s

कामदारबारे बुझ्न संसदीय टोली मलेसियामा

रामचन्द्र गिरी

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति र मलेसियास्थित नेपाली संघसंस्थाका प्रतिनिधिबीच सोमबार अन्तरक्रिया भएको छ। सभापति प्रभु साहको नेतृत्वमा आएको टोलीले मलेसिया सरकारसँग यथाशक्य चाँडो श्रम सम्झौताका लागि पहल थाल्न सुझाव पाएको छ।

'यहाँ पीडित भएका नेपालीलाई सहयोग गर्न र उनीहरूका पक्षमा लड्न श्रम सम्झौता नहुँदा समस्या भएको छ,' कार्यक्रमका अधिकांश सहभागीको भनाइ थियो, 'त्यसैले सबभन्दा पहिले श्रम सम्झौता गर्नुपर्‍यो।'  सभासदहरू कामदारको रकममा आउन लागेको समाचार प्रकाशित भएपछि भ्रमण विवादमा परेको थियो। दूतावासका अधिकारीहरूले त्यही कारण पनि सांसदहरूले भ्रमण उपलब्धिमूलक बनाउन प्रयास गरिरहेको जानकारी दिएका छन्।

उनीहरू मलेसियामा आफ्नै खर्चमा बसेको बताइए पनि दूतावासले थप जानकारी नभएको जनाएको छ। 'उहाँहरू के-कस्तो खर्चमा आउनुभयो, त्यो जानकारी भएन। होटलमा बस्नुभएको छ, खर्च उहाँहरूले नै बेहोर्नुहोला। यसबारेमा जानकारी भएन,' राजदूत निरन्जनमान सिंह बस्न्यातले कान्तिपुरसँग टेलिफोनमा बताए। टोलीलाई दूतावासमा कर्मचारी कम भएकाले सेवा दिन कठिनाइ भइरहेकोबारे अवगत गराइएको थियो। अधिकांश नेपाली मलेसिया आउनुअघि नेपालदेखि नै ठगिने गरेको, मलेसिया आइसकेपछि सम्झौताअनुसार काम, तलबसुविधा नपाउने र कानुनी हैसियत गुमाउनेलगायत कामदार असुरक्षाबारे समेत अन्तरक्रियामा सहभागीहरूले जानकारी गराएका थिए। टोलीमा समितिका बलबहादुर केसी, सोमप्रसाद पाण्डेय, भरतबहादुर खड्का, कमलादेवी शर्मा, जितेन्द्रनारायण देव, सचिव शान्तकुमार तुलाधर, रमेश कोइरालालगायत छन्।

परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कामकारबाही समेत हेर्ने अधिकार पाएको टोली अध्ययन भ्रमणका क्रममा मलेसिया आएको यो पहिलोपटक हो।

Published on: 18 March 2015 | Kantipur

Back to list

;