s

गुहार माग्दै प्रवासीका आफन्त

रुपन्देही, रुद्रपुरका ५८ वर्षीय चन्द्रबहादुर कुँवर ६ वर्षअघि बिदेसिएका छोरा मनोज ६ महिनाअघि बिदामा आउने आसमा कुरेर बसेका थिए। त्यही बेला मलेसियामा छोरा पक्राउ परी जेल गएको खबर सुनेपछि अहिलेसम्म निदाउन सकेका छैनन्। 

मलेसिया सरकारले ७ महिनाअघि गैरकानुनी आप्रवासीविरुद्ध धरपकड अभियान सुरु गर्दा प्रतापपुरका मनोज कुँवर पनि समातिएका हुन्। पक्राउ परेको ६ महिनासम्म कुनै खबर नपाएका परिवारले मनोजलाई मलेसियाको साम्यिलान सेन्टरमा राखेको खबर ३ दिनअघि थाहा पाएपछि पत्नी कविता र बहिनी उमा जेलबाट छुटाएर स्वदेश फर्काउन हारगुहार गर्दै काडमाडौं आइपुगेका छन्।

कुँवर मात्र होइन, इटहरी २ हल्लनचोकका डिल्लीराम भट्टराई पनि पक्राउ परेको ७ महिना भयो । यत्रो समय बितिसक्दा भट्टराईको अवस्थाबारे परिवारलाई केही थाहा छैन। भट्टराईका भान्जा जनकप्रसाद दाहाल मामाको खबर बुझ्न काठमाडौंका हरेक निकाय धाए। मलेसियास्थित नेपाली दूतावासमा फोन गर्दा पनि कुनै खबर नपाएका दाहाल आफैं मलेसिया पुगेर अवस्था बुझ्ने योजनामा छन्।

मलेसियाले पटकपटक गरी करिब ७ सय नेपाली कामदार पक्राउ गरे पनि थोरैलाई मात्र स्वदेश फर्काएको छ। समातेपछि एक सातामा प्रक्रिया पुर्याएर स्वदेश पठाउने भने पनि नेपाली दूतावासलाई जानकारीसमेत नदिई ७ महिनाभन्दा बढी समय विभिन्न जेल र सेन्टरमा राख्दा तिनका आफन्त आकुलव्याकुल छन्।

मनोजकी श्रीमती ३ दिनअघि मलेसियाबाट फर्केका एक कामदारले श्रीमानको चिठी ल्याइदिएपछि त्यही बोकेर काठमाडौंका विभिन्न निकाय धाइरहेकी छिन्। ‘गएको ६ वर्ष भयो बिदामा आउने कुरा थियो, त्यही बेला पक्राउ पर्नुभएछ,' उनले भनिन्। पक्राउ परेपछि लामो समयसम्म खबर नै थाहा भएन। एकैचोटी ३ दिनअघि पत्र पाएपछि कहाँ छन् भन्ने खबर त पाइयो तर राम्रोसँग खाना नदिएको बिरामी भएको खबरले झन् चिन्तित बनाएको छ,' उनले भनिन्।

चिठीमा मनोजले दूतावासले उचित पहल गरिदिए छुट्ने उल्लेख गरेका छन्। ‘त्यसैले परराष्ट्र मन्त्रालयमा खबर गर्न काठमाडौं आएको,' बिहीबार परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा निवेदन दर्ता गरेपछि उनले नागरिकसँग भनिन्।

मनोजकी बहिनी उमाले दूतावासमा फोन गर्दा नउठाउने र उठाइहाले पनि चासो नदिएपछि काठमाडौं आएर परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरेको बताइन्। ‘समाचारमा समातेको ७ दिनभित्र स्वदेश पठाउने लेखेको थियो तर ७ महिना हुन लाग्यो केही खबर छैन,' उनले भनिन्।

कुँवर परिवारजस्तै चिन्तित डिल्लीराम भट्टराईकी श्रीमती गीताले चिन्ताले मर्नै लागेको बताइन्। ‘इटहरीबाट टेलिफोनमा कुरा गर्दा उहाँ गएको एक वर्ष पनि भएको थिएन। पायल्सको बिरामी हुनुहुन्थ्यो। अचानक पक्राउ पर्नु भएछ। बिरामी मान्छे जेलमा लामो समय बस्दा स्वास्थ्य के भयो होला भन्ने चिन्ता बढ्दै गएको छ,' उनले भनिन्। नेपाली सेनाबाट अवकास लिएका भट्टराई पनि कम्पनी परिवर्तन गरेकाले अवैधानिक भएका थिए। ‘कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन, दूतावासले पनि केही खबर गर्दैन,' उनले भनिन्।

मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान बस्न्यातले त्यहाँ पक्राउ परेको नेपालीको अवस्थाबारे जानकारी माग्दा अध्यागमनले नदिएको बताए। ‘हामी जानकारी मागेको माग्यै छौं तर केही खबर पाउन सकिएको छैन,' उनले टेलिफोनमा नागरिकसँग भने, ‘हामीले ट्राभल डकुमेन्ट लिएका कामदारलाई स्वदेश पठाइरहेका छौं। तर पक्राउ परेका कामदारको यकिन अवस्था थाहा हुन नसक्दा समस्या भएको छ।' अध्यायगमनले जानकारी नदिएपछि मलेसियाको गृह मन्त्रालयलाई नै ध्यानकर्षण गराउने तयारी भइरहेको उनले बताए।

मलेसियामा अझै ट्राभल डकुमेन्ट बनाएर बसेको करिब १० हजार कामदार रहेको दूतावासको अनुमान छ।

Published on: 21 March 2014 | Nagarik

Back to list

;