s

कोरोना महामारीले बन्द श्रम स्वीकृति पुनः सुचारु

कोरोना भाइरसको महामारीका कारण बन्द श्रम स्वीकृति पुनः सुचारु गरिएको छ। वैदेशिक रोजगार विभागले सोमबारदेखि पुनः श्रम स्वीकृति दिन थालेको हो। वैदेशिक रोजगारीबाट बिदा वा अन्य कारणले घर आएकालाई अर्कोपटक रोजगारीमा जान परे पुनः श्रम स्वीकृति दिने गरिन्छ। 

खाडी, मलेसिया लगायतका मुलुकमा रोजगारीमा जाँदा विभागले दुई वर्षको श्रम स्वीकृति दिने गर्छ। असार ७ गते कोरोना भाइरस व्यवस्थापन केन्द्रले पुनः श्रम स्वीकृति सुचारु गर्न निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएपछि पुनः श्रम स्वीकृति सुचारु भएको हो।  मन्त्रालयका सहसचिव सुमन घिमिरेका अनुसार पुनः श्रम स्वीकृति काठमाडौंस्थित वैदेशिक रोजगार कार्यालय र सबै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट लिन सकिने जानकारी दिए। 

कोरोना भाइरसको महामारीपछि फागुन २७ देखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो। वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति सुचारु गरिए पनि अन्तर्राष्ट्रिय हवाई उडान भने बन्द गरिएका छन्। यतिखेर विदेशमा रोजगारी गुमाएकालाई उद्धार गर्ने काम भइरहेको छ। उद्धारका लागि स्वदेशी र विदेशी हवाई कम्पनीले चार्टर्ड उडान गरिरहेका छन्। 

नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएकाले पुनः श्रम स्वीकृति लिएका कसरी उड्छन् भन्नेबारे यकिन छैन। नयाँ श्रमिकले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन्। सरकारी अधिकारीहरूले वैदेशिक रोजगारीलाई निरुत्साही गर्ने बताउँदै आए पनि अन्तर्राष्ट्रिय हवाई उडान सुचारु नहुँदै र गन्तव्य मुलुकको अवस्था सामान्य नहुँदै पुनः श्रम स्वीकृति दिन थालिएको हो।

Published on: 3 July 2020 | Nagarik

Link

Back to list

;