s

हस्तलिखित राहादानी वाहकलाई श्रम स्वीकृति नदिने निर्णय

कामदार र दूतावासहरू अन्योलमा
 
रामचन्द्र गिरी/दिनेश रेग्मी 
 
वैदेशिक रोजगार विभागले 'जेठ १ देखि हस्त लिखित राहदानीमा श्रम स्वीकृति नदिने' निर्णय गरेपछि कामदार मात्र होइन, विदेशस्थित नेपाली दूतावासहरू समेत अन्योलमा परेका छन् । विभाग आफैं पनि २ महिना अघिको यो निर्णय लागू हुनेमा ढुक्क देखिँदैन । 
 
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) का अनुसार २०७२ मंसिर ८ (२०१५ नोभेम्बर २४) पछि विश्वभर हस्तलिखित राहदानी चल्दैन । विभागले म्याद सकिनुभन्दा १९ महिनाअघि नै हस्तलिखितमा श्रम स्वीकृत नदिने निर्णय गरेको हो । विभागको निर्णयबाट रोजगारीका लागि विदेश जाने र छुट्टीमा घर फर्किएका अन्योलमा छन् । मेसिनले पढ्ने राहदानी (एमआरपी) समयमै बनाउन कठिन हुने भन्दै उनीहरूले हचुवाका भरमा यस्तो निर्णय गरिएको आरोप लगाएका छन् । विभागको निर्णय श्रमस्वीकृति नलिएका नयाँ कामदार वा हस्तलिखित राहदानीको म्याद सकिन लागेकालाई हो भन्ने स्पष्ट छैन ।
 
विभागले फागुन ७ मा प्रकाशन गरेको यससम्बन्धी सूचना विदेशस्थित नेपाली दूतावासहरूमा अहिलेसम्म पुगेको छैन । त्यसैले उनीहरूले कामदारलाई स्पष्ट जानकारी दिन सकेका छ्रैनन् । क्वालालम्पुरस्थित नेपाली दूतावासले यसबारे कुनै जानकारी नआएको जनायो । 'अब १ महिनाजति समयावधि छ, तर स्पष्ट बुझ्नै छ,' राजदूत निरञ्जनमान सिंह बस्न्यातले भने । विभागले एमआरपी जारी गर्ने निकाय परराष्ट्रसँग कुनै सल्लाह नगरी निर्णय गरेको स्रोतले बतायो ।
 
सूचना बारे विभागलाई सोध्दा उसले कुनै जानकारी नदिएर गैर जिम्मेवारीपन देखाएको आरोप विदेश स्थित कामदारहरूले लगाए । साउदी अरबमा कार्यरत इन्जिनियर धरम केसीले विभागका महानिर्देशकलाई सोध्दा समेत कुनै जवाफ नआएको भन्दै विद्युतीय सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । 'एमआरपी त सबैले आखिर बनाउनै पर्छ तर आइकाओले दिएको समयसीमा अझै १९ महिना बाँकी छ तर विभागले १ महिनाभित्रै भनेर हामी सबैलाई अत्याएको छ,' उनले भनेका छन्, 'यसरी अत्याउनुपर्ने कारण के के हुन् ? सरकारको सम्बन्धित निकायले बताउदैन ।' 
 
'वैशाखको अन्तिममा एक महिने छुट्टीमा घर र्फकने तयारीमा छु । तर हस्तलिखित राहदानीमा श्रम स्वीकृति नपाइने भन्ने सुनेकाले फेरि मलेसिया आउन समस्या हुने पो हो कि ?' मलेसियाको जोहोरस्थित सेगामतमा कार्यरत धमिलीकुवा लमजुङका सन्दीप घिमिरेले भने, 'मैले पहिले नै स्वीकृति लिइसकेको छु, फेरि स्वीकृति लिनुपर्ने/नपर्नेबारे केही थाहा पाउन सकिएन ।' नयाँ झन्झटले छुट्टीभन्दा धेरै समय गुज्रेर समस्यामा परिने हो कि भन्ने चिन्ता उनले गरे । 
 
नेपाली कामदारका प्रमुख गन्तव्य मलेसिया र खाडी मुलुकका दूतावासहरुमा एमआरपी लिनेको भिड बढेको छ । 
राजदुत बस्न्यातका अनुसार मलेसियामा हालसम्म ३५ हजारले एमआरपी लिइसकेका छन् । हस्तलिखित राहदानी वाहक करिब ३ लाख छन् । परराष्ट्रबाट दूतावासहरुमा एमआरपी पुग्न करिब ४/५ महिना लाग्छ । त्यही भएर कामदारहरूले हस्तलिखित राहदानीलाई समयमै विस्थापित गर्न सकेका छैनन् । 
 
विभागका प्रवक्ता बद्री बहादुर कार्कीले कामदारको हितका लागि समय दिएर विभागले २ महिना अघि निर्णय गरेको बताए । छोटो तयारीले लागू हुन सक्छ र ? भन्ने जिज्ञासामा उनले भने, 'जेठ १ गतेदेखि लागू गर्छौं । यदी लागु भएन भने त्यती बेला के गर्नपर्छ, गरौला ।' दुतावासहरुमा सूचना नपुगेको उनले स्विकारे । 'हामीले पठाएका छौं तर पाएनौं भनेर खबर आएको छ, फेरि पठाउँछौं,' उनले भने । 
 
Published on: 18 April 2014 | Kantipur

Back to list

;