s

दुई छोरी र आमा बेच्नेलाई ३० वर्ष कैद

जिल्ला अदालत नुवाकोटले दुई नाबालिकासहित आमालाई बिक्री गरेको अभियोगमा तीन जना आरोपीलाई ३०/३० वर्षको कैद र जरिवाना गरेको छ ।

दुईवर्ष अघि दुई नाबालिकासहित युवती बेचविखनमा संलग्न उर्लेनी ९ का मनोज परियार, शिखरबेसी ३ का कान्छा भन्ने रवि नेपाली र बसन्त परियार नेपाली विरुद्ध अदालतले यस्तो फैसला गरेको अदालतका श्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलाशले बेचबिखनमा संलग्न तीन कैद र जनही २ लाख ५० हजार रुपैयाँ जरिवाना गर्नुका साथै पीडितलाई जनही १ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

उनीहरुले नर्जामण्डपकी २६ वर्षीया महिला र उनकी ६ र ८ वर्षका दुई छोरीलाई २०६८ चैत १२ गते भारत पुर्‍याएर बिक्री गरेका थिए ।

पीडित महिलाले भारतबाटै माइतीमा फोन गरी दलालको विवरण दिएपछि युवतीका दाजुले २०६९ भदौ ९ गते जाहेरी दर्ता गराएका थिए । युवतीको दाजुको जाहेरीको आधार पीडकहरु पक्राउ परि कारबाही अघि बढाइएको थियो । पीडित युवती कोठीबाट भागेर २०६९ माघमा नेपाल आई नुवाकोट अदालतमा बयान प्रमाणित गरेकी थिइन् ।

यो फैसला नुवाकोटको मानव बेचविखन तथा ओसारपसारको घटनामा अहिलेसम्मको सबैभन्दा ठुलो सजाँय हो ।

Published on: 22 March 2014 | Annapurna Post

Back to list

;