s

मानव अधिकार आयोगको स्थलगत अध्ययन

घनश्याम खड्का

कोरियाली नागरिकसँग बिहे गरेर उतै बसोबास गर्दै आएका नेपाली युवतीहरू चर्काे घरेलु हिंसामा परेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अधिकांश महिला कोरियामा अमानवीय वातावरणमा पिल्सिइरहेका छन् ।

'केही केहीले सुख पनि पाएका छन्,' अध्ययन टोलीमा सामेल आयोगका निवर्तमान सदस्य गौरी प्रधानले भने, 'तर धेरै युवती दुःखमा बाँचिरहेका छन् ।'

आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्याय र सदस्यद्वय रामनगिना सिंह तथा प्रधानको टोलीले गत अगस्टमा कोरिया र मलेसियाको स्थलगत भ्रमण गरेर त्यहाँका नेपाली कामदार र बिहे गरेर गएका महिलाहरूबारे खोजबिन गरेको थियो ।

आयोगले यसरी विदेशमा गएर आफ्ना देशका नागरिकको मानव अधिकारका अवस्थामा गरेको यो पहिलो अध्ययन हो । कोरियामा नेपाली कामदारको अवस्थाबारे सम्बोधन गर्नुपर्ने महत्त्वपूर्ण विषयमध्ये महिलाको स्थिति पनि पहिलो भएको प्रधानले बताए ।

आयोगका अनुसार नेपालमा खुलेका 'म्यारिज ब्युरो' हरूले कोरियाली केटासँग बिहे गर्न नेपाली युवतीलाई फकाइफुलाई तयार पार्ने गरेका छन् । सुन्दर सपना, समृद्ध जीवन र सुखी परिवारको आस देखाएर यस्ता ब्युरोले कोरियाका बूढा र अपांग केटाहरूसँग नेपाली युवतीलाई बिहे गराइदिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

भ्रमणका क्रममा घरेलु हिंसाबाट मरणासन्न हुने गरी घाइते भएका नेपाली युवती पनि भेटिएको प्रधानले बताए । 'काभ्रेकी एक जना २२ वर्षकी युवतीलाई हामीले भेट्यौं,' प्रधानले भने, 'उनलाई कोरियाली श्रीमान्ले बेसरी पिटेर भित्तामा धकेल्दा टाउकामा ठूलो चोट लागेछ, त्यसका कारण उनलाई ब्रेन हम्मरेज भयो ।'

अहिले ती युवतीलाई प्यारालाइसिस भएको प्रधानले बताए । अधिकांश युवतीहरूलाई त्यहाँका कम पढेलेखेका किसानहरूले बिहे गर्ने गरेको प्रधानले बताए । 'कतिपय कमजोरी नेपाली पक्षको पनि पाइयो, कतिपय कोरियालीहरूको कमजोरी पनि देखियो,' प्रधानले भने, 'तर जेजस्तो कारण भए पनि दुःख भने हाम्रै चेलीहरूले नै पाइरहेका छन् ।'

आयोगका अनुसार कम्तीमा १ हजार नेपाली युवती हाल कोरियामा बिहे गरेर बसोबास गरिरहेका छन् । नेपाली युवतीको अवस्थाका बारेमा आयोगको टोलीले कोरियाली मानव अधिकार आयोगका पदाधिकारीलाई भेटी ध्यानाकर्षण पनि गराएको थियो ।

'उताको आयोग यसबारे निकै संवेदनशील देखिएको छ,' प्रधानले भने, 'केही कोरियाली महिला नेपालीसँग बिहे गरेर यता आएका रहेछन्, त्यसबारे पनि उनीहरूले चासो दिएका छन् ।'

Published on: 25 December 2013 | Kantipur

Back to list

;