s

कोमामै स्वदेश ल्याइयो शान्तिलाई

होम कार्की

तेजबहादुरले एकोहोरो छोरीलाई हेरिराखे । छोरीले पनि एकोहोरो तेजबहादुरलाई हेरिरहिन् । ७ वर्षपछि भेटिएका यी बाबुछोरी बोल्न नसक्दा तेजबहादुरको आँखाभरि आँसुले ढाकेको थियो । छोरी शान्तिमाया दोङलाई मिल्ने भए गर्लम्म अँगालो हाल्न उनलाई मन थियो । तर एम्बुलेन्समा सुताइएकी छोरीलाई अँगालो हाल्न मिल्ने अवस्था थिएन । हेरी मात्रै रहे । ‘छोरीको मुख बल्ल देख्न पाइयो,’ निकै पछि मुख खोले, ‘यति पनि देख्न नपाइएला भन्ने ठूलो पिर लागिरहेको थियो । कुवेतको फर्बानिया अस्पतालमा ५ वर्षदेखि कोमामा उपचाररत शान्तिलाई बिहीबार ‘मेडिकल स्कर्टिङ’ मा स्वदेश ल्याइयो । उनलाई ‘निरन्तर उपचार’ का लागि पाटन अस्पतालमा भर्ना गरिएको छ । ‘छोरी सम्पर्कविहीन भएकी थिइन्,’ सुकौरा-२, मकवानपुरका तेजबहादुरले भने, ‘एक वर्षअघि मात्रै अस्पतालमा कोमामा रहेको खबर पाएँ ।’

१९ वर्षको उमेरमा शान्ति आफन्त गोपीमाया दोङ र प्रतिमान रुम्बामार्फत घरेलु कामदारको रूपमा कुबेत गएकी थिइन् । उनी गएको एक वर्षमै दुर्घटनामा परिन् । ‘पाँच तलाबाट हाम फालेकी रहिछिन्,’ शान्तिमाया सँगै आएका कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव पुष्प भट्टराईले कान्तिपुरलाई भने, ‘प्रहरीले अस्पताल पुर्‍याएको रहेछ । त्यसपछि लगातार त्यहीँ उपचार गरियो ।’ घरबाट हामफाल्नुको कारण खुलेको छैन । लामो समय उपचार गरिरहे पनि उनको परिचय खुलेको थिएन । दूतावासले कुवेतको ‘डिपोर्टटेसन सेन्टर’ मा राहदानी फेला परेपछि मात्रै घर ठेगाना खुलेको हो ।

‘अस्पतालले स्थिति सुधार नहुने भएपछि जुन अवस्थामा छ, त्यसैमा उपचार जारी राख्यो,’ भट्टराईले भने । त्यस समयसम्मको सम्पूर्ण उपचार खर्च २९ हजार पाँच सय कुवेती डिनार -करिब ७६ लाख रुपैयाँ) अस्पतालले मिनाहा गरिदिएको छ । दूतावासले तुरुन्तै घर पठाउन खोजे पनि अस्पताल प्रशासनले ‘शान्तिको नेपालमा हुने निरन्तर उपचारको ग्यारेन्टी’ खोजेपछि प्रक्रिया लम्बिएको हो । वीर अस्पतालले ‘बिरामीको हैसियत र उपलब्ध बेड’ को आधारमा उपचार गर्ने बताएपछि फर्वानिया अस्पतालले पठाएन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको अनुरोधमा पाटन अस्पतालले बिरामी लिन सहमति भयो । बोर्डले बिरामी लिन गएका नेपाली नर्सलाई नेपालबाट कुवेत पठाएको थियो ।

‘बिरामी ल्याउन साढे दुई लाख खर्च र नर्स पठायौं,’ शान्तिलाई लिन विमानस्थल पुगेका बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने । ‘उनलाई त्यहाँको नर्सले गरेको व्यहारबाट निकै प्रभावित भएँ,’ बिरामी लिएर आएकी नर्स सावित्री भण्डारीले भनिन्, ‘हेरविचारमा ज्यादै ध्यान पुर्‍याएका रहेछन् ।’

शान्ति पूरै अचेत रहेकाले खानासमेत पेटबाट दिइएको छ । ‘अचेतले खाना निल्न सक्दैन, पेटमा पाइप राखिएको छ,’ भण्डारीले भनिन्, ‘यहाँ औषधि उपचार गर्नु पर्दैन । यही अवस्थाको हेरविचार जरुरी छ ।’ उनको परिवारलाई सघाउ पुर्‍याउन कुवेतमा रहेका नेपाली समुदायले हजार डिनार -करिब दुई लाख ६० हजार रुपैयाँ) संकलन गरेका छन् ।

Published on: 5 August 2011 | Kantipur

Back to list

;