s

देशको चालिस प्रतिशत वडामा कृषि कामदार अभाव

काठमाडौँ, वैशाख १२ गते । बढ्दो सहरीकरण, न्यून ज्याला, कडा परिश्रम, वैदेशिक रोजगारीको आकर्षण जस्ता विभिन्न कारणले कृषिमा कामदारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा कामदारको अभाव मधेश प्रदेशमा देखिएका छन् भने सबैभन्दा कम कामदारको अभाव कर्णाली प्रदेशमा देखिएको छ । तथ्याङ्क कार्यालयले विवरण सङ्कलन गरिएको सातै वटा प्रदेशको वडामध्ये दुई हजार ४१७ अर्थात् ४० प्रतिशत वडामा कामदारको अभाव देखिएको छ ।

मधेश प्रदेशमा गणना गरिएका वडामध्ये ७१३ अर्थात् ६२ प्रतिशत वडामा कामदारको अभाव देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि कामदारको सबैभन्दा कम अभाव हुने गरेका वडा रहेको प्रदेशमा कर्णाली प्रदेश रहेको छ । त्यहाँ १३ प्रतिशत अर्थात् ८३ वटा वडामा मात्र कामदारको अभाव देखिएको बताइएको छ । कोशी प्रदेशका ४८५, बागमती प्रदेशका ३९७, गण्डकी प्रदेशका ३०५, लुम्बिनी प्रदेशका ३३७ र सुदूरपश्चिम प्रदेशका ९७ वटा वडामा कृषि कामदारको अभाव रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार कृषिमा कामदारको अभाव पनि एउटा समस्या रहेको बताउनुभयो । बढ्दो सहरीकरण तथा वैदेशिक रोजगारीप्रतिको आकर्षणले गर्दा कृषिमा कामदारको अभाव देखिएको बताउनुभयो । कामदारको अभावका कारण कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिएको बताउँदै उहाँले यान्त्रिकीकरणका कारण कामदार अभावलाई केही हदसम्म आपूर्ति गरिरहेको बताउनुभयो । कामदारको अभावका कारण कृषिमा मसिन तथा औजारको प्रयोग हुन थालेको बताउँदै उहाँले कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड दिनै पर्ने बताउनुभयो ।

अरू क्षेत्रभन्दा कृषि क्षेत्रमा काम गर्ने कामदारको ज्याला कम रहेको पाइएको छ । त्यसमा पनि महिला र पुरुष कृषि कामदारको ज्याला पनि फरक छ । पुरुषको ज्यालाभन्दा महिलाको ज्याला कम रहेको पाइएको छ । तथ्याङ्क कार्यालयले सङ्कलन गरेको विवरण अनुसार नेपालमा कृषि कामदारको औसत ज्यालादारी महिला कामदारको ५३१ रुपियाँ र पुरुष कामदारको ६६५ रुपियाँ रहेका छन् । सबैभन्दा बढी ज्याला बागमती प्रदेशमा दिएको छ । त्यहाँ महिला कृषि कामदारले औसतमा दैनिक ५३१ रुपियाँ पाएका छन् भने पुरुषले ६६५ रुपियाँ पाएका छन् । सबैभन्दा काम ज्याला मधेश प्रदेशका कृषि कामदारले पाएका छन् । कृषिमा सबैभन्दा बढी उत्पादन गर्ने मधेश प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७ रुपियाँ ज्याला पाएका छन् । कोशी प्रदेशका महिला कामदारले ४७७ र पुरुषले ५५७, गण्डकी प्रदेशका महिला कामदारले ५५० र पुरुषले ८०८ रुपियाँ ज्याला पाएका छन् । त्यस्तै लुम्बिनी प्रदेशका महिला कामदारले ५११ रुपियाँ र पुरुष कामदारले ६२१ रुपियाँ र सुदूरपश्चिम प्रदेशका महिला कामदारले ५३८ र पुरुष कामदारले ६०१ रुपियाँ ज्याला पाएको तथ्याङ्क कार्यालयको विवरणमा उल्लेख छ ।

Published on: 24 April 2024 | Gorkhapatra

Link

Back to list

;