s

खासामा चेली लैजान रोकिएन

ललितपुरकी ११ वर्षे बालिकालाई काकाले घरेलु काममा लगाइदिने भन्दै खासा लगे । १ वर्षपछि उनलाई रातिराति डान्सबार र रेस्टुरेन्टमा लैजान थालियो । दसैंमा घर फर्केर फेरि खासा जाने क्रममा मितेरी पुलमा सोधपुछका क्रममा उनलाई माइती नेपालले भेटेर आफन्तको जिम्मा लगायो ।

लिस्तीकी १६ वषर्ीया किशोरीलाई चिनियाँ प्रहरीले खासाको एक डान्स रेस्टुरेन्टबाट उद्धार गर्‍यो । उनकै साथी चितवनकी किशोरीलाई पनि उद्धार गरियो । चिनियाँ प्रहरीले दुवैलाई सीमाको सशस्त्र प्रहरीको जिम्मा लगायो । ती किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । राजधानीको क्यासिनो बन्द भएपछि खासाका रेस्टुरेन्टमा काम गर्न हिँडेका ४ किशोरीलाई सीमाबाटै फर्काइयो । खासाको माम्फाली झुमामा काम लगाइदिने भन्दै दलालले लग्न लागेको थाहा पाएपछि माइती नेपालको सहयोगमा राजधानी फर्काइयो ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बिहीबार तातोपानीमा गरिएको 'खासामा नेपाली महिला र बालिका बेचबिखन र यसको रोकथाम' बारे छलफलमा प्रस्तुत यी केही उदाहरण मात्र हुन् । झन्डै चार वर्षदेखि यहाँका रेस्टुरेन्ट र डान्सबारका नेपाली युवतीमाथि यौन तथा श्रमशोषण हुँदै आएको कार्यक्रममा जानकारी गराइएको थियो । सीमा गाउँका बालिका र राजधानीबाट किशोरी लैजाने गिरोह सक्रिय रहेपछि ओसारपसार तथा बेचबिखन रोक्न आयोगले यस्तो कार्यक्रम गरेको हो ।

सन् २०१२ र २०१३ मा खासा जान लागेका १२ देखि १५ वर्ष उमेरका ३५ भन्दा बढी बालिका मितेरी पुलबाट फर्काइएको थियो । माइती नेपालकी पवित्रा घिमिरेले खासामा नेपाली किशोरी र बालिकामाथि हुने यौन तथा श्रमशोषणबारे सुनाइन््, उनीहरूलाई आफन्तबाटै बढी खतरा छ । उनका अनुसार संस्थाले दुई वर्षदेखि मितेरी पुलमा सूचना तथा परामर्श डेक्स राखेर काम गरिरहेको छ । सुरुमा घरेलु कामदारका रूपमा लैजाने र बिस्तारै यौन पेसामा लगाउने गरिन्छ । कार्यक्रममा सीमा क्षेत्रमा बेचबिखनविरुद्ध क्रियाशील ग्रामीण महिला सिर्जनशील परिवार, शान्ति पुनस्र्थापना केन्द्र तथा तातोपानी आमा समूहले रोजगारीका नाममा खासाबाट हुने बेचबिखनका तथ्यांक प्रस्तुत गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मानवअधिकार तथा कानुन महाशाखाका सहसचिव रमेश ढकालले हिँडडुल र रोजगारीको स्वतन्त्र अधिकार दिँदा नागरिक जोखिममा पर्ने जानकारी दिए । उनले १६ वर्षमुनिका केटीलाई सीमा पार नगराउन निर्देशन दिए । आयोगका सचिव वेदप्रसाद भट्टराईले गरिबीले मात्र बेचबिखन नहुने तर्क गरे । प्रमख जिल्ला अधिकारी गोपाल पराजुली, पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष युवराज पुरी, बेचबिखनविरुद्ध अभियानकर्ता नानीमैया थापा तथा स्थानीय आमा समूहका अगुवाले बेचबिखन विरुद्ध सीमामा बलियो सञ्जाल निर्माण गर्नुपर्ने तर्क राखे ।

Published on: 16  May 2014 | Kantipur 
 

Back to list

;