s

कोरियाले २०१६ मा ५८ हजार कामदार भित्र्याउने

लिलु डुम्रे
 
दक्षिण कोरियाले सन् २०१६ का  लागि  ५८ हजार बिदेशी कामदार भित्र्याउने भएको छ ।
 
कोरियाको प्रवासी मजदुर कोटा निर्धारण समितिले सन् २०१६ का लागि उत्पादन, कृषि, मत्स्यपालन, निर्माण र सेवा क्षेत्रका लागि ५८ हजार कोटा निर्धारण गरेपछि ठूलो संख्यामा विदेशी कामदारका लागि कोरियामा रोजगारीको ढोका खुलेको हो । 
 
निर्धारित ५८ हजार मध्येबाट दुई  हजार कामदार भने कम्पनीको बढी माग भएको खण्डमा मात्रै ल्याइनेछ । 
 
आगामी वर्षको प्रवासी मजदुरको कुल कोटा मध्येबाट ४६ हजार नयाँ कामदारहरुको लागि तोकिएको  छ । १२ हजार सिबिटीमार्फत फर्कनेहरुका लागि छुट्याइएको हो  । 
 
नयाँ कामदारहरुमा ३३ हजार दुई सय उत्पादन क्षेत्रका लागि छुट्याइएको छ  । कृषिक्षेत्रमा पाँच हजार नौ सय, मत्स्यपालनमा दुई हजार तीन  सय ६०, निर्माण क्षेत्रमा दुई  हजार चार  सय ५० र सेवाक्षेत्रमा ९० जनाले रोजगारीका लागि कोरिया प्रवेश पाउने छन् ।
 
२०१६ जनवरीदेखि मार्चसम्ममा उत्पादन क्षेत्रमा नौ हजार नौ  सय ६०, कृषिक्षेत्रमा तीन हजार पाँच सय ४०, मत्स्यपालनमा एक  हजार चार सय २०, निर्माणक्षेत्रमा एक  हजार चार  सय ७०  र सेवाक्षेत्रमा ९० जना कामदार कोरिया ल्याइने कोटा निर्धारण समितिले जनाएको छ  । 
 
अप्रिल महिनादेखि जुन महिनासम्ममा उत्पादन क्षेत्रमा मात्र नौ हजार नौ सय ६० जना छुट्याइएको छ  । 
 
त्यस्तै गरि जुलाईदेखि सेप्टेम्बरसम्मका लागि उत्पादन क्षेत्रमा छ  हजार छ  सय ४० जना, कृषिक्षेत्रमा दुई हजार तीन  सय ६०, मत्स्यपालनमा नौ सय ४०, निर्माणक्षेत्रमा नौ सय ८९ जना निर्धारण गरिएको छ  । 
 
२०१६ को अन्तिम तीन महिनाका लागि उत्पादन क्षेत्रमा छ हजार छ सय ४० संख्या छुट्याइएको छ  ।
 
थप गरिएको दुई  हजार कामदार वर्षका अन्तिम तीन महिनाको  अवधिमा भित्र्याइने छ । साना तथा मझौला कम्पनीहरुमार्फत कामदारहरुको माग बढी भएको अवस्थामा मात्रै  थप गरिएका कामदार भित्र्याउने निर्धारण समितिले स्पष्ट पारेको छ । 
 
सिबिटीमार्फत आउनेका लागि तोकिएको १२ हजार मध्येबाट उत्पादनक्षेत्रमा ११ हजार, कृषिक्षेत्रमा सात सय, मत्स्यपालनमा दुई सय ४०, निर्माणक्षेत्रमा ५० र सेवाक्षेत्रका लागि १० जना छुट्याइएको छ । सिबिटीका लागि छुट्याइएको १२ हजारलाई कुन् महिनामा कति संख्या ल्याइने भने उल्लेख गरिएको छैन  ।
 
कोटा निर्धारण समितिले २०१६ मा ३७ हजार पाँच  सय ९३ जना अवधि सकिएर फिर्ता हुने जनाएको छ । १० हजार विभिन्न कारणले आफ्नो देश फिर्ता हुने मजदुरको सट्टामा र १० हजार एक  सय ७७ जना कम्पनीको नयाँ थप मागपूर्ति गर्न ल्याइने  जनाएइको छ ।
 
२०१६ देखि कोरियाले इपिएसमार्फत लाओस बाट पनि प्रवासी मजदुर ल्याउने निर्णय गरेको छ ।  इपिएस लागू भएको कोरिया १६ औँ देश हो । 
 
सेवा, मत्स्यपालन र निर्माणक्षेत्रमा नेपाली कामदारलाई कार्य अनुमति दिइएको छैन । सन २०१६ का लागि गत वर्ष भन्दा तीन हजार बढी कामदार भित्र्याइने छ । 
 
२०१६ का लागि निर्धारण गरिएको कोटाबाट इपिएस लागू भएका देशहरुले प्राप्त गर्ने संख्या भने तोकिएको छैन ।
 
Published on: 14 December 2015 | Annapurna Post
 

Back to list

;