s

कोरियाले थप ३ हजार लैजाने

योगेश खतिवडा

दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली -इपिएस) मार्फत १० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाली रोजगारदाता नेपाली कामदारका कामबाट सन्तुष्ट भएकाले ३ हजार बढाएर १० हजार नेपाली लैजाने भएको हो ।

यसअघि सन् २०१२ मा कोरियाले ७ हजार १ सय कामदार लैजाने बताए पनि श्रम मन्त्रालयको पहल र नेपाली कामदारको लोकपि्रयताले गर्दा थप २ हजार ९ सय कामदार लैजाने भएको हो । यसले कोरिया जान लागेको भीडमा केही थप नेपाली युवालाई काम गर्ने अवसर मिल्ने छ । श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले मन्त्रालयले कोटा बढाउन गरेको प्रयास सफल भएको बताए । 'कोरियाको यसअघि घोषणा गरेको भन्दा झन्डै ३ हजार कोटा थप गर्ने जनाएको छ,' उनले भने, 'यसले थप नेपाली कोरिया जाने भएका छन् ।'

कोरियाले साउन ७ र ८ गते दिएको भाषा परीक्षामा सामेल भएकामध्ये १० हजार नेपाली युवा जाने भएका हुन् । त्यसबेला भएको भाषा परीक्षामा ५० हजार युवा सहभागी थिए । कोटा वृद्धि भए पनि कोरियाले भाषा परीक्षामा सामेल भएकामध्ये सबैभन्दा बढी अंक ल्याउने १० हजारलाई उत्तीर्ण गराउने छ ।

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ ।

अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । कोरियाले बर्सेनि नेपाली कामदारको कोटा वृद्धि गरिरहेको छ ।

साउनको पहिलो साता भएको भाषा परीक्षाको नतिजा साउन २७ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले स्वास्थ्य परीक्षा र प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूको नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपmनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार लैजाने गर्छन् ।

कोरियामा रहेका नेपालीले मासिक ६० हजारभन्दा माथि आम्दानी गर्छन् । हालै कोरिया सरकारले सन् २०१२ बाट मासिक न्यूनतम तलबमा ४ हजार रुपैयाँ बढाउने निर्णय गरेपछि नेपालीहरूले कम्तीमा पनि ६५ हजार रुपैयाँ आम्दानी गर्ने भएका हुन् । यस्तै कोरियाले विदेशी कामदारलाई सुरुमा तीन वर्षको अनुमति दिने र थप दुई वर्ष बस्न पनि सहजै सक्ने कानुनी व्यवस्था केही दिन अगाडि गरेको छ । यसले इपिएसअन्तर्गत गएका नेपालीहरू पनि पाँच वर्ष कोरिया बस्न सक्ने भएका छन् ।

अर्को छनोट भदौ अन्तिममा
काठमाडौ -कास)- नेपाली कामदारबाट सन्तुष्ट देखिएको कोरियाले सन् २०१२ का लागि भाषा परीक्षा लिएको एक महिना नबित्दै अर्को चरणमा कामदार छनोट प्रक्रियासमेत सुरु गर्ने भएको छ ।

नेपालीहरूको तीव्र इच्छा र श्रम मन्त्रालयले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण कोरियाले यही भदौको अन्त वा असोजको सुरुमा अर्को चरणमा नेपाली कामदार लैजानका लागि छनोट प्रक्रिया सुरु गर्ने जनाएको हो ।

'कोरियाले अर्को चरणका लागि भदौको अन्तिम साता वा असोजको पहिलो साताबाट पुनः छनोट प्रक्रिया सुरु गर्ने जनाएको छ,' श्रममन्त्री मोहम्मद इस्तियाक राईले भने, 'त्यसबेला भाषा परीक्षाका लागि आवेदन संकलनको काम गर्ने सोच कोरियाको छ ।' अहिले निश्चित मिति तय नभए पनि अर्को चरणको छनोट प्रक्रिया असोजसम्ममा सुरु गर्ने आश्वासन कोरियाबाट पाएको बताए । अब भाषा परीक्षाका फारम संकलन राजधानी र बुटवलबाहेक मुलुकको पूर्वी भेगबाट पनि गरिने उनले  जानकारी दिए । 'सुरुमा काठमाडौंमा मात्र रहेको फारम संकलनको व्यवस्था यसअघि बुटवलमा पनि गरेका थियौं,' उनले भने, 'अब पूर्वी भेगबाट पनि गर्ने सोच बनाएका छौं ।' उनले त्यसअन्तर्गत १० हजारभन्दा बढी कामदार लैजाने आश्वासन पाए पनि कति संख्या भने निश्चित नभएको उनले बताए ।

Published on: 4 August 2011 | Kantipur

Back to list

;