s

घरघरमा ताला, खाली हुँदै गाउँ

बाजुरा — खप्तड छेडेदह गाउँपालिका–१ मा रहेको पिउसे खोला तरेर दम्स्याइलो उकालो कटेपछि धमेनी गाउँको डाँडामा पुगिन्छ । वडाको केन्द्र रहेको यही डाँडाबाट देखिन्छ, काँडागाउँको मनोहर दृश्य । गाउँ पसेर स्थानीयको खैखबर बुझ्दा थाहा हुन्छ– दृश्यमा देखिएजस्तो सुन्दर छैन गाउँ । किनभने, यहाँका अधिकांश घरमा ताल्चा झुन्डिएका छन् । जुन घरका मूल ढोका खुला छन्, तिनमा वयोवृद्ध बाबुआमा कसैको पर्खाइमा बसिरहेजस्तो देखिन्छ ।

गत साता चौखुणा हुँदै थलबाडा गाउँ पुगेर चार/पाँच बन्द घर छिचोलिसकेपछि घरको आँगनमा भेटिए एक वृद्ध । बिरामीजस्ता देखिने उनी दुई हातको सहारामा टाउको अड्याएर घाम तापिरहेका थिए । बिरामीजस्ता देखिने उनी कुराकानी गर्न सक्ने अवस्थामा थिएनन् ।

अलिक पल्तिर धारा नजिकैको एक घरको खुड्कुली (घरभित्र जाने ढुंगाको सिंढी) मा उभिएकी एक महिला भेटिइन् । उनको नाम माङली रोकाया रहेछ । तर, उनलाई आफ्नो उमेर थाहा थिएन । केही प्रश्न सोधेपछि उनले भनिन्, ‘क्या दिन्या हौ र ? खोजीनीति अर्दा छौ ?’ तीन छोरा र एक छोरीकी आमा उनले १० वर्ष उमेरको कान्छो छोरासहित तीनै छोरा र छोरी भारत गइसकेको सुनाइन् । घर भएमा श्रीमान् पनि १० वर्षअघि भारतमा काम गर्ने क्रममा सवारी दुर्घटनामा परेर फर्केका रहेछन् । माङलीले छोराछोरी सबैले घर छोडेपछि चुलोचौकोदेखि खेतीपाती, गाईबस्तु र घर व्यवहारको सबै भार आफ्नै थाप्लोमा परेको सुनाइन् ।

छोराछोरी आफूसँग नहुँदा र भर पर्न नसकिने श्रीमान्सँग समय बिताउनु पर्दा उनी छटपटीमा थिइन् । भनिन्, ‘चेली (छोरी) र नातिको झिक्कै सौराई (धेरै माया) लाग्दो छ । गरिपले सौराई मानीकन क्या अर्नु ?’ छोराहरूले दुई–चार महिनाको अन्तरालमा दिल्लीबाट फर्किने छिमेकीको हातमा दुई–चार हजार पठाइदिने रहेछन् । माङलीसँग कुरा गरेर थोरै उकालो लागेपछि भेटिइन्, ५० वर्षकी अजु रोकाया । घरमा कोको हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘को हुँदा हुन्, दुई बड्डाबड्डी (बुढाबुढी) मात्रै छौं ।’

उनका दुई छोरा र दुई छोरीमध्ये तीन जनाको बिहे भइसकेको रहेछ । जेठो छोरा पदम बुहारी र नातिसहित दिल्लीमै बस्ने रहेछन् । कान्छो छोरा कमल धनगढीमा अर्काको घरमा काम गर्दै पढिरहेका छन् । श्रीमान् खड्कको आन्द्राको अप्रेसनपछि घरमै आराम गरिरहेका छन् । अजु आफैं पनि माघ १ मा धारामा लडेपछि घाइते भएकी रहेछिन् । भनिन्, ‘दुवै जना अपांग भैहाल्यौं । बिरामी भएका बेला पानी दिने मान्छे पनि घरमा छैनन् ।’ अजुले छिमेकी दिदीले आफूहरूलाई बिरामी पर्दा सघाइरहेको बताउँदै भनिन्, ‘उनको घरमा पनि श्रीमान् र उनी मात्रै छन् । छोरा–बुहारीहरू सात वर्षदेखि भारतमै छन् ।’

अजुको घर कटेर केही बेर हिंडेपछि आइपुग्यो, जारिमतोला गाउँ । बस्तीको मध्य भएर छिर्ने बाटो छेउको ढुंगामा एक जना वृद्धा असजिलो गरी लामोलामो स्वास फेरिरहेकी थिइन् । उनी ७० वर्षीया झिमा नेपाली रैछिन् । चार छोरा, चार बुहारी, २२ नातिनातिना र दुई पनातिनी भए पनि उनी बुढेसकालमा एक्लै छिन् । कहाँ गए त त्यत्रो परिवार ? उनले उदास स्वरमा भनिन्, ‘सबैका पाख (प्वाँख) लागे उडे । छोरानाति पाल्दा पाल्दै आफ्नाई पाख काटियो । अहिले देला (दैला) बाहिर–भित्र गर्दा पनि दम लाग्छ ।’ उनका सबैजसो जहान भारतमा चौकीदार, भाँडा माझ्ने, घर सफा गर्ने, गाडी धुने, होटलमा काम गर्ने रहेछन् । भनिन्, ‘चक्कर लागेर ढल्या पन उठाइ दिन्या कोइ छैन ।’

६५ परिवार दमाइ, कामी र सार्की जातिका समुदायको बसोबास रहेको जारिमतोला बस्तीमा एउटै घरमा पनि परिवारका सबै सदस्य भेटिएनन् । ‘६५ मध्ये ११ वटा घरमा त ताल्चा लागेका छन् । कसैका घर भत्किसके,’ घरमै ताल्चा लगाएर परिवारै भारत भासिएका र भत्किएका घरहरू देखाउँदै ५५ वर्षीय पुरन नेपालीले भने, ‘एक जनाले मात्रै कुरेका १४/१५ घर होलान् । बाँकी घरमा पनि बुढाबुढी र साना बच्चाबच्ची मात्रै छन् । ती पनि १२/१३ वर्ष पुगेपछि इन्डिया गैहाल्छन् ।’ उनले गाउँका अधिकांश काम गर्न भारत पसेको र घरमा भएका बुढाबुढी पनि रोगव्याधिले थलिएको बताए । भने, ‘छोराछोरी उता गएपछि यता आमाबाबुले पाउने दुःख हेर्ने हो भने त ताल्चा ठोकेरै गएको बेस । झन् घरमा एक्लै बस्नेहरू त मरेको पनि थाहा नहुने अवस्था छ ।’

बाजुराको साबिकको काँडा गाविसका यी बाहेक तलगाउँ, सिंगडा सेरागाउँ, मेलतोलालगायतका गाउँ घुम्दा पुरनले भने जस्तै कुनै पनि घरमा परिवारका सबै सदस्य भेटिएनन् । गाउँमा कि बालबालिका मात्रै थिए, कि वृद्धवृद्धा मात्रै । ‘यहाँ स्थानीय युवा भेट्टाउनै मुस्किल छ । युवा देख्यो भने कि त्यो कर्मचारी हुन्छ कि त व्यापारी,’ वडा कार्यालय नजिकै व्यापार गर्ने चक्र बुढाले सुनाए, ‘गाउँमा त बुढाबुढी र बच्चाहरू मात्रै भेटिन्छन् । काँडाका युवा भेट्ने हो भने दिल्ली नै जानु पर्छ ।’

महिला स्वास्थ्य स्वयंसेविका निरा नेपालीले गाउँमा आम्दानीको विकल्प नभेटेपछि कमाउन सक्नेहरू भारत जाने लहर नै चलेको र गाउँ खाली भएको सुनाइन् । भनिन्, ‘एक्लै एक्लै बस्नु पर्दा यहाँका बुढाबुढीले त दुःख पाएकै छन् । केटाकेटीहरू पनि पढाइ छोडेर दिल्ली जानु पर्ने बाध्यता छ ।’ उनले दिल्ली गए दुई चार पैसा आउँछ । थोरै भए पनि घर खर्च चल्छ भनेर सात–आठ क्लास पढ्दापढ्दै स्कुल जाने चलनै जस्तो भएको बताइन् ।

गाउँ घुमेर फर्किंदै गर्दा बाटोमै भेटिए, कमल सार्की । १९ वर्षका उनी हप्ता दिन पहिला मात्रै गाउँ आएका रहेछन् । दिल्लीमा उपचारपछि बहिनीलाई घर पुर्‍याउन आएका कमल पर्सि पल्ट दिल्ली नै फर्किने तयारीमा थिए । सात कक्षा पढ्दा पढ्दै पाँच वर्ष पहिले स्कुल छोडेर दिल्ली पुगेका उनी साँझ चौकीदारी गर्ने र बिहान गाडी धुने काम गर्दा रहेछन् । गाउँमा गरिखाने केही विकल्प नभएपछि पढ्दा पढ्दै स्कुल छोड्नुपरेको र दिल्लीमा गएर अनेकौं हन्डर ठक्कर खाएको कहानी उनले सुनाए । ‘महिनाको पाँच हजार दिन्छु भनेर एउटा ढावा (भोजनालय) वालाले काम लगायो । चार महिना काम गरेपछि एक रुपैयाँ पनि नदिएर निकालिदियो,’ उनले भने, ‘अरू ठाउँ काम गर्दा पनि भने अनुसार तलब नदिने, काम राम्रो गरिनस् भनेर गाली र कुटाइ खाने त कति भयो कति ।’

गाउँगाउँमा सिंहदरबार आइसक्दा पनि किन यतिका मान्छे गाउँ खाली गरेर दिल्ली जान्छन् होला त ? प्रश्न भुइँमा खस्न नपाउँदै कमलले आक्रोशित हुँदै भने, ‘आयो होला । हुनेखानेका लागि त पहिला पनि आएकै थियो । हाम्रा लागि सरकार कहिले आएको छ र ?’ उनी यत्तिमै रोकिएनन् । थपे, ‘आफ्ना मान्छेलाई धनी बनाएकै छन् । हामीजस्ता गरिबलाई सम्झिने सरकार कहिल्यै आउँदैन यो देशमा ।’

कमलले भनेजस्तै खप्तड छेडेदह गाउँपालिकाले युवाहरूलाई गाउँमै रोक्ने कार्यक्रम लागू गर्नु त परै जाओस्, आफ्नो ठाउँका कति मान्छेले गाउँ छोडे भन्ने तथ्यांक पनि राखेको रहेनछ । ‘कति मान्छे गएका छन् भन्ने रेकर्ड त राखिएको छैन । हाम्रो वडामा भएका ६ सय ५० घरधुरीमध्ये इन्डिया नगएको कुनै पनि घर छैन होला ।’ वडाध्यक्ष वीरबहादुर रावलले युवाहरूले घर छोड्दा वृद्धवृद्धाहरूलाई दुःख भएको कुरा भने स्विकारे, ‘खेतीपाती लगाउनु पर्ने, बस्तुभाउ पाल्नैपर्ने चलन छ । घरमा कोही नहुँदा पाका उमेरका मान्छेलाई सास्ती त हुने नै भयो ।’

दुई कार्यकाल यही वडाबाट निर्वाचित भएका उनीसँग पनि युवालाई गाउँमै रोक्न कुनै कार्यक्रम छैन । ‘यहाँका मान्छेलाई इन्डिया नगए चितै बुझ्दैन,’ उनले भने, ‘आफ्नै देशमा सुखदुःख गरौं भन्ने सोच कसैको छैन । दिल्लीसँग काँडालाई दाँज्छन् । उता यस्तो सुविधा छ, उस्तो छ भन्छन् । यो अनकन्टार ठाउँलाई दिल्लीजस्तो कसरी बनाउनू ?’

खप्तड छेडेदह गाउँपालिकाका अन्य गाउँको अवस्था पनि काँडाको भन्दा फरक छैन । वडा नं २ का आट्या खेत, कुर्पे, पीपलगाउँ, गाज्रा, गताडा, मायागडा, माटेसाँधुको अवस्था उस्तै भेटियो । कुर्पे गाउँका ६४ वर्षीय पृथ्वी बम्मले युवाहरू गाउँको सातो (प्राण) भएको बताउँदै गाउँ प्राणविहीन भैसकेको तर्क सुनाए । भने, ‘तन्नेरी खोज्नु भयो भने गाउँभरि भेटिंदैनन् । गाउँको सातो उडिसक्यो हजुर । अब मरेपछि घाटसम्म लैजाने मान्छे पनि पाइने होइनन् ।’

पक्षघातले दुवै खुट्टा नचल्ने बम र उनकी श्रीमती ६० वर्षीया पद्माको जिम्मामा आठ र चार वर्षका नाति छन् । उनका पाँच छोरा र बुहारी दिल्लीमै छन् । तिनीहरूसँग उनीहरूको सम्पर्क नभएको महिनौं भइसक्यो । भने, ‘कहिलेकाहीं छोरीहरू आएर सहयोग गर्छन् । छोराबुहारीहरू त मरेबाँचेको पनि थाहा छैन ।’

गाउँपालिका अध्यक्ष दिलबहादुर रावत पालिकाका सातै वडाको अवस्था उस्तै रहेको र गाउँ छोडेर यहाँका स्थानीय भारततिर जान थालेपछि यसको असर पालिकाका विभिन्न क्षेत्रमा पर्न थालेको बताउँछन् । उनले परिवारसहित स्थानीयले गाउँ छोड्न थालेपछि कतिपय विद्यालय नै बन्द हुने अवस्थामा पुगेको र कतिपय विद्यालयमा विद्यार्थी संख्या निकै कम भएको बताए । ‘कुनै कुनै विद्यालयमा विद्यार्थी नै नभएका कारण बन्द हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘पहिला चार–पाँच सय विद्यार्थी हुने विद्यालयमा अहिले सय डेढ सय पनि छैनन् । मान्छेहरूले गाउँ छोडेपछि स्कुल मात्रै होइन, हरेक क्षेत्रमा असर परेको छ ।’

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७८ सालमा गरेको एक अध्ययनमा वार्षिक २ लाख ६ हजारभन्दा बढी मानिस यस प्रदेशबाट भारत जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार भारत जानेहरूमा १७ देखि ४५ वर्ष उमेर समूकाको बाहुल्य छ । यीमध्ये १९ प्रतिशत महिला र ८१ प्रतिशत पुरुष भारततर्फ गइरहेका हुन् ।

सुदूरपश्चिमेलीहरू भारतका मुम्बई, नयाँदिल्ली, पन्जाब, हैदरावाद, बैङ्लोर, सिमला लगायतका ठाउँमा कामका लागि जाने र उनीहरूमध्ये ५५ प्रतिशतले मासिक १० देखि १५ हजार भारु बचत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । ९२ प्रतिशतले भारतमा कमाएको रकम घर खर्चमा उपयोग गर्ने गरेको बताएका छन् । दुई प्रतिशतले ऋण तिर्न र चार प्रतिशतले सम्पत्ति जोड्न खर्चिने गरेको अध्ययनले देखाएको छ । तीन वर्षभन्दा बढी लगातार भारतमा बस्नेहरूको संख्या १४ प्रतिशतभन्दा बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘गाउँ खाली हुँदै जानु विडम्बना’

प्रकाश मडै, भारतमुखी आप्रवासनमा अध्ययन–अनुसन्धानरत

सुदूरपश्चिम प्रदेशका ७० प्रतिशत घरबाट कम्तीमा एक जना भारत गएको मेरो अध्ययनले देखाएको छ । तर, यहाँका कति मानिस भारतमा छन भन्ने यकिन तथ्यांक सरकारका कुनै निकायसँग छैन । भारत जाने लर्को घटाउने हो भने तथ्यांक संकलन गर्नु आवश्यक छ । त्यसपछि उनीहरूलाई कसरी रोक्न सकिन्छ भनेर कार्यक्रमहरू लागू गर्न सके यो लर्को घटाउन सकिन्छ ।

कोही पनि रहरले देश छोड्न चाहँदैनन् । सीप र क्षमतामा आधारित साझेदारी मोडलका कार्यक्रम लागू गर्न सके भारत जानेहरूको संख्या घटाउन सकिन्छ । सरकारले निर्माणसम्बन्धी सीप सिकाएर गाउँमै रोजगारी सिर्जना गर्न सक्छ । भुवनोटका आधारमा उत्पादनका सम्भावना अध्ययन गरेर व्यावसायिक कृषि, पशुपालन, जडीबुटी खेती गर्नका लागि साझेदारी मोडलमा सीप सिकाउने, व्यवसाय गर्न अनुदान दिने, प्रविधिको सहयोग गर्ने र उत्पादनको बजार ग्यारेन्टी गर्ने खालका कार्यक्रम लागू गर्न सके आधाभन्दा बढी गाउँमै रोकिन सक्छन् । गाउँमै केही गरौं भन्ने सोच भएकाहरूले पनि उत्पादनले बजार नपाएका कारण निराश भएर भारतकै बाटो समातेको देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्टले शपथग्रहण गर्दा गरेको प्रतिबद्धताले स्थानीय उत्साहित थिए । ‘अब कसैले भारतको चौकीदारी गर्नुपर्ने छैन, कामको खोजीमा भारत गएका सुदूरपश्चिमबासीलाई एक वर्षभित्र आफ्नै घर फर्काइनेछ’ भन्ने उनको संकल्प वास्तवमै तारिफयोग्य थियो । यद्यपि उनकै पालामा भारत जानेहरूको संख्या झन् बढ्यो । त्यसपछि प्रदेशको नेतृत्व गर्नेहरूले पनि गाउँ रित्तिने क्रमलाई रोक्न सकिरहेका छैनन् ।

संघीयता आइसकेपछि यस्ता समस्या तीनै तहको सरकारको पहिला प्राथमिकतामा पर्नुपर्ने थियो । सरकार गाउँमा आयो भनियो तर व्यक्ति र परिवारसम्म पुग्नै सकेन । प्रत्येकको सिप, क्षमता र योग्यताको आधारमा कार्यक्रम तय गर्न सकेको भए सुदूरपश्चिमले यस्तो खालको दुखान्त व्यहोर्नु पर्ने थिएन । सरकारी क्षेत्रबाट विभिन्न खालका उत्पादनमूलक काम गर्न र स्वरोजगार सिर्जनाका लागि भएको लगानी पनि झन्झटिलो प्रक्रिया र पहुँचका भरमा मात्रै सुविधा पाइने प्रवृत्तिका कारण विपन्नसम्म पुग्न सकेको छैन । त्यो पनि पहुँचवालाले मात्रै पाउन थालेपछि कोही किन देशमा बसोस् ?

Published on: 26 March 2024 | Kantipur

Link

Back to list

;