s

जहाजमा खानाको व्यवस्था अनिवार्य गर्न आग्रह

काठमाडौँ, वैशाख १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र अनिवार्य रूपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । श्रममन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीसँग श्रम स्वीकृति लिएर जाने श्रमिकलाई जहाजको टिकटमा अनिवार्य खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।

श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिक जहाजभित्र घण्टौँसम्म भोकै बस्नुपर्ने अवस्था रहेको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “कम्तीमा पनि जहाजभित्र पानी र एक पटक खानाको व्यवस्था गरिदिनूहोस्, यसमा मेरो यहाँलाई विशेष अनुरोध छ ।” वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले श्रमिकलाई खाना दिने विषयमा आफूहरू सकारात्मक भए पनि एयरलाइन्स कम्पनीले व्यावसायिक फाइदालाई मात्र हेर्दा श्रमिकले विमानमा पिउने पनि नपाउने अवस्था रहेको स्वीकार गर्नुभयो । “एयरलाइन्सले व्यावसायिक फाइदा मात्र हेर्दा श्रमिकहरू भोकै बस्नु पर्छ,” उहाँले भन्नुभयो, “नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सलाई अनिवार्य खाना उपलब्ध गराउने बाध्यकारी नियम बनाउनु पर्छ अनि मात्रै सम्भव हुन्छ, अन्यथा गाह्रो छ ।”

नेपालबाट दैनिक औसत एक हजार आठ सय श्रमिक मलेसिया र मध्यपूर्वका मुलुकमा जाने गर्दछन् । नेपालबाट यी मुलुकमा हिमालयन, नेपाल, मलिन्दो, मलेसिया, कतार, एयर अरेबिया, फ्लाइ दुबईलगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् । चार वटा एयरलाइन्सले मात्र अनिवार्य खाना दिने गरेको व्यवसायीहरूले बताएका छन् ।

Published on: 24 April 2024 | Gorkhapatra

Link

Back to list

;