s

किशोरीलाई दिल्लीको कोठीमा बेच्‍ने पक्राउ

काठमाडौँ — चार वर्षअघि १६ वर्षीया किशोरीलाई ललाइफकाई भारतको नयाँदिल्लीस्थित कोठीमा बेच्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन नियन्त्रण ब्युरोले ५२ वर्षीय टाउटाउ तामाङलाई गोकर्णेश्वर–५ स्थित घरबाटै शुक्रबार पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची–६ स्थायी ठेगाना भएका तामाङले रोजगारीको प्रलोभनमा युवतीलाई दिल्लीको जिबी रोडस्थित एक कोठीमा तीन लाख रुपैयाँमा बेचेका थिए । उक्त कोठीले केही समयपछि युवतीलाई नागाल्यान्डको अर्को कोठीमा बेचेको थियो । बेचबिखनमा परेका महिलाको उद्धारमा सक्रिय संस्था शक्ति समूहले २०७६ भदौमा युवतीको उद्धार गरेको थियो ।

उद्धारपछि २०७६ भदौ ४ मा उनले तामाङविरुद्ध ब्युरोमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी स्रोतका अनुसार युवती बेच्ने काममा तामाङलाई अन्य दुई जनाले पनि सघाएका थिए । ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीले उनीहरूको पनि खोजी जारी राखिएको बताए ।

गत भदौयता ब्युरोले मानव बेचबिखनमा परेका ३५ युवतीसहित २ बालिकालाई भारतबाट उद्धार गरिसकेको छ । प्रवक्ता द्विवेदीका अनुसार धेरैजसोलाई रोजगारीको प्रलोभनमा पारेर भारत लगिएको र त्यहाँ पुर्‍याएपछि यौनजन्य गतिविधिमा संग्लन हुन बाध्य पारिएको देखिन्छ । उनले भारतको नयाँदिल्ली र मुम्बईबाट सबैभन्दा धेरै नेपाली युवतीको उद्धार गरिएको बताए ।

ब्युरोले गत फागुन २६ गते काभ्रेपलान्चोकको पनौतीबाट हराएकी १३ वर्षीया बालिकालाई दिल्लीबाट जेठ २७ गते उद्धार गरेको थियो । त्यस्तै, असार १७ गते कुवेत, इराक र साउदीमा राम्रो काम दिलाइदिने भन्दै दिल्ली पुर्‍याएर बन्धक बनाइएका ६ महिलालाई भारतबाट संघसंस्थाको सहयोगसँगै गृहको समन्वयमा प्रहरीले उद्धार गरेको थियो ।

Published on: 12 October 2020 | Kantipur

Link

Back to list

;