s

कोलकातामा ७ नेपाली युवतीको उद्धार

कोलकाताको सोनागाछीस्थित विभिन्न वेश्यालयमा यौनधन्दामा संलग्न गराइएका ७ नेपाली युवतीको उद्धार गरिएको छ । 
कोलाकातास्थित नेपाली महावाणिज्यदूतावासले स्थानीय प्रहरी-प्रशासन र गैर सरकारी संस्थाको समन्वयमा गत शनिबार सोनागाछीमा छापा मार्न लगाएको थियो । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र बाँकेका ती युवतीलाई उद्धार गरी सरकार अधीनस्थ चाइल्ड वेलफेयर काउन्सिलको आश्रयघरमा राखिएको छ ।

महावाणिज्यदूत चन्द्रकुमार घिमिरेका अनुसार १६ देखि २४ वर्षका युवतीहरू बढीमा दशकदेखि यौनधन्दामा रहेको पाइएको छ । यीमध्ये दुई जनालाई ४ महिनाअघि मात्रै सोनागाछी ल्याइएको थियो । 'केही युवतीलाई यौनधन्दा गराउने सञ्जालको दिल्ली र पुना अड्डाबाट हालै कोलकातामा ट्रान्सफर गरेको पाइएको छ,' घिमिरेले भने । एक युवतीलाई वेश्यालय सञ्चालकले स्थानीय धनीमानी ग्राहकको घरसेवामा लैजाने गरेका थिए ।

'अहिले स्वास्थ्य परीक्षण र घर-ठेगाना प्रमाणीकरणको काम भइरहेको छ,' घिमिरेले भने, 'थप कानुनी प्रक्रिया पूरा गरेपछि यी युवती महावाणिज्यदूतावासको जिम्मेवारीमा आउनेछन् । त्यसपछि नेपालका आश्रयस्थलमा पठाउने प्रबन्ध गर्नेछौं ।' यसरी यौनधन्दामा लगाइएका युवतीमध्ये 'नाबालक रहेको अवस्थामा' मात्रै उद्धार गर्न सकिने सामान्य नियम भए पनि कोलकाता

महावाणिज्यदूतावासले स्थानीय प्रशासनको समन्वयमा १६ वर्ष नाघेका युवती पनि उद्धार गर्दै आएको छ । स्थानीय निकायसँग समन्वय गर्न सकेमा र पीडित पक्षसँग राम्रो काउन्सेलिङ भएमा उद्धार गर्नमा कठिनाइ नरहेको घिमिरेले बताए ।

सोनागाछीस्थित वेश्यालयहरूमा पूर्वोत्तर भारत तथा बंगलादेश र नेपालका युवती ल्याएर यौनधन्दामा लगाइने तथ्य समाचारमा आइरहन्छ । 'सोनागाछी केन्द्रमा छापा मार्ने र धरपकडका काम भइरहेकाले यहाँको यौन बजार अन्यत्र स्थानान्तरण हुने क्रममा रहेको सूचना हामीले पाएका छौं,' घिमिरेले भने, 'नेपाली युवतीका हकमा भने उद्धार गर्नुपर्ने कुनै सूचना आउनासाथ हामीले प्रक्रिया थालेका छौं ।' 

दूतावासका अनुसार गत दुई वर्षमा सोनागाछीबाट मात्रै ३० भन्दा बढी नेपाली युवतीको उद्धार भएको छ । कोलकाताजस्तै दिल्ली आसपासका यौनधन्दा केन्द्रहरूमा समेत नेपाली युवतीको उपयोग भइरहेकोबारे सूचना आएर पनि दिल्लीस्थित नेपाली दूतावासले चाहिँ 'नाबालक नरहेको अवस्थामा' उद्धार गर्न नसकिने जिकिर गर्दै आएको छ । 

Published on: 29 January 2015 | Kantipur

Back to list

;