s

जनशक्ति अभावले खेती गर्न समस्या

तनहुँ, चैत २८ गते । गाउँमा काम गर्ने युवा जनशक्ति नहुँदा तनहुँमा खेती लगाउन समस्या देखिन थालेको कृषकले बताएका छन् । पाखुरामा बल भएका युवा विदेशमा श्रम बेच्न जाँदा गाउँमा खेतीको समयमा मजदुरको अभाव भएको हो । यहाँका फाँटमा यतिबेला आली लगाउने, छेउकुना खन्ने, हल चलाउने, बिउ काढ्ने र खेत रोप्न मजदुरको अभाव भएको छ ।

वैदेशिक रोजगारको आकर्षणले युवा विदेश पलायन हुँदा यस्तो अवस्था आएको हो । भानु नगरपालिका–२, भकुन्थोक निवासी सीता त्रिपाठीले अहिले मजदुर नै भेट्न गाह्रो परेको बताउनुभयो । अघिल्ला अघिल्ला वर्षमा चैतको दोस्रो साता नबित्दै गाउँमा रोपाइँ सकिने गरेकोमा यस वर्ष चैत सकिन लाग्दासमेत रोपाइँको काम पूरा नभएको त्रिपाठीले बताउनुभयो । धान रोपाइँमा आवश्यक जनशक्ति कम भएपछि समस्या आएको उहाँ बताउनुहुन्छ ।

भानु नगरपालिका–२, अम्बोटे निवासी केदार कुँवरले पहिला पर्म लगाएर आलोपालो रोपाइँ गर्ने गरिएकोमा पर्म लगाउने साथी नहुँदा खेती गर्न कठिन भएको बताउनुभयो । कुँवरले भन्नुभयो, “गाउँमा बुढाबुढी मात्रै छन्, युवा नै छैनन्, मजदुर नपाइँदा खेत नै बाँझो राख्नुपर्ने अवस्था आएको छ ।” किसानले कृषि उपकरण र सिँचाइ अभावमा समस्या खेप्नु परेको कुँवर बताउनुहुन्छ । सहज रूपमा र सहुलियतमा उपकरणको व्यवस्था गरेर कम जनशक्तिमै काम गर्न सक्ने वातावरण नमिलाउने हो भने अधिकांश गैरीखेत बाँझो राख्नुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ । गोरुले जोतेर खेत रोप्दा महँगो पर्ने भएकाले खेत बाँझो राख्ने क्रम पनि बढ्न थालेको कुँवरले बताउनुभयो ।

जनशक्तिको अभावले बर्सेनि खेत बाँझो हुने क्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा विदेश पलायन हुन बाध्य छन् । जिल्लाको आठ हजार सात सय हेक्टर क्षेत्रफलमा वर्षे तथा एक हजार आठ सय पाँच हेक्टरमा चैते धान खेती हुने गरेको केन्द्रले जनाएको छ । १० वटा पालिकामा रहेका ८५ वटा वडामा जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ ।

यसैबिच कृषि ज्ञान केन्द्र तनहुँले किसानलाई पेसाप्रति रुचि जगाउन प्रोत्साहन गर्न थालेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार जमिन बाँझो राख्ने क्रम बढ्दै जाँदा ठुलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैते धान प्रवर्धन कार्यक्रममार्फत प्रोत्साहन गरिएको हो । कार्यक्रम अन्तर्गत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको परियारले जानकारी दिनुभयो । ढुवानी, बिउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । धानको बिउमा ७५ प्रतिशत अनुदान र सिँचाइ अन्तर्गत कुलो निर्माण तथा मर्मतका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको परियारले जानकारी दिनुभयो ।

Published on: 10 April 2024 | Gorkhapatra

Link

Back to list

;