s

विराटनगर जुटमिलका कर्मचारी पाँच वर्षपछि काममा फर्किए

पाँच वर्षसम्म बन्द भएको विराटनगर जुटमिल फेरि सञ्चालनमा आएपछि मजदुर रोजगारीमा फर्किएका छन्। २०६५ सालमा बन्द भएको मिलले यही पुस ६ गतेदेखि फेरि व्यावसायिक उत्पादन सुरु गरेपछि पाँच वर्षसम्म बेरोजगार बनेका मजदुर पुन: काममा फर्केका हुन्।

त्यति बेला एक हजार दुई सय मजदुरलाई उपदानलगायतको सुविधा दिएर बिदाइ गरिएको थियो। सरकारले ५५ करोड रुपैयाँ निकासा गर्दै पे अफ गर्दै मिललाई शून्य समस्यामा झारेर मजदुरलाई बिदा गरेको थियो। अहिले दैनिक चार सय ६० जना मजदुरले मिलमा काम पाएका छन्। तीमध्ये अधिकांश पुराना छन्। भारतको विनसम इन्टरनेसनल लिमिटेडले बहालमा लिएर मिल सञ्चालन गरेको मिलमा पुराना मजदुरलाई नै काम दिइएको छ।

विगतमा पनि जुटमिलमा मजदुरी गरेका विराटनगर रानीका पृथ्वीचन्द्र साहले भने, ‘मिल बन्द भएपछि परिवार के गरेर चलाउने भन्ने पीर थियो। फेरि चल्न थालेपछि भने काम पाइयो।’ आफूजस्तै धेरै पुराना मजदुर काममा फर्किएको साहले बताएका छन्।

अर्का मजदुर राजु राईले पनि मिल सञ्चालनमा आएपछि धेरै मजदुरको जीवनयापनमा सहज हुने बताउँदै भने, ‘अब अझै राम्रो होला भन्ने आशा छ।’ पहिले काम गरेका मजदुरले गुमिसकेको काम पाउनु र मिललाई नयाँ व्यवस्थापनबाट सञ्चालन गर्नुले आफूजस्ता धेरै मजदुरका परिवारमा समेत खुसी छाएको राईले बताएका छन्।

विगतमा पूर्ण क्षमतामा सञ्चालनमा हुँदा जुटमिलमा दुई हजार मजदुरले काम पाएका थिए।

भारतीय कम्पनी विनसमले सरकारलाई बर्सेनि एक करोड ३५ लाख रुपैयाँ बुझाउने गरी २५ वर्षका लागि मिल भाडामा लिएको हो। विनसम लिमिटेडका अध्यक्ष प्रकाश चौरडियाले मेसिनलगायत प्राविधिक पक्षको मर्मत पूरा भएपछि मजदुर संख्या बढाइने जानकारी दिए।

मिलबाट हाल दैनिक स्पिनिङतर्फ १५ मेट्रिक टन र विभिङतर्फ १२ मेट्रिक टन उत्पादन भइरहेको छ। उत्पादन क्षमता बढाउने लक्ष्य रहेको चौरडियाले बताए। उनले भने, ‘पूर्ण क्षमतामा मिल सञ्चालन हुन अझै केही समय लाग्छ।’

विसं १९९४ मा स्थापना भएको विराटनगर जुट मिल मुलुककै जेठो उद्योग हो। ६० बिघा क्षेत्रफलमा उद्योग तथा मजदुरको आवासगृहसमेत रहेको मिल क्षेत्रमा आफ्नै विद्युत् टर्बाइन हाउस पनि छ। नजिकै जोगबनी रेलवे स्टेसनलाई जोडने रेलवे यार्ड पनि छ। मिलको सञ्चालक कम्पनीले भने नेपालको लोडसेडिङका कारण उत्पादनमा समस्या हुने भएकोले विशेष व्यवस्था गर्नुपर्ने माग गरेको छ। विनसमका निर्देशक छत्रसिंह थाजडेले भने, ‘मिललाई आवश्यक पर्ने दैनिक पाँच वाट विद्युत् उपलब्ध गराउन हामीले सरकारको ध्यानाकर्षण गरेका छौं।’

मिल सञ्चालन समितिका अध्यक्ष अशोक पोख्रेलले जुट मिलले अहिले क्षमताको एकतिहाइ उत्पादनमात्र गरिरहेको बताए। विनसमले भारतको विहार र पश्चिम बंगालमा पनि तीनतीनवटा जुट मिल सञ्चालन गर्दै आएको छ। विहारको पूर्णियामा जुट पार्कको अवधारणाअनुसार उद्योग सञ्चालन भइरहेको अध्यक्ष चौरडियाले जानकारी दिए।

Published on: 29 December 2013 | Annapurna Post

Back to list

;