s

‘कोमा’मै सकियो सरिताको सर्वस्व

सुनसरीको इनरुवा नगरपालिका–४ का एक पुरुष बेहोस अवस्थामा रहेको नौ महिना भएको थियो। मूर्च्छाबाट ब्युँझिने आशामा परिवार प्रतीक्षारत रहे पनि उनी फर्केनन्।

‘सधैं एकोहोरो हेरिरहनुहुन्थ्यो, कहिले बरर आँसु खसाल्नुहुन्थ्यो,’ पतिको स्याहार गर्दाको क्षण सम्झँदै सरिता चौधरीले नागरिकसँग भनिन्, ‘वरिपरि मान्छे बसे पनि म जता जान्थें, त्यतै हेर्नुहुन्थ्यो। मलाई हेर्दाहेर्दै उहाँको सास गयो।’

४० वर्षीय दिनेशकुमार चौधरी परिवारको पेट पाल्न भनी बहराइन बसेको तीन वर्षपछि मूर्च्छित (कोमा) अवस्थामा गए। मूच्र्छित अवस्थामा भएका पनि कतिपय फर्किन्छन् भन्ने आशा थियो परिवारलाई। उनी खाडीमा चार महिना र नेपालमा पाँच महिना यही स्थितिमा बाँचे।

‘हेर्दाहेर्दै कतिबेला सास रोकियो थाहै भएन,’ सरिताले भिजेको स्वरमा भनिन्, ‘अरूले उहाँ अब यो संसारमा रहनुभएन भन्दा मैले मान्नै सकिनँ। मानौं पनि कसरी? सानो छोरा र उहाँलाई एकैचोटि खाना खुवाउँथें। भर्खर जन्मिएको बच्चाभन्दा चर्को हुनुहुन्थ्यो उहाँ। बच्चा भोक लागेपछि रुन्थ्यो। तर उहाँ एकोहोरो खाना खुवाए पुग्ने थियो।’

दिनेशले कम्पित स्वरमा भनिन्, ‘घरभरि मान्छे नै मान्छे थिए। तर मलाई उहाँकै खाँचो र कमी थियो। सबै वरिपरि हुनु र उहाँ नहुनु पागलपनले मलाई घेरिरहन्थ्यो। उहाँलाई अप्ठेरो हुँदा मेरो सेवा पाउनुभयो। तर मलाई जिउँदै आगाको भुंग्रोमा हालेर जानुभयो।’

विवाहको २०औं वर्षमा उनले सरितालगायत परिवारलाई छाडेर गए। १० वर्षको छोरा साथमा छ। गत मंसिर २७ गते उनको मृत्यु भएको थियो। वैदेशिक रोजगार बोर्डको अभिलेखमा भने अझै उनी मूर्च्छित अवस्थामा रहेको उल्लेख छ।

बहराइनमा सिसा कम्पनीमा काम गर्दागर्दै रक्तचाप बढेका कारण दिनेश अस्पताल पुगेको सरिताले बताइन्। नेपालमा हुँदा केही नभएका उनी एकाएक बिरामी भएका थिए। बिरामी भएर अस्पतालको अति सघन उपचार कक्षमा रहेको खबर उनले पतिका साथीमार्फत पाएकी थिइन्।

दिनेश कोमामा जानुपूर्व परिवारका सबै सदस्यसँग कुरा गरेको पल स्मरण गर्दै सरिता भन्छिन्, ‘शुक्रबार उहाँको छुट्टी थियो। पालैपालो सबैसँग कुरा गर्दै आफ्नो ख्याल गर्नु भन्नुहुन्थ्यो रे। उहाँले परिवारलाई धेरै माया गर्नुहुन्थ्यो। अरूका पति विदेश गएर फोन गर्दैनन् भन्थे तर हाम्रो हरेक दिन कुरा हुन्थ्यो। सँगै बाँच्ने र मर्ने कसम खाए पनि भगवान्ले धेरै अघि लैजानुभयो। हाम्रो साथ धेरै लामो रहेनछ।’

‘शनिबारको दिन थियो त्यो, काममा जान्छु। भरे आएर कुरा गरौंला भनेको पतिको एक्कासि त्यस्तो खबर सुन्नुपर्‍यो। उहाँ विदेशको अस्पतालमा, आफू स्वदेशमा, के गर्न सकिने रहेछ र? रुनुबाहेक। खबर मात्रै आउँथ्यो। भिडियो कल गरेर हेर्न मन थियो। त्यो पनि पूरा हुन मुस्किल भयो। बल्लतल्ल चार महिनामा दुई पटक भिडियो कलमार्फत उहाँलाई देख्न पाउँदा मनै भक्कानियो,’ उनले भनिन्।

दिनेशका परिवारजन वैदेशिक रोजगार बोर्ड पुगी उजुरी हालेपछि बहराइनस्थित नेपाली राजदूतावासको सहायतामा चार महिनामा दुईपटक ती दुईबीच भिडियो कलमा हेराहेर मात्रै भएको थियो। सरिता पतिलाई हेरेर रुन्थिन्। त्यहाँ बोल्नसक्ने अवस्था थिएन। दिनेश रोगले बहराइनमा होसवास गुमाएर कोमामा थिए भने दिनेशलाई देखेर सरिता आफैंले आफैंलाई बेहोसी अवस्थामा पुर्‍याएकी थिइन्।

दिनेश स्वदेश फर्किएपछि हरेक दिन साथमै रहेर स्याहार गरेको उनले सुनाइन्। वैदेशिक रोजगार बोर्डबाट सात लाख रूपैयाँ प्राप्त भएकामा उपचार खर्चमै सकिएर पतिको मृत्यु भएको उनी बताउँछिन्, ‘जो हुनुपर्ने उहाँ नै नहुँदा पुरै जिन्दगी अन्धकारले झेलिनेरहेछ। पैसा त क्षणिक हो, आज सकियो भोलि कमाइन्छ। मलाई कस्तो भएको होला? पैसा, मान्छे दुवै छैनन्। साथमा एउटा सानो छोरा छ। त्यसकै मुख हेरेर बाँचेकी छु।’

दिनेश वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया १३ वर्ष बसेपछि बहराइन पुगेका थिए। साउदी अरेबियाबाट पठाएको पारिश्रमिकले सुनसरीमा जग्गा किनेसँगै घर बनाएको सरिताले बताइन्। ‘उहाँ साह्रै मेहनती हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘सबै पैसा मलाई नै पठाउनुहुन्थ्यो। त्यो पैसाले जग्गा र घडेरी जोडेर घर बनाएँ। त्यही घरमा उहाँको बास भएन। उहाँ सधैं बेहोसमा हुनुहुन्थ्यो। म बोलिरहन्थें, उहाँ एकोहोरो सुनिरहनुहुन्थ्यो। त्यही नै थियो हाम्रो कुराकानी। कति सुन्नुभयो कति बुझ्नुभयो, केही थाहा छैन।’

चौधरी परिवारका जेठा छोरा दिनेशको आँखाबाट झरेको आँसुको मूल्य बुझ्थिन् सरिता। आपसमा नबोल्दा नबोल्दै टाढा भए पनि उनीहरूको एकअर्काको आँखाको भाकामा बोली, माया, स्नेह र बुझाइ थियो। दिनेशको मायालाई सम्हालेर राखेकी सरिता अहिले छोरा पढाउन सिलाइबुनाइको काम गरिरहेकी छिन्।

उनको मानसपटलमा पतिले सधैं राज गरेका छन्। आफ्नो जीवनको अन्त्य नभएसम्म पतिलाई भुल्न नसक्ने उनी बताउँछिन्। बहराइनबाट मूच्र्छित अवस्थामै फर्किएका पतिको ‘ब्रेन ह्यामरेज’ भएको अस्पतालको कागजातसमेत रहेको उनी बताउँछिन्।

वैदेशिक रोजगारीले चौधरीको परिवारमा ठूलो असर पारेको छ। बित्ने त बितेर गए तर बाँच्नेलाई सास्ती। अहिलेसम्म सरिताको मात्रै नभएर आमाबुबाको पनि आँखा ओभाएका छैनन्। पुत्र र पतिको सम्झनामा चौधरी परिवारको आँखा रसाइरहेका छन्।

रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी बिदेसिएका नेपालीमध्ये कामबाट फर्किएर सुतेकै अवस्थामा मृत्यु हुने, कडाखालको रोग लाग्ने र बिरामी हुने, कामकै बेला अंगभंग हुनेको संख्या बढेसँगै होस गुमाएर र कोमामा गएर फर्कनेको संख्या पनि उस्तै छ।

होस गुमाएर फर्किएका तथा कोमामा भएका बिरामीको यकिन तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छैन। होस गुमाएका तथा कोमामा गएका व्यक्तिको संख्या अंगभंग तथा बिरामीको तथ्यांकमा राख्ने गरेको बोर्डले जनाएको छ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार वैदेशिक रोजगारीमा कमाउन जाने युवा ठूलो अपेक्षा बोकेर जाने गरेका हुन्छन्। अहिले युवाहरू स्वदेशमा मेहनत कम गर्छन्। विदेशमा ‘जे पर्छ सोही टर्छ’ भन्दै विदेश नै जान चाहन्छन्। यस्तो युवा पुस्ताको जमात ठूलो रहेको उनले बताए।

कम्पनीमा काम गर्दै गरेको अवस्थामा बिरामी भएपछि दिनेशमा मानसिक समस्या आएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ। बहराइनमा बिरामी भएर कोमामा पुगेका उनी स्वदेश फर्किएपछि उनको परिवारले कल्याणकारी कोषबाट सात लाख रूपैयाँ प्राप्त गरेको बोर्डको अभिलेखमा छ। अब विदेश जानुपूर्व वा विदेशमा पुगेका युवाका लागि बोर्डले मनोसामाजिक परामर्शकर्ताका रूपमा एक कर्मचारी खटाउने पनि उनले बताएका छन्।

देशमा रोजगारीका अवसर नभएपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका कसैका छोराछोरी, भाइबहिनी, पतिपत्नी र आमाबाबुले अकालमा ज्यान गुमाउनुका साथै होस गुमाएर फर्किनुपरेको छ। उनीहरू परिवारको आर्थिक भार सम्हाल्न वैदेशिक रोजगारमा पुगेका हुन्छन्।

वर्षौंवर्ष बिदेसिएका युवा परिवारसँगको मीठो कुराकानीबिना नै मूच्र्छित अवस्थामा फर्किनुपरेको हुन्छ। आर्थिक अवस्थाकै कारण बिदेसिएका थुप्रै युवाले जटिल रोग लागेर, अंगभंग भएर, मृत्यु तथा कोमामा गएरै स्वदेश फर्किनुपरेको छ।

वैदेशिक रोजगारीका क्रममा गएका कामदार कोमामा पुगेका, होस गुमाएका, क्यान्सर, सडक दुर्घटना र मिर्गौला फेलजस्ता विविध रोग लागेको तथ्यांक बिरामी तथा अंगभंगमा समावेश हुने वैदेशिक रोजगार बोर्डले बताएको छ। कमाउन विदेश गएका नेपाली युवा कोमामा गएका र होस गुमाएर फर्किएको छुट्टै तथ्यांक नराखिएको बोर्डले जानकारी गराएको छ।

Published on: 16 April 2024 | Nagarik

Link

Back to list

;