s

खाडीका नेपाली काममा फर्किन थाले

‘म ४ महिना २० दिनपछि आफ्नो ड्युटीमा फर्कन पाएँ, सबै सहज बन्दै गए घर फर्किन्नँ ।’

होम कार्की

काठमाडौँ — कोभिड–१९ महामारीका कारण बन्द भएको खाडी मुलुकहरूको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । घर आउन तयार बसेका नेपाली कामदार पुनः काममा खटिन थालेका छन् । संक्रमणलाई नियन्त्रण गर्न सफल भएको भन्दै खाडीका विभिन्न मुलुकले चरणबद्ध रूपमा लकडाउन खुकुलो बनाउँदै लगेका छन् ।

कुवेतले झन्डै तीन महिना पूर्ण आइसोलेसनमा राखेको महाबुल्लाह र जिलिप क्षेत्रलाई शुक्रबारदेखि खुला गरेको छ । कुवेतमा कार्यरत झन्डै ८० प्रतिशत नेपाली कामदार तिनै दुई क्षेत्रमा बस्दै आएका छन् । ‘यहाँ कम आयस्रोत भएका विदेशी कामदारलाई राखिएको छ । कोरोना संक्रमण देखिएपछि लकडाउन गरी यहाँ बस्ने कामदार सबैलाई ड्युटीमा जान रोक लगाइएको थियो । हामीले चार महिनाभन्दा बढी समय बसेरै दिन काट्यौं,’ महाबुल्लाहमा रहेका बाराका डम्बरप्रसाद रिमालले भने, ‘संक्रमण नियन्त्रणमा आएको भन्दै शुक्रबारदेखि सबैलाई स्वतन्त्र छोडिएको छ । म ४ महिना २० दिनपछि आफ्नो ड्युटीमा फर्कन पाएँ । सबै सहज बन्दै गए घर फर्किन्नँ ।’

बिनातलब चार महिना खाली बसेका कामदारहरू ड्युटीमा फर्कन पाएकोमा उत्साहित बनेका उनले बताए । ‘स्थिति हेर्दा त यति छिट्टै सामान्य होला जस्तो लागेको थिएन । अब कम्पनीले पनि केही दिनभित्रै काममा खटाउने भनेको छ,’ जिलिपमा कार्यरत झापाका ठाकुर यादवले भने, ‘घर जाने भनेर दूतावासमा नाम टिपाएको थिएँ । बिदा यहीं बसेर कटिहाल्यो । काम गर्न पाउने भएपछि अब यो वर्ष घर जाँदिनँ ।’ लकडाउनभर जिलिप र महाबुल्लाहमा रहेका विदेशी कामदारलाई कुवेत सरकारले नै दैनिकजसो खाद्यान्नको प्रबन्ध मिलाएको थियो । ‘जसको कम्पनीले खाना दिँदैनथ्यो, जोसँग खाद्यान्न जुटाउनका लागि रकम थिएन, उनीहरूलाई कुवेत सरकारले नै दैनिक खान दिएर राखेको थियो,’ रिमालले भने, ‘कोही भोकै बस्नुपरेन ।’

कुवेतमा मंगलबारसम्म ५५ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमध्ये ४५ हजार जना निको पनि भइसकेका छन् । केही सातायता दैनिक संक्रमित हुनेको संख्यामा कमी आउन थालेपछि चरणबद्ध रूपमा बजार तथा अन्य क्षेत्र खुला गर्दै लगिएको हो । सार्वजनिक यातायात, विद्यालय र अन्तर्राष्ट्रिय उडान भने अझै बन्द छ ।

साउदी अरबमा पनि अवस्था निकै सहज भइसकेको नेपालका राजदूत महेन्द्रसिंह राजपुतले बताए । उनका अनुसार बन्द भएका बाहेक कम्पनीले नेपाली कामदारलाई पुनः काममा लगाउन थालेका छन् । गैरआवासीय नेपाली संघ साउदी अरबका उपाध्यक्ष विशाल श्रेष्ठले पनि जनजीवन बिस्तारै सहज हुँदै आएको बताए । ‘कम्पनीहरूले आर्थिक भार कटौती गर्न मध्यमस्तरका कर्मचारी भने कटौती गर्न थालेका छन् । हाम्रै कम्पनीले पनि केही कटौती गर्‍यो,’ उनले भने, ‘सपिङ मलहरू खुलेकै छन् । कन्स्ट्रक्सन कम्पनीहरूले पनि आफ्नो काम सुरु गरेका छन् ।’ उनका अनुसार साउदीभर सबैलाई मास्कको प्रयोगमा भने अनिवार्य गरिएको छ । मास्कको प्रयोग नगरी बाहिर हिँडडुल गरेमा तत्कालै प्रहरीले एक हजार रियाल जरिवाना लगाइरहेको छ ।

लकडाउन खुकुलो भएपछि बिस्तारै मानसिक तनाव पनि कम हुँदै गएको दाङकी कमला ओलीले बताइन् । ‘हाम्रो कम्पनीमा तीन सय महिला काम गर्नुहुन्छ । सबैलाई कम्पनीले न्यूनतम तलब त दिइरहेको छ । क्याम्पबाट बाहिर निस्कने अझै अनुमति छैन,’ उनले भनिन्, ‘हामी त सानो बच्चालाई छोडेर कमाउन आएका हौं । सुरुसुरुमा त के हुने, कस्तो हुने हो, जागिर जान्छ कि भनेर डर लागेको थियो । तर अहिले परिस्थितिमा सुधार आएको छ । पहिलाजस्तो तनाव छैन । कम्पनीले पनि काममा पठाउने बताएपछि मन त निकै हुलुको भएको छ ।’

कतारले भिसा पाएका विदेशी कामदारलाई प्रवेशमा खुला गरेको छ । त्यहाँ पुगेपछि आफ्नै खर्चमा तोकिएको होटलमा १४ दिन क्वारेन्टाइनमा भने अनिवार्य बस्नुपर्छ । कतारमा एक लाख चार हजार जनालाई कोरोना देखिएकोमा सोमबारसम्म एक लाख जनालाई निको भइसकेको छ । सार्वजनिक सवारी साधन र विद्यालयबाहेक सबै क्षेत्र सुचारु भइसकेका छन् । ‘चार महिनापछि उही जोस र जाँगरका साथ काममा फर्किन पाएको छु,’ खोटाङका तीर्थसंगम राईले भने ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कामदारलाई काममा लगाइएको बताए । ‘करार अवधि समाप्त भएका नेपाली स्वदेश फिर्नका लागि प्रतीक्षामा छन्, त्यो आफ्नो ठाउँमा छ । तर बिस्तारै जीवनयापन सहज बन्दै पनि गइरहेको छ । आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।

साउदीमा आवासीय भिसा तीन महिना थप साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपेको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएको छ ।

साउदी अरबको राहदानी विभाग (जवाजत) का अनुसार राजकीय निर्णयअनुसार कामदारको भिसाको म्याद थपिएको हो । यसका लागि कामदार वा रोजगारदाताले थप शुल्क बुझाउनुपर्ने छैन । भिसाको समय थप गर्नका लागि जवाजतमा गई आवेदन दिइराख्नुपर्ने छैन । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भिसाको म्याद समाप्त भएका कामदारले कानुनी हैसियत पाएको बताए । ‘भिसाको म्याद समाप्त भएकाको हकमा के हुन्छ भन्ने चिन्ता थियो, सयौं नेपालीले दूतावासमा सम्पर्क गरिरहेका थिए,’ उनले भने, ‘कामदारले अब भिसाका विषयमा चिन्ता लिनुपरेन ।’

बिदामा आएका कामदारको पनि भिसाको म्याद आफैं थपिएको छ । नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरूले भिसालाई प्रयोग गर्न पाउने साउदीको राहदानी विभागले जनाएको छ ।

Published on: 16 July 2020 | Kantipur

Link

Back to list

;