s

डीडीसी महाप्रबन्धकलाई कर्मचारीद्वारा प्रवेश निषेध

अन्‍नपूर्ण

दुग्ध विकास संस्थान(डीडीसी) का कर्मचारीले संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिंहलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न रोक लगाएका छन्। महाप्रबन्धक सिंहले संस्थानलाई साढे आठ करोडभन्दा बढीको घाटा पुर्‍याएको भन्दै उनीमाथि कारबाहीको माग गर्दै कर्मचारीले सोमबारदेखि अनिश्चितकालका लागि कार्यालयमा प्रवेश गर्न रोक लगाएका हुन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन नेपाल, कर्मचारी संघ र कर्मचारी संघ नेपालले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेर महाप्रबन्धकलाई कार्यालयमा प्रवेश गर्न दिएका छैनन्।

कर्मचारी संघ नेपालका अध्यक्ष बलराम फुयाँलका अनुसार महाप्रबन्धक सिंहले विभिन्न शीर्षकमा संस्थानलाई करोडौं रुपैयाँबराबरको घाटा पुर्‍याएको लिखित उजुरी विभिन्न निकायमा दिए पनि सरोकारवालाले कारबाही गरेका छैनन्। युनियनहरूले सरकारले महाप्रबन्धक सिंहलाई नहटाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

‘आवश्यक प्रमाणसहित सबै कर्मचारी युनियनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कृषि विकास मन्त्रालयमा उजुरी दिए पनि हालसम्म कुनै सुनुवाइ भएन’, अध्यक्ष फुयाँलले भने, ‘यसले गर्दा महाप्रबन्धकले भ्रष्टाचार गर्न थप हौसला पाएका छन्।’

कर्मचारी संघका अध्यक्ष गणेश यादवका अनुसार घाटामा गइरहेको संस्थानलाई धराशायी हुनबाट जोगाउन पटकपटक कृषि विकासमन्त्री टेकबहादुर घर्ती र सचिव जयमुकुन्द खनाललाई ध्यानाकर्षण गराइए पनि कुनै सुनुवाइ भएको छैन।

महाप्रबन्धक सिंहले खुमलटारस्थित कारखाना भवन बनाउन नक्सा तयार पार्ने राष्ट्रिय इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडलाई १५ करोडको लागत इस्टिमेट बनाउन लगाएर २१ लाख रुपैयाँ भुक्तानी दिएको अध्यक्ष यादवले बताए।

यसअघि सिंहले सोही भवनका लागि ३२ करोडको इस्टिमेट बनाउन लगाएर एक करोड ४४ लाख रुपैयाँ उक्त कन्सल्टेन्सीलाई भुक्तानी दिन लेखापाललाई दबाब दिँदै आएका थिए।

युनियनहरूले महाप्रबन्धक सिंहले साढे आठ करोडभन्दा बढीको घाटा संस्थानलाई लगाएको आरोप लगाएका छन्।

चितवन मिल्कलाई कच्चा दूध दिएर प्राप्त गर्नुपर्ने धूलो दूध र मख्खन हालसम्म डीडीसीले प्राप्त गर्न सकेको छैन। ती दुवै पदार्थ डीडीसीले प्राप्त गर्न नसक्दा अहिले ६ करोडभन्दा बढीको घाटा डीडीसीले व्यहोर्न बाध्य भएको कर्मचारी बताउँछन्। यस्तै सुजल डेरीबाट साँवाब्याज गरेर एक करोडभन्दा बढी रकम असुलउपर गर्नसमेत महाप्रबन्ध सिंहले तदारुकता नदेखाएको कर्मचारी युनियनले आरोप लगाएका छन्।

Published on: 1 October 2013 | Annapurna Post

Back to list

;