s

खाडीमा दूतावासलाई स्तरीकरण गर्न ध्यानाकर्षण

खाडीस्थित नेपाली दूतावासका प्रमुखहरूले दूतावासको स्तरीकरण र जनशक्ति अभावका कारण नेपाली कामदारको समस्यालाई सम्बोधन गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण जनाएका छन्। संयुक्त अरब इमिरेट्स -यूएई) को राजधानी आबुधाबीमा प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसमक्ष दूतावास प्रमुखहरूले संयुक्त रूपमा यस्तो धारणा राखेका हुन्। सरकारले खाडी र इजिप्टका मिसन प्रमुखले खाडीमा रहेका नेपालीको संख्याको आधारमा मिसनको भौतिक अवस्था र जनशक्ति अत्यन्त नाजुक रहेको जनाए।

राजदूतहरूले श्रम समस्यालाई सम्बोधन गर्न र दुई देशबीचका सम्बन्ध अझ सुदृढ गर्न सरकारले उच्चस्तरीय भेट गर्नसमेत सुझाव दिएका थिए। 'हामीले दूतावासलाई बजेट बढाउन र जनशक्ति थप्न बढी जोड दियौं,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, 'सबै मिसनबाट यही विषय प्राथमिकता राखेको छ।' 

प्रधानमन्त्री कोइराला र परराष्ट्रमन्त्री पाण्डेसमक्ष कतार, साउदी, ओमन, कुबेत, इजिप्ट र यूएईका प्रमुखहरूले आ-आफ्ना देशमा रहेका नेपाली कामदारको समस्याको विषयमा जानकारी दिएका थिए। 'कतारमा झन्डै चार लाख नेपाली छन्। 'समस्या लिएर आउने नेपाली पनि धेरै छन्,' कतारका लागि कार्यबाहक राजदूत गणेशप्रसाद ढकालले भने, 'मिसन तथा कर्मचारीमाथि निकै भार छ। आवश्यक जनशक्ति थप गर्न निकै आवश्यक छ।' ढकालले कतार र नेपालबीचको द्विपक्षीय श्रम वार्ता नेपालले आयोजना गर्नुपर्ने भएकाले त्यसको तयारी गर्नुपर्ने बताए। 

साउदीका राजदूत पाण्डेले नेपाली कामदारको समस्या न्यूनीकरण गर्नका लागि कामदार मागपत्रलाई दूतावासबाट मात्रै प्रमाणीकरण गर्नुपर्ने विषयमा जोड दिएका थिए। कुबेतका लागि कार्यबाहक राजदूत विशाल भट्टराईले तत्काल घरेलु महिला कामदारको पठाउन नहुने बताए। उनले यसका लागि सरकारले गम्भीर रूपमा सोच्नुपर्ने बताए। 'कुबेतमा हाउसमेडको स्थिति निकै जटिल छ। नाजुक छ,' उनले भने, 'समस्या परेपछि उद्धार गर्न निकै कठिन छ। एउटा संयन्त्र नबनाएसम्म घरेलु कामदारको खोल्नु हुदैन।' 

प्रधानमन्त्री कोइरालाले राजदूतको रिपोर्टिङ सुनेपछि बढीभन्दा बढी कामदारको सुरक्षा र समस्या समाधानका लागि क्रियाशील हुनुपर्ने बताए। उनले देशमा अब संविधानसभाबाट संविधान बन्ने भन्दै राजदूतहरूले अब देशमा लगानी बढाउनुपर्नेमा भूमिका खेल्नसमेत निर्देशन दिए। 

परराष्ट्रमन्त्री पाण्डेले दूतावासको भौतिकस्थिति सुधार्न र जनशक्ति थप गर्नका लागि परराष्ट्रमन्त्री गम्भीर भएको बताए। उपचारको क्रममा अमेरिका जानुअघि प्रधानमन्त्री यूएईमा ट्रान्जिटको क्रममा बसेर राजदूतहरूसँग छलफल गरेका हुन्। 

 Published on: 21 September 2014 | Kantipur

Back to list

;