s

होटलबाट १६ बालश्रमिकको उद्धार

लीला श्रेष्ठ

प्रशासनले ४ वटा होटलमा छापा मारेर १६ बालबालिकाको उद्धार गरेको छ । जिल्ला प्रशासनलगायत ४ वटा संस्थाले सोमबार मध्यपुर थिमीका ती होटलमा छापा मारेर उनीहरूलाई उद्धार गरेको हो ।

जसमा शंखधर चोक वरपर रहेका गुप्ता स्विट्सबाट १, एभरेस्ट मःम सेन्टरबाट ६, दक्षिण बाराही मःम सेन्टरबाट ४ र शंखधर मिठाई भण्डारमा मजदुरी गरिरहेका ५ बालबालिका छन् । बालबालिकालाई गैरकानुनी मजदुरी गर्न लगाएको सूचनाका आधारमा अधिकारकर्मी संस्था र प्रशासनले छापा मारेको सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । दिउँसो १ देखि ३ बजेसम्म प्रहरीसहितको टोलीले ती होटलमा छापा मारेको थियो । उद्धार गरिएका बालबालिकालाई अधिकारकर्मी संस्था सिविनमा राखेर पढाउने र सीपमूलक तालिम दिइने प्रशासनले जनाएको छ । सन् २०२० भित्र जिल्लालाई बालश्रमिक मुक्त बनाउने योजना भक्तपुर प्रशासनको छ ।

एभरेस्ट मःम सेन्टरबाट उद्धार गरिएका रामेछापका १३ वषर्ीय विशाल मोक्तानले घरको आर्थिक अवस्था कमजोर भएकाले काम गरेर आएको रकम घर पठाउने गरेको बताए । 'जेठो छोरो भएकाले ५ कक्षाको पढाई छाडी कमाउन सहर पसेको हुँ,' उनले भने, 'महिनाको ३ हजार जति घर पठाउने गरेको छु ।' उद्धार गरिएका उनी जस्ता धेरै बालबालिकाले घरायसी समस्याका कारण नै मजदुर बन्नुपरेको बताएका छन् । बाल अधिकार ऐनअनुसार १६ वर्षभन्दा मुनिका बालबालिकालाई होटल, मनोरञ्जन स्थल, यातायात, गलैंचा, इँटाभट्टा, जरी कारखानालगायत श्रममा लगाउन पाइँदैन ।

अनुगमन टोलीले दक्षिण बाराही मःम सेन्टरमा कार्यरत १६ वर्षका बालबालिकाहरू सिन्धुली चैनपुर ७ का प्रदीप लामा, उर्लिमाया तामाङ, तथा सिन्धुपाल्चोक चौताराका वीरे तामाङ र बुद्ध लामाको उद्धार गरेको छ । प्रदीप र उर्लिमायाबीच बालविवाह भएकोसमेत खुलेको छ । एभरेस्ट मःमबाटै सिन्धुपाल्चोक बाँडेगाउँका १४ वषर्ीय युवराज तामाङ र सुजन तामाङ, दोलखा बाबरे ३ का १५ वषर्ीय सुसन थापा, रामेछाप मझैवा ५ का दाजुभाइ १० वर्षका विवेक तामाङ र १३ वर्षका विशाल तामाङको पनि उद्धार गरिएको छ ।

गुप्ता स्विट्स होमबाट भक्तपुर सरस्वतीखेल ९ का १४ वषर्ीय धु्रव श्रेष्ठको उद्धार गरिएको छ । टोलीले वृन्दावन र शंखधर मिठाई पसलबाट काभ्रे भीमखोरी ३ का १५ वषर्ीय अभिषेक खनाल, १४ वर्षका रवि थापा र १५ वषर्ीय प्रकाश तामाङ, सिन्धुपाल्चोक राम्चे ७ का १६ वषर्ीय सुवास तामाङ, दोलखा भेडपु ५ का १६ वषर्ीय कमल श्रेष्ठ र सिन्धुपाल्चोक मेलम्ची २ का १६ वषर्ीय सजन गिरीको उद्धार गरेको छ । उनीहरूलाई तत्कालका लागि सरकारी सहयोगमा काठमाडौं तीनथानामा सञ्चालित आपतकालीन गृहमा राखिने सिविनका कार्यक्रम संयोजक भरत अधिकारीले बताए । सहायक प्रजिअ निरौलाले जिल्लालाई बालश्रम मुक्त बनाउने अभियान अन्तर्गत सोमबारदेखि होटल तथा पसलहरूमा कार्यरत बाल श्रमिकको उद्धार सुरु गरिएको बताए ।

Published on: 1 April 2014 | Kantipur

Back to list

;