s

के प्रवासमा श्रम गर्ने निर्जीव हुन् ?

धेरै वर्षदेखि साउदी अरब बस्दै आएका होमनाथ पौडेलले फोन गरेर मलाई सोधे, 'कामका लागि विदेश जाने नेपालीहरू के निर्जीव हुन् ?' 

'किन र ?' म त जिल्ल परें ।

'सरकारले हामीमाथि त्यस्तै व्यवहार गरिरहेको छ', उनले रहस्य खोतले, 'नत्र बिमा गर्ने तरिका हेर्नुहोस् ।'

बिमा दुई किसिमका हुन्छन्— जीवन र निर्जीवन । हाम्रो देशमा गरिने जीवन बिमाहरूको पि्रमियम र बोनससहित पछि रकम फिर्ता आउँछ । वैदेशिक रोजगारमा जानेलाई चाहिँ यस्तो बिमा गरिँदो रहेछ, जस्तो निर्जीव साधनहरूलाई गरिन्छ । अर्थात् पि्रमियम तिर्‍यो, मरे बिमा पाइयो, नत्र खेरै गयो । 'मर्नु परोस्' भनेर रकम तिर्न चाहने नेपाली कमै होलान् । तर त्यसैमा बाध्य पारिँदो रहेछ, वैदेशिक रोजगारमा जानेहरूलाई चाहिँ ।  

घर, सवारी साधन, जहाज, उपकरण आदिको बिमा यसरी गरिन्छ, जसको पि्रमियम उपभोक्ताले जोखिममा तिर्छन् । दुर्घटना भए बिमितले लाभ पाउँछ, नभए रकम बिमाकर्ताको पोल्टामा जान्छ । मानव शरीरमाथि केही जोखिम भए पनि यसको 'जीवन बिमा' धेरै हदसम्म सुरक्षित हुन्छ । त्यही भएर कम्पनीहरूले हौसिई-हौसिई मान्छेको बिमा गर्छन् । बोनसका प्रतिशत बढाएर प्रतिस्पर्धा गर्छन् । सरदर १५ वर्षमा दोब्बर रकम सजिलै पाउँछन् । साथमा जीवनको जोखिम मोलाइ त हुन्छ नै । तर १५ वर्ष विदेश बसेर त्यसरी नै पैसा चढाउने जीवित नेपालीले बदलामा के पाउँछ ? हात लाग्यो शून्य ।

त्यही गुनासो गरेका हुन्, होमनाथले । त्यसैले उनले विदेशिने नेपालीलाई घर, गाडी, जहाजजस्ता निर्जीव वस्तुसँग तुलना गरेका हुन् । यो एउटा होमनाथको मात्र समस्या होइन, धेरै होमनाथहरू सयकडा ३६ मा काढेको पैसा बिमालाई चढाएर बाहिरिन्छन् । प्रतिफल केही पाउँदैनन् । 

वैदेशिक रोजगारमा जाने १८-३५ वर्षको व्यक्तिले वाषिर्क १ हजार २५, ३६-५० वर्षेले १५ सय र ५१-६४ वर्षेले ३५ सय रुपैयाँ बिमा तिर्नुपर्छ । त्यो अनिवार्य हो, नत्र विमानस्थल कट्न पाइन्न । नेपालबाट दैनिक सरदर १८ सय व्यक्ति कामका लागि विदेशिन्छन् । जबकि वर्षमा हजारको हाराहारी कामदारको उतै मृत्यु हुन्छ । यसरी हेर्दा वर्षभरि उठ्ने रकमबाट आधा दिन जाने बराबरका लागि बेहोरे पुग्छ । बिमा कम्पनीका लागि योभन्दा मालामाल व्यापार अरू के हुनसक्छ ? दुवै पक्षलाई बराबर लाभ हुनेगरी त्यसलाई प्रयोग गर्ने नियम बनाएको भए के बिग्रन्थ्यो ? 

नेपालभित्र गरिने जीवन बिमाको पि्रमियम अलि बढी हुन्छ, भिन्नै कुरा । बरु नलिनु लिइसकेपछि वैदेशिक रोजगारमा जानेको पनि पि्रमियम पुग्दो लिएर त्यस्तै सुविधा दिँदा के बिग्रन्थ्यो ? अलिकति चढाउनुभन्दा अलिक बढी सञ्चय गर्न उनीहरू गाह्रो पनि थिएन । स्वास्थ्य परीक्षण गरेर स्वस्थ प्रमाणितसमेत भइमात्र विदेश जान पाइन्छ । यसमा ठूलो जोखिम पनि छैन । कुनै व्यक्ति नेपालमा बाँचिरहने, विदेश जानासाथ मरिहाल्ने भन्ने हुँदैन । 

अर्कातिर विदेशमा दुःख गरेर पठाएका पैसा यता सकिदिने समस्या गम्भीर छन् । त्यो मर्नुभन्दा ननिको हुन्छ । मर्ने त एक ताल मर्छ, आफन्तबाट अप्रत्यासित धोका खाएर सम्पत्तिविहीन समेत हुनेहरू जिन्दगीभरि पटक-पटक मर्नेछन् । बिमामा सञ्चय हुने व्यवस्था भए तिनलाई पनि राहत पुग्ने थियो । 

नेपालीलाई विदेश जानु नशाजस्तै बनेको छ । घर/परिवारको यादले सताएपछि सुरुमा दुई वर्ष बिताउन हम्मे पर्छ । 'फर्केर आउँदिन' भन्दै उताबाट कसम खाएर आउनेहरू दुई महिना पनि देशमा अडिन सक्दैनन् । फेरि उतै जान्छन् । अब नेपालै बस्ने भनेर उताका नेपाली समुदायबाट भव्य बिदाइ थापेर आउने कतिजना केही महिनामै फिर्ता गएका उदाहरण थुप्रै छन् । यसो गर्दागर्दै दसौं-बीसौं वर्ष उतै बित्छन् । देशमा अवसर नहुँदा त्यो बाध्यता नै बनेको छ । तिनले बिमाका नाममा सधैं पैसा तिर्छन् । त्यसले बिमा गर्ने कम्पनी धनी हुन्छन्, कामदार सधैं गरिबको गरिब ।

विदेश जाँदा सामान्यतः दुई वर्षको बिमा गर्नुपर्छ । आउँदै-जाँदै गर्नेहरू फेरि खर्च गरेर बिमा गर्न बाध्य हुन्छन् । त्यसरी नआउनेको अवधि उतै गुजि्रन्छ । जाँदा गरेको बिमा अर्थ न बर्थ हुन्छ । उतै मृत्यु हुने अधिकांश युवाहरू दुःखी-पीडित हुन्छन् । बिमा नवीकरण गर्न फर्केर आउन नसक्नेहरू 

हुन्छन् । म्यानपावरले झुक्याएर कम्पनी छाड्न बाध्य भई कागजपत्रविहीन भएकाहरू हुन्छन् । तिनीहरू क्षतिपूर्ति पाउने हकदार पनि हुँदैनन् । त्यसैले बिमा प्रदायकलाई यो पेसा ब्रह्मलुट बनिरहेको छ । सरकारले पनि कामदारलाई प्रभावकारी उपयोगिता हुने तरिका नअपनाई यसलाई अनिवार्य गरेको छ । 

जाँदा 'उतै मर्छु' भन्ने सोचेर कोही गएको हुँदैन । सञ्चित रकम फिर्ता नआउने हुँदा यसको आकर्षण पनि खास छैन । तर बाध्यतामा बिमा गर्नुपरेको छ । सरकारले जस्तो र जति तिर्ने नियम बनाइदिएको छ, त्यसमा कायल भएर पैसा जम्मा गर्नुपरेको छ । एक ढंगले भन्ने हो भने 'बालुवामा पैसा खन्या' भन्दा 'हुँदैन' भन्न नसकेको वा नपाएको अवस्था छ । कुनै व्यक्तिलाई छनोटको सुविधा नदिई कथित सेवाका नाममा बलात् तिराउनु मानवअधिकारको चर्को हनन पनि हो ।

ललल

होमनाथको कुरा सुनेपछि मलाई पनि लाग्यो— वैदेशिक रोजगार बिमा मर्नेका लागिमात्र होइन, बाँच्नेका लागिसमेत उपयोगी बनाउँदा के फरक पर्छ ? विदेशमा श्रम गर्न जाने नेपालीलाई निर्जीव होइन, जीवितको व्यवहार गर्दा के बिग्रन्छ ? 

Published on: 12 May 2014 | Kantipur

Back to list

;