s

विदेशले बनाएका अनाथ

उमेर त्यस्तै १४ वर्ष हुनुपर्छ । माइक्रो बसको ढोकामा झुन्डिएको ऊ गन्तव्यहरूको सूची चिच्याइरहेको थियो । कतै यात्रु चढ्थे, कतै झर्थे । कुनै बेला उभिने पनि हुन्थे । कुनै बेला सिट खाली देखिन्थे । तर पनि ऊ त्यसरी नै झुन्डिन्थ्यो । उसरी नै कराइरहन्थ्यो ।

झर्ने तरखर गरिरहेको करिब ४० वर्षे यात्रुले १० रुपैयाँको नोट दिँदै भन्यो, 'कार्ड छ ।'

'देखाउनुहोस्', त्यो भाइले हेर्न चाह्यो । उसले दियो । 

'यो कार्डले चल्दैन', भाइले भन्यो, 'पाँच रुपैयाँ थप्नुहोस् ।'

'किन चल्दैन ?' यात्रु गर्जियो । 

'नक्कली हो', उसले सिधै भन्यो ।

'साले,' ऊ हात उज्याउँदै छेउमा पुग्यो, 'स्कुल टेकेको छैन होला, मेरो कार्डलाई नक्कली भन्दोरहेछ ।'

'न हेप्नुहोस् दाइ', उसले भन्यो, 'कार्ड कस्तो नक्कली, कस्तो सक्कली हुन्छ भन्ने बुझ्नेगरी मैले पनि पढेको छु । तपाईं धेरै पढेको मान्छेको यही हो तरिका ?' 

गाडी लोकन्थलीमा रोकियो । खलासी भुइँमा उभियो । त्यो व्यक्ति झरेर उसैलाई कुइनाले ठेल्दै हिँड्यो । रोक्दै भाइले भन्यो, 'खै पाँच रुपैयाँ ?'

उसले फर्किएर उसको कठालामा समात्यो । अनि थर्कायो, 'बढ्ता हुन्छस् ? चुप्प लागेर जान्छस् कि तँलाई यही ढलमा फालिदिऊँ ?' 

अब भने ऊ बोल्न सकेन । डमरु कसैले खोसिदिएर रिसाएको बघिनीजस्तै आँखा तर्दै ऊ हिँड्यो । गाडी पनि अघि बढ्यो । त्यो भाइ भने एक्लै भत्भताउन थाल्यो, 'साले खुब पढेको भनेर फुइँ लाउँछ । त्यसको बाउले जस्तै मेरो बाउले मलाई पढाइदिएको भए म त नक्कली कार्ड बोक्ने थिइनँ नि ।'

'भाइ, तिमीचाहिँ नपढेर किन खलासी भएको नि ?' अघिल्लो सिटको यात्रुले सोध्यो । 

'सुन्नुभएन ?' अलि बाउँठिएर उसले भन्यो, 'बाउले नपढाएर ।'

सोध्ने पनि चुप लाग्यो । 

गन्तव्यमा पुग्न लाग्दा म एक्लो यात्रु बाँकी रहेंँ । ऊ पनि ढोका लाएर सिटमा बस्यो । बाहिर हेरेर टोलाइरह्यो । 

'भाइको घर कहाँ हो ?' मैले सोधें । 

'तराईतिर हो', मतिर नहेरी उसले भन्यो । 

'कुन जिल्ला ?' मैले कुरा गर्न चाहें । 

'धनुषा', बल्ल उसले मतिर हेर्‍यो ।

गाडी रोकियो । झर्ने बेला किन हो कुन्नि उसले मतिर पुलुक्क हेरेर मुसुक्क हाँस्यो, मानौं अघिको रिस मरिसक्यो । 

मैले कुरा बुझिसकेको थिएँ, उसको कुनै गम्भीर कथा हुन सक्छ । भोलिपल्ट ऊ भेटिन्छ कि भन्ने आसले म माइक्रो पार्क छिरेँ । हिजै मैलो देखिने त्यही लुगामा परैबाट चिनियो ऊ । पालो कुरेका करिब दुई दर्जन माइकोक्रो पछिल्लोतिर भाग्यवश भेट्टियो । 

'चिया खान्छौ ?' मैले प्रस्ताव राखेँ । 

उसले पारित गर्‍यो । 

नजिकको पसलमा बसेर मैले भित्री मनको कौतूहल मेट्न चाँहे, 'तिमी नपढेर किन गाडीमा काम गर्न आएको ?' 

ऊ मतिर फर्कियो । बिस्तारो आँखा तल झार्दै कपालदेखि जुत्तासम्म हेर्‍यो । अनि भन्यो, 'कथा लामो छ सर ।' 

मलाई त्यही प्रश्न फेरि सोध्न मन लागेन । तर उसले मेरो हेराइबाट सायद बुझ्यो— म उत्तरको आसमै छु । 

'म सात वर्षको हुँदा मेरो बाबा मलेसिया जानुभयो । घरमा ममी, म र दुइटी बहिनी थियौं । सानी बहिनी त जम्मा एक वर्षकी थिई', ऊ रोकियो । 

'अनि ?' मैले जिज्ञासा राखें । 

'६ वर्षसम्म बाबा घरमा आउनुभएन ।' 

'अनि ?' 

'एक दिन..', ऊ अड्कियो । 

'के भयो ?' मैले सोध्न छाडिनँ । 

'बिहान हामी उठ्दा ममी घरमा हुनुहुन्नथ्यो । कतै जानुभयो भनेर पर्खेर बस्यौं । साँझसम्म पनि आउनुभएन । बरु सिरानमुनि एउटा कागजको टुक्रो भेट्टयिो, त्यसमा मलाई लेख्नुभएको रहेछ, 'तिम्रो बाबा विदेशबाट फर्केर आउनुभएन । कुर्दा-कुर्दा वाक्क भएपछि म अर्कैसँग गएँ । आफ्नो ख्याल गर्नु । बहिनीहरूलाई माया गर्नु । ठूलो मान्छे बन्नु ।' 

'त्यसपछि ?' घाउमा नुन हालेजस्तो मैले कोट्याउन छाडिनँ । 

'हामी तीनैजना रातैभरि रोयौं । बाबाले पनि थाहा पाउनुभएछ क्यारे, तेस्रो दिन आइपुग्नुभयो । मैले सात कक्षा पास गरेको थिएँ । आठमा पढ्न थालेंँ ।' 

ऊ एकछिन रोकियो । फेरि भन्न थाल्यो, 'ममी हिँडेको दुई महिनाजति भएको थियो होला, राति अबेलासम्म बुबा आउनुभएन । हामी नसुती कुरिरह्यौं । दस बजेतिर ढोका ढकढक गर्‍यो । बाबा नै आउनुभएको रहेछ, तर एउटी महिलासँग । पस्दा-पस्दै हामीतिर हेरेर भन्नुभयो, 'अब तिमीहरूकी ममी यही हो ।' उनीचाहिँ हामीसँग बोल्दा पनि बोलिनन् । उसले चियाको घुट्को बडो गाह्रो गरी निल्यो । 

अनि फेरि कुरा जोड्यो, 'केही दिनमै बाबाले अनेक बहानामा हामीलाई पिट्न थाल्नुभयो । स्कुलै छुटाएर काममा पठाउनुभयो । पेटभरि खान पाउने दिन सकियो हाम्रो । हामीलाई कामतिर खेदेर उहाँहरू मीठो-मीठो पकाएर खानुहुन्थ्यो । सानिमाका गाली र दुव्र्यवहार त भनिसक्नु छैन ।' 

आँखा टिलपिल बनाउँदै उसले चियाको अन्तिम घुट्को लियो । 

'यहाँ कसरी आयौ नि ?' मैले सोधें । 

'केही नलागेपछि एकरात मैले घर छाड्ने निधो गरें । बाटा खर्च सुको पनि थिएन । भाग्यवश कोठा बाहिरै बाबाको सर्ट छुटेको रहेछ । छामेको हजार रुपैयाँ भेट्टाएँ । त्यही लिएर काठमाडौं आई यस्तो काममा लागें ।'

वैदेशिक रोजगारका कारण बढेको पारिवारिक विखण्डन र त्यसले पारेको धेरै बालबच्चाको बिचल्ली सम्झेर म केही बेर घोत्लिएँ । उसको गाडी पालोको नजिक पुगिसकेछ । जान हतारियो । जाँदा-जाँदै अलि आवेग मिश्रति भावुक स्वरमा भन्यो, 'मेरा बहिनीहरूलाई तिनीहरूले लुछिसके होलान् । पारा मिलाएर चाँडै ल्याउनुछ यतै ।' 

Published on: 9 June 2014 | Kantipur

Back to list

;