s

कुवेतमा मृत्यु भनिएकी जीवितै

घनश्याम खड्का

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।

२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर-५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् । 'म हालसम्म आफ्नै घरमा जीवित रहेकी छु, मृत्यु भएको छैन,' दर्जीले गाविस सचिव चित्रबहादुर आचार्यलाई लिखित रूपमा जानकारी गराएकी छिन् । उनी जिल्ला प्रशासन कार्यालयबाट जारीे २७२१७२१ नम्बरको राहदानी वाहक हुन् । कुवेतस्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत ०६८ जेठ २३ मा 'बाबियाचौर-५ की शान्ति दर्जीको शव कुवेतमा फरेन्सिक मेडिकलमा रहेको र नेपाल झिकाउन ९५ हजार रुपैयाँ लाग्ने भएकाले उनका निकटतम व्यक्ति सोमवीर दर्जी हुन्/होइनन् यकिन गरी निकटतम व्यक्तिलाई खबर गर्न' जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो ।  जिल्ला प्रशासनले बोर्डको पत्रअनुसार दर्जीको खोजी गरी जानकारी गराउन गाविसलाई भनेको थियो ।

'गाविसले कुवेतमा दुर्घटनामा परी मृत्यु भएको भनिएकी शान्ति दर्जी घरमा जीवित रहेको पुष्टि गरेको छ । सम्भवतः वैदेशिक रोजगारमा कामदार लैजाने एजेन्टहरूले उनको पासपोर्टमा पिसी -एक जनाको तस्बिर हटाई अर्कैको टाँस्ने काम) गरेकाले यस्तो समस्या आएको हो,' सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले भने ।

Published on: 2 August 2011 | Kantipur

Back to list

;