s

घर फर्कंदा लुटियो

दसैं-तिहारमा घर र्फकन नसकेकाको समेत पैसा बोकेर घर आउँदै गरेका डोटी, सलेना बिष्टगाउँका चक्र बिष्टको ४ लाख बाटामै लुटिएको छ । धनगढीबाट अछाम जान बस चढेका बिष्ट कैलालीको अत्तरिया बसपार्कमा अघिल्लो साता लुटिएका हुन् । भारतको जोधपुरमा काम गर्ने बिष्ट श्रीमती र भान्जीलाई साथमा लिई दसैं मनाउन घर र्फकेका थिए । भारतीय बाटाभरि सकुशल रहेका बिष्टले आफ्नै देशमा पुगेपछि सुरक्षा सतर्कता अपनाउन नसक्दा लुटिन पुगेको अत्तरिया इलाका प्रहरीका निरीक्षक कुलदेव चन्दले बताए । 

उनका अनुसार बिष्टले आफ्नो मात्रै नभएर दसैंमा घर र्फकन नसकेका छिमेकीले पठाएको रकमसमेत बोकेका थिए । उनी धनगढीको अछाम होटलमा ४ लाख भारु सटही गरी बेलुका ७ बजेको रात्रि बसमा गन्तव्यतर्फ लागेका थिए । धनगढी-साँफेबगर चल्ने बसमा बिष्टले आफनो धनगढीदेखि यात्रा सुरु गरेका थिए । अत्तरिया बसपार्कमा करिब ४५ मिनट रोकिँदा बिष्टले पैसा बोकेको झोला श्रीमतीको हातमा दिँदै बसबाहिर निस्केका थिए । श्रीमतीले आफूसँग राखेको पैसाको झोला हराएको पत्तै पाइनन् । बिष्टले जब श्रीमतीसँग झोलाको बारेमा सोध्दा थाहा भयो झोला कसैले उठाएछ,' प्रहरी निरीक्षक चन्दले भने, 'त्यसपछि प्रहरीलाई पुगेको खबरले बसको खानतलास र शंकास्पद व्यक्तिको तलास गरी पैसा खोजी गर्ने काम गर्दै छौं ।'

प्रहरी निरीक्षक चन्दले लामो रुटको बसमा त्यति ठूलो रकम लैजानु र झोला लुटिनेप्रति सतर्क नहुनुको कारण लुटिएको बताए । उनले बस धनगढीबाट अत्तरियासम्म पुग्दा बसमा कोही नयाँ यात्रु नबसेको र अरूको समेत पैसा बोकेर आएका स्वयम् बिष्टप्रति शंका गर्न सकिने ठाउँ रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।

Published on: 23 September 2014 | Kantipur

Back to list

;