s

लाहुर जाने रहर

'लाहुरे दाइको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको’

लाहुरेका नाममा सम्भवतः सबैभन्दा बढी रुचाइएको यही गीतको प्रभावमा परेर अघिल्ला पुस्तामध्येका हजारौं नेपाली युवा बेलायत र भारतीय सेनामा भर्ना भए। बेलायती पाउन्ड स्टर्लिङ कमाउने ध्येयले दोस्रोपटक 'गल्ला' मा भिड्न लागेका २१ वर्षीय वसन्त लाबुङ लिम्बूलाई यो पुरानो गीतबारे कमै थाहा छ। पहिलोपटक सबैमा पास भए पनि पोखरा छनोटमा जान नाम निस्केन। गत वर्ष पोखरासम्मको यात्रा तय गरे पनि अन्तिममा 'एजुकेसन' नपुगेको भनिएपछि निराश भएका उनले हार खाएनन्, यसपटक बेलायती गोर्खा सेना बनेरै छाड्ने सपना साँचेर दैनिक अभ्यासमा जुटेका छन्। 

झापाको पृथ्वीनगर ६ सीताबस्तीका उनले स्थानीय उच्चमाविमा कक्षा १२ सम्म पढेका छन्। लाहुरे बन्ने धुनमा बाँकी पढाइ थाँती राखेर गल्ला भिड्न आएका हुन्। 'एसएलसी पास गर्नासाथ निरन्तर प्रयास गरिरहेको छु तर दुई पटकसम्म भाग्यले साथ दिएन,' उनले भने, 'यसपालि चाहिँ अलिक बढी मेहेनत गरेको छु, पास हुने विश्वास पलाएको छ।'

लाहुर गएर पैसा कमाउने सपना बुन्ने युवा कम छैनन्। ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाबाट धरान झरेर आवासीय तालिम लिनेहरूको संख्या दुई हजारभन्दा बढी छ। आफैं तालिम लिनेको संख्या पनि कम छैन। मोरङको लेटाङ २ दार्जिलिङ लाइनका १९ वर्षीय आशिष श्रेष्ठ धरान १५ बुढासुब्बा चोकस्थित बोल्ड टे्रनिङ सेन्टरमा आवासीय तालिममा छन्। 'पहिलोपटक प्रयास गर्दै छु, अरूको दाँजोमा राम्रै गर्दै छु, बेलायतको सपनाले खिचेको छ,' उनले भने। भारतको नयाँदिल्लीमा उच्चमावि पढापढै धरान आइपुगेका उनी यसपालि नसके अरू दुई वर्ष भिड्ने योजनामा छन्। 

पाँच महिनादेखि साँझ/बिहान कडा परिश्रम गर्दै आएका धनकुटा वसन्तटार ३ सोक्रोक्पाका १८ वर्षीय मौसम लिम्बू प्रथम श्रेणीमा एसएसली पास भएर मोरङको पाथीभरा कलेजमा व्यवस्थापन संकायमा भर्ना भए। तर, बेलायतको सपनाले दिनरात पिरोलेपछि एक साता पनि कक्षा नलिई तालिम केन्द्र खोज्दै धरान आए। 'मेरा बाजेले दोस्रो विश्वयुद्धमा लडेको कथा सुनेको थिएँ,' उनले भने, 'अब बाजेले जस्तै गोर्खालीको नाम राख्न पढाइ छाडेर लाहुरे बन्ने सपना पूरा गर्न प्रयासरत छु।' 

बेलायत वा सिंगापुरको लाहुरे बन्ने सपना बुन्ने युवा धरानमा हरेक साँझबिहान सडकमा कडा कसरत गरिरहेका भेटिन्छन्। बेलायतको लाहुरे भए उतैको नागरिक पनि बन्न पाइने, पैसा कमिने र संसार देख्न पाइने आशामा भर्ती हुन चाहनेको संख्या बढेको हो।

बेलायतको सामान्य गोर्खा सिपाहीले मासिक डेढ लाख रुपैयाँभन्दा बढी कमाउँछ। सिंगापुर पुलिस फोर्समा सिपाहीको मासिक तलब ८० हजारदेखि सवा लाख रुपैयाँसम्म छ। पछिल्लो समयमा पेन्सन आएका ब्रिटिस गोर्खाले समेत मासिक ३० हजार रुपैयाँभन्दा बढी पाउँछन्। सिंगापुर पुलिसले पेन्सनमात्र मासिक ८० हजारभन्दा बढी पाउँछन्। सोही कारण छाती नपाएर भर्ती हुन चाहने बढेका हुन्। नयाँ पुस्तामा लाहुरे बन्न चाहने बढे पनि भर्ती भएकाको संख्या भने बर्सेनि कटौती भइरहेको छ। यस्तो सपना बोक्ने अधिकांशले पढाइ माया मारेका छन्।

पूर्वका प्रमुख गल्ला मोहन हुक्पा चोङवाङका अनुसार यसपटक बेलायतका लागि दुई सय र सिंगापुर पुलिसका लागि ६० जनाको कोटा छ। कोटा पूरा गर्न पूर्वबाट बेलायतका लागि एक सय र सिंगापुरका लागि ३० जना छनोट हुनेछन्। पश्चिमबाट पनि सोही अनुपातमा छानिने उनले जानकारी दिए। 'प्रतिस्पर्धा कडा छ, जसले बढी मेहेनत गर्छ ऊ सफल हुन्छ,' चोङवाङले भने, 'सोर्सफोर्सको कुनै गुन्जाइस छैन।' उनका अनुसार भदौ १६ देखि पूर्वका करिब २ हजार युवा धरान घोपा क्याम्पमा पोखरासम्म पुग्नका लागि कडा प्रतिस्पर्धामा सामेल हुँदै छन्। 

कडा कसरत

पाँच वर्षदेखि व्यावसायिक तालिम सञ्चालन गर्दै आएका धरान-१५ बुढासुब्बा चोकस्थित बोल्ड टे्रनिङ सेन्टर सञ्चालक शक्ति राईका अनुसार एसएलसी पास गरेका साढे १७ देखि २१ वर्षसम्मका स्वस्थ र योग्य युवाले मात्र भर्ना पाउँछन्। 'रनिङ, ह्याभिङ र सेटअप नै गर्न नसक्नेलाई भर्ना लिँदैनौं,' उनले भने, 'हामीले त थप कडा मेहेनत गराएर भर्ती लाग्नका लागि चाहिने कसरतमा अब्बल बनाउने मात्र हो।'

उनका अनुसार धरान ७ शान्तिपथस्थित विफ टे्रनिङ सेन्टर, माउन्ट एभरेस्ट, टफ, सनराइज, ब्रिटिस गोर्खा प्रि-ट्रेनिङ सेन्टर र मनकामना धरानका मुख्य तालिम केन्द्र हुन्। जसमा ७५ देखि दुई सयसम्म युवा अभ्यासरत छन्। ती केन्द्र नेपाल फिजिकल ट्रेनिङ एसोसिएसनमार्फत दर्ता भएका छन्। पूर्वमा यस्ता १८ केन्द्र छन्, दमक र इलाममा १/१ तथा बाँकी धरानमा। धरानका अन्य १० केन्द्रमा ३० देखि ७५ युवा नियमित अभ्यासमा छन्। तीनदेखि चार महिनाको अभ्यासका लागि कम्तीमा ३० हजार खर्च हुन्छ। केन्द्रमा कम्तीमा एक जना एसोसिएसनको मान्यता प्राप्त प्रशिक्षक हुन्छन्। केही वर्ष अघिसम्म तालिम केन्द्रमा पूर्वगोर्खा 'गुरुजी' लाई नै प्रशिक्षक राखिन्थ्यो। अचेल त्यो चलन छैन।

धरान घोपाक्याम्पमा प्रतिस्पर्धामा सामेल हुने करिब दुई हजार ६ सयबाट छनोटमा परेका तीन सय १० जना पोखरा पुग्ने छन्। पोखरामा पश्चिम क्षेत्रबाट छनोट भएर आएका त्यति नै संख्या गरी ६ सय २० जनाबीच २५ किलो तौलको 'डोको क्यारी' सहित कडा प्रतिस्पर्धा हुनेछ। त्यसपछि बेलायती सेनाका लागि दुई सय र सिंगापुरका लागि ६० जना छनोटमा पर्नेछन्। यसपटक बेलायतका लागि फारम भरेर भिड्न एक हजार पाँच सय र सिंगापुरका लागि एक हजार एक सय जना पूर्वबाट प्रतिस्पर्धामा छन्।

मुलुकमै पहिलोपटक लाहुरे भर्ती तालिम केन्द्र ०५८ सालमा धरानको सैनिक चोकमा राजेन्द्र राईले प्रि-र्मी टे्रनिङ सेन्टरका नाममा सञ्चालनमा ल्याएका थिए। अन्य व्यावसायिक केन्द्र त्यसयता नै खुलेका हुन्। भर्ती हुन चाहने युवालाई यस्ता केन्द्रले शारीरिक र बौद्धिक विकासमा मद्दत पुर्‍याउँछन्। केही वर्ष अघिसम्म कक्षा ८ पास गरे पुग्थ्यो। पछिल्लो समय एसएलसी पास हुनैपर्ने, राम्रो अंगे्रजी बोल्न र लेख्न सक्ने तथा सामान्य ज्ञानको जानकारी राख्न सक्ने बौद्धिक युवा पनि हुनैपर्ने सर्त छ। तीन दशकअघि भर्ती हुन बन्दुक बोक्न र चलाउने सक्ने तन्दुरुस्त युवा भए पुग्थ्यो। तर, अहिले सोझो, इमानदारका साथै बौद्धिक गोर्खा सिपाहीमा जोड दिइएको छ। एक गल्लावालाका अनुसार बेलायती सेनालाई पछिल्लो समयमा 'युनिभर्सल सोल्जर' का रूपमा विकास गरिएकाले शारीरिक रूपमा सक्षम र मानसिक रूपमा बौद्धिक हुनुपर्ने नियम लगाइएको छ।

यस्तो छ प्रक्रिया

पूर्वका २६ जिल्लाका लागि पहिलो खुड्किलो पार गर्न धरानस्थित पुरानो घोपा क्याम्पमा पास हुनुपर्छ। त्यहाँ पास हुन धरानमा तालिम केन्द्रमा तीनदेखि चार महिनासम्म तालिम लिन्छन्। ब्रिटिस र सिंगापुरको लाहुरे बन्न निश्चित मापदण्ड छ। पाँच फुट दुई इन्च उचाइ (यसअघि पाँच फुट तीन इन्च अनिवार्य थियो), ५० किलो तौल, नफुलाई ३२ इन्च छाती तथा निरोगी र तन्दुरुस्त हुनैपर्छ। एसएसली पासभन्दा माथिकालाई मात्र लिन थालिएको पछिल्लो समयमा धरानबाट पोखरासम्मको यात्राका लागि आठ सय मिटरको दूरी २ मिनेट ४० सेकेन्डमा पार गर्नुर्पर्छ। यसअघि २ मिनेट ४५ सेकेन्डमा पार गरे पुग्थ्यो। 'ह्याबिङ' १२ पटक र 'सेटअप' दुई मिनेटमा ७० पटक हान्नैपर्ने तथा एजुकेसनमा डिस्टिङ्सन ल्याउनैपर्ने प्रावधान छ।

इतिहासमा लाहुरे 

सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि भएयता नेपाली युवालाई बेलायतले आफ्नो सेनामा भर्ना लिन थालेको हो। गोर्खाली युवाको वीरताको कदर गर्दै बेलायतले उनीहरूको अलग्गै सैनिक एकाइका रूपमा गोर्खा रेजिमेन्ट (जीआर) खडा गर्‍यो। सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट मुक्त हुँदा ९ वटा जीआर थिए। तीमध्ये पाँचवटा भारतमै छाडिदियो भने चार वटालाई बेलायत लग्यो। इन्जिनियर, सिग्नल र जीटीआर (चालकहरूको पल्टन) गरी बेलायतमा थप तीन वटा जीआर थपियो। 

इतिहासकारहरूका अनुसार गोर्खा सेनामा भर्ना हुने नेपाली युवालाई लाहुरेको संज्ञा दिनुको कारण भने अलग्गै छ। सुगौली सन्धिबाट निराश भएका बलभद्र कुँवर करिब दुई सय पूर्वनेपाली सैनिकलाई साथमा लिएर पञ्जाबका राजा रणजित सिंहको फौजमा भर्ना भए। उनको नेतृत्वमा बटालियन नै खडा भयो, जुन हाल पाकिस्तानमा पर्ने लाहौरमा तैनाथ थियो। सोही बटालियनमा भर्ना हुन नेपाली युवा जान थाले। उनीहरूलाई नै लाहुरे भन्न थालियो। पछि, बेलायती र भारतीय गोर्खा सेनामा भर्ना भएका युवालाई पनि चलनचल्तीको भाषामा लाहुरे भन्न थालिएको हो। 

Published on: 30 August 2014 | Kantipur

Back to list

;