s

इजरायलमा रहेका नेपालीको सुरक्षा चासो

काठमाडौँ, वैशाख ४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अभिभलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोन सम्पर्क गरी नेपाली श्रमिकबारे जानकारी लिनुभएको श्रम मन्त्रालयले जनाएको छ । साथै उहाँले राजदूत रिजालसँगको फोन सम्पर्कमा नेपाली श्रमिकको सुरक्षाका लागि आवश्यक सतर्कताका लागि सचेत रहनसमेत राजदूत रिजाललाई आग्रह गर्नुभयो । इजरायलमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसो त इजरायलमा हाल कृषि तथा केयरगिभर क्षेत्र र अध्ययनका लागि गएका गरी सात/आठ हजार नेपाली रहेका छन् । दूतावासका अनुसार इजरायलमाथि इरानी हमला सुरु भएलगत्तै इजरायली होमफ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि सुरक्षा निर्देशन जारी गरिएको छ ।

सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक गतिविधि बन्द गर्ने र ठुलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको दूतावासले जनाएको छ । आफ्ना क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकारी रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल आसपासमै रहनसमेत दूतावासले नेपालीलाई अनुरोध गरेको छ ।

अत्यावश्क अवस्थामा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र श्रम सहचारी सञ्जयकुमार साहसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । इजरायलमा हाल चार हजार पाँच सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गरी ल्याउनुपर्ने अवस्था आउन सक्ने श्रम मन्त्रालयले बताएको छ । इरानले आक्रमण सुरु गरेपछि हाल रोजगारीका लागि इजरायल जान करार सम्झौता गरेका नेपाली प्रभावित हुने भएका छन् । इजरायलले दोस्रो चरणमा रोकिएका ४२५ युवालाई इजरायलमा रोजगारीको अवसर दिने जनाउँदै धमाधम श्रम सम्झौता गर्न थालेको छ ।

सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेर पनि एक वर्षसम्म जान नपाएका नेपालीलाई इजरायलले श्रम सम्झौता गर्न थालेको हो । यसअघि इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका ४२५ युवालाई पुनः छनोट गरेर पठाउन सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगत दुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने प्रवृत्ति बढेपछि धेरै युवाको सपना इजरायल हुन थालेको बताउनुभयो ।

विभागले दुई वर्षअघि भाषा परीक्षा र अन्तर्वार्तामा छनोट भएर पनि लट्रीमा नपरेकालाई पठाउने तयारी भइरहेको बेला आइतबार ११ जनाको श्रम सम्झौताको सूचना सार्वजानिक गरिएको छ । यसका लागि विभागले युवाको मोबाइलमा भिसालगायतका प्रक्रियाको जानकारी दिने जनाएको छ ।

Published on: 16 April 2024 | Gorkhapatra

Link

Back to list

;