नेमध्ये ७० प्रतिशतभन्दा बढी सम्बन्धित काममा अदक्ष हुन्छन् । विभाग अधिकारीका अनुसार वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सीप सिकाउन अहिले भइरहेका पूर्वाधार पर्याप्त छैनन् । भएका संस्थाले पनि विदेशमा आवश्यक पर्ने सीप नसकेको विभाग अधिकारी बताउँछन् ।
 
विभागका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा पाँच लाख १२ हजार वैदेशिक रोजगारीमा गएकामा ६४ हजार ६ सय मात्र सीप सिकेर गएका छन् ।
 
विदेशमा दक्ष कामदारको माग बढे पनि नेपालमा प्राविधिक सीप सिकेका दक्ष जनशक्ति तयार हुन नसकेको अधिकारीहरुको अनुभव छ । 'स्नातक वा स्नातकोत्तर तहको शिक्षा पूरा गर्दैमा दक्ष भन्न मिल्दैन,' बोर्डका एक अधिकारीले भने, 'जुन कामका लागि जनशक्ति आवश्यक परेको हो । त्यही काम जान्नेलाई मात्र दक्ष भन्न सकिन्छ ।' अचेल विदेशमा सिकर्मी, डकर्मी, प्लम्बर, क्लिनर, वेटर, ड्राइभर, ब्युटिसियन, इलेक्ट्रिसियनको अधिक माग रहेको मेनपावर व्यवसायी बताउँछन् । यस्ता सीप जानेको जनशक्ति मागको तुलनामा कम हुने गरेको छ ।
 
Published on: 16 December 2015 | Nagarik
 

Back to list

;