s

कोरियामा नेपाली कामदारको माग बढ्दो

दक्षिण कोरियाको साना तथा मझौला उद्योगहरूमा नेपाली कामदारको माग बढ्दै गएको छ । माग बढेकाले तीन महिनामै चौथो भाषा परीक्षा उत्तीर्ण गरेका करिब २ हजार ७ सय नेपाली उमेरदवारको श्रम सम्झौता भएको छ ।

ईपीएस शाखा नेपालले जनाएअनुसार सबैभन्दा धेरै श्रम सम्झौता फेब्रुअरी महिनामा भएको थियो । त्यस महिनामा १ हजार ६ सय १८ नेपाली कामदारको श्रम सम्झौता भएको थियो । त्यस्तै मार्चमा करिब १ हजार र जनवरीमा १ सय ११ जनाको श्रम सम्झौता भएको छ  । यही क्रममा श्रम सम्झौता भए आउँदो ६ देखि ८ महिनाभित्र बाँकी रहेका करिब ६ हजार उम्मेदवार पनि कोरिया आइसक्ने सम्भावना देखिएको छ  । गत असोज २० र २१ मा सञ्चालन भएको चौथो भाषा परीक्षाबाट औद्योगिक उत्पादन क्षेत्रमा ४ हजार ९ सय ६० र कृषितर्फ ३ हजार ७ सय ६२  गरी ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका  थिए ।

कोरिया सरकारले गत डिसेम्बरमा २०१४ का लागि ५३ हजार कोटा स्वीकृत गरेको थियो । यसबाट  प्रथम चौमासिकका लागि २२ हजार १ सय ६० कोटा छुट्याएको थियो । यसै कोटाबाट रोजगारदाताले नेपाली कामदार छानेका हुन् । नेपाली कामदार इमान्दार र मिहिनेती भएकाले रोजाइमा पर्ने गरेका छन् ।  रोजगारदाताले यो वर्ष नेपाललगायत १४ मुलुकको रोस्टरबाट कामदार छानेका छन् । पहिलो चौमासिकको कोटा विभाजन गर्दा नेपालले १ हजार ५ सय पाउने भए पनि कामदार छान्ने सबै अधिकार रोजगारदाताको भएकाले अन्य मुलुकभन्दा  दोब्बर  धेरै नेपाली कामदार छानिएका छन् । कोरियाले ईपीएसमार्फत १५ मुलुकबाट अदक्ष कामदार लिँदै आएको छ ।  अवैधानिक कामदारको संख्या धेरै भएकाले भियत्ानाम कारबाहीमा परेको छ ।  

एकचोटि भाषा परीक्षा उत्तीर्ण गरेका उम्मेदवार रोस्टरमा २ वर्ष रहन पाउने भए पनि चौथो परीक्षा उत्तीर्ण गरेका सबै कामदारको श्रम सम्झौता केही महिनामै हुने भएपछि पाँचौ भाषा परीक्षा छिट्टै  हुने भएको छ । ईपीएस शाखा नेपालका प्रमुख डिल्ली बास्तोलाले कोरियाली भाषा परीक्षा दसैंअघि हुने सम्भावना रहेको बताए । बास्तोलाले भने, 'अब २०१४ का लागि ५ हाजार ७ सय कामदार मात्र बाँकी छन्, अहिल्यै भाषा परीक्षा नलिए २०१५ मा रोस्टर खाली हुन्छ । त्यसैले भाषा परीक्षा लिनैपर्ने हुन्छ ।' एचआरडी कोरियासँग परामर्श गरेर अबको केही समयभित्रै परीक्षाको मिति तय गरिने उनले जानकारी दिए । उनले कोटा कति हुनेबारे केही खुलाएनन् ।

त्यसैगरी तेस्रो भाषा परीक्षा उत्तीर्ण गररे श्रम सम्झौता नभएका ३ हजार ७४ जना उम्मेदारहरूको रोस्टरमा रहने अवधि समाप्त भएको छ । ईपीएस कार्यालयले जनाएअनुसार २०१३ को डिसेम्बरदेखि २०१४ को फेब्रुअरीमा ती उम्मेदवारको म्याद सकिएको हो । तेस्रो भाषा परीक्षा २०११ को जुलाई २२ र २३ मा भएको थियो । यसमा १५ हजार कोटा तोकिएको भए पनि करिब १० हजारले मात्र कोरियामा रोजगारीको अवसर पाएका थिए ।

Published on: 1 April 2014 | Kantipur

Back to list

;