s

दैनिक डेढ अर्ब रेमिटेन्स

विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ५२ करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ खर्ब ७५ अर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ।

पोहोर यही अवधिमा दैनिक औसत १ अर्ब ४७ करोड रुपैयाँ रेमिटेन्स आउँथ्यो। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब ६५ अर्ब रुपैयाँ भित्रिएको थियो।

गत वर्षको ६ महिनामा ३४ प्रतिशतले बढेको रेमिटेन्स यो वर्ष भने ३.९ प्रतिशतले मात्र बढेको छ। अवैधानिक बाटो (हुन्डी) बाट रकम आएकाले औपचारिक माध्यमबाट आउने रेमिटेन्समा सुस्तता देखिएको केन्द्रीय बैंकका अधिकारी बताउँछन्।
दैनिक एक हजार ५ सय नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ७१ हजार ३ सय ३९ नेपाली रोजगारीका लागि विदेश गएका छन्। 

सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ। रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने रेमिटेन्स भित्र्याए पनि त्यस्तो रकम पुँजी निर्माणमा भने खर्च हुन सकेको छैन। कामदारबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत हिस्सा दैनिक उपभोग्य वस्तु र मनोरञ्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ। रेमिटेन्सबाट प्राप्त हुने कुल रकमको २.४ प्रतिशत अंशमात्र पुँजी निर्माणमा आउने गरेको छ। तर वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर भने सुधि्रएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेले ऋण तिर्न कुल रेमिटेन्सको ७ प्रतिशत रकम खर्च गर्ने र ३.५ प्रतिशत बालबालिकाको शिक्षामा खर्च हुने गरेको अध्ययनले देखाएको छ।


सर्वेक्षणअनुसार ५५.८ प्रतिशत घरपरिवारले रेमिटेन्स प्राप्त गर्छन्। गरिबी न्यूनीकरणमा रेमिटेन्सको योगदान महत्र्वपूर्ण रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले बताए।

बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनुमा रेमिटेन्सको योगदान रहेको बैंकर बताउँछन्। हाल नेपालमा ४९ भन्दा बढी रेमिटेन्स कम्पनी र ३० वाणिज्य बैंकले रेमिटेन्स भित्र्याइरहेका छन्। तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ। प्रभुलगायत कम्पनीहरुले बढी रेमिटेन्स भित्र्याउने गरेका छन्। 

ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका आइएमई प्रमुख चन्द्रप्रसाद ढकालले आफ्नो कम्पनीले ३० देखि ४० प्रतिशत रकम विदेशबाट भित्र्याइरहेको बताए। उनले भने, ‘आइएमईलाई सरकारले अघिल्लो वर्ष सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने कम्पनीको रुपमा घोषणा पनि गरेको थियो।'
औपचारिक रेमिटेन्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो। यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा पुगेको छ। कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुगेको छ। रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ। रेमिटेन्स कम्पनीमा आइएमई र बैंकमा हिमालयनलगायत बैंक सुरुदेखि सेवा दिनेमा पर्छन्।

हिमाल रेमिट स्थापना भएको करिब ११ वर्ष भएको छ। विदेशमा नेटवर्किङसँगै हिमाल रेमिटले देशको ७५ जिल्लामा सेवा उपलब्ध गराउने सञ्जाल विकास गरेको छ। विदेशमा पनि कामदारका मुख्य गन्तव्य खाडी, मलेसिया, हङकङ, कोरिया, जापानलगायत देशमा सञ्जाल विस्तार गरिसकेको छ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गत आर्थिक वर्ष एक अर्ब डलर (करिब ९७ अर्ब रुपैयाँ) रेमिटेन्स भित्र्याउने लक्ष्य प्राप्त गरेको बताए। 

पछिल्लो समय रेमिटेन्स कारोबार पनि बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ। पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ। विशेषगरी चाड वर्षमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ। 

असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले त्यो बेला रेमिटेन्स बढ्ने अर्थविद बताउँछन्।
हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्तिकै हाराहारीमा रहेको अनुमान छ। गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने रोकिएको छैन। 
बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ।

Published on: 6 March 2015 | Kantipur

Back to list

;