s

‘मकाउमा नेपालीको माग दोब्बर हुँदैछ'

ब्रोकिङ्स र जेपी मोर्गानले बिहीबार जारी गरेको रिपोर्टअनुसार राम्रो आर्थिक प्रदर्शन गर्ने विश्वका तीन सय सहरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले शीर्ष स्थान ओगटेको छ। मकाउमा ३० भन्दा बढी क्यासिनो होटल सञ्चालनमा छन्, जसको मुख्य सुरक्षा गोर्खाको नामले प्रसिद्ध नेपालीको हातमा छ।

२०१२ मा क्यासिनो व्यावसायबाट ३८ अर्ब अमेरिकी डलर राजस्व संकलन भएको मकाउमा २०१४ मा तीन करोड १५ लाख पर्यटकले भ्रमण गरेका थिए। चीनको भ्रष्टाचार नियन्त्रण अभियानले क्यासिनो व्यावसायमा केही असर पुगे पनि हङकङ नजिकको मकाउ नेपालीका लागि सुरक्षित र आकर्षक गन्तव्य नै मानिन्छ। मकाउमा नेपालीलाई रोजगार प्रवर्द्धन गर्ने एउटा मुख्य संस्था हो– गोर्खा एकता इन्टरनेसनल, जसले हङकङको सुरक्षा र निर्माण क्षेत्रमा समेत त्यहाँका नेपालीलाई रोजगारी दिँदै आएको छ। गोर्खा सैनिक पृष्ठभूमिका यमकुमार (त्रिलोक) गुरुङ गोर्खा एकता इन्टरनेसनलका निर्देशक हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष, एसिया प्रशान्त क्षेत्रका संयोजक हुँदै अहिले केन्द्रीय सल्लाहकार गुरुङसँग नागरिकले हालै मकाउमा गरेको वार्ताः

एसियाको ‘क्यासिनो हब' मकाउमा नेपालीले कस्तो अवसर पाएका छन्? 

पछिल्लो समय क्यासिनो व्यापारमा मकाउले धेरै प्रगति गरेको छ। अमेरिकाको लसभेगस विश्वकै ठूलो क्यासिनो सहर मानिन्छ तर अहिले मकाउले क्यासिनो होटलबाट लासभेगस भन्दा आठ गुणा बढी कमाइरहेको छ। मकाउका लागि यो ‘पीक' समय हो र अझै ठूलो लगानीमा नयाँनयाँ क्यासिनो होटल निर्माण भइरहेका छन्। विश्वकै एउटा आकर्षक रोजगार गन्तव्य बनेको मकाउमा नेपालीले पनि राम्रो अवसर पाएका छन्। सेवा सुविधा र कानुनी पक्ष विश्वकै उत्कृष्ट भएकाले मकाउ सुरक्षित रोजगार गन्तव्य बनेको हो। सेवा सुविधामा स्थानीय बासिन्दा र विदेशीबीच कुनै भेदभाव छैन। नेपाल, म्यानमार, बंगलादेश, फिलिपिन्स जहाँबाट आए पनि समान सुविधा पाएका छन्, दोहोरो मापदण्ड छैन। क्षमता भएको र मिहिनेती व्यक्तिलाई यहाँ राम्रो अवसर छ। नेपाली भनेका सुरक्षाकर्मी र घरेलु कामदार हुन् भन्ने मान्यता गलत साबित हुँदैछ। नेपालीको अनुभव र सीप धेरै विकास भैसकेको छ। सुपरभाइजर, सिनियर म्यानेजर भएर काम गर्ने संख्या बढ्दैछ, जो चाँडै डाइरेक्टर तहमा पुग्दैछन्।

सुरक्षित र आकर्षक गन्तव्य भए पनि मकाउमा नेपालीको संख्या सानो छ, रोजगारीको अवसर बढ्ने सम्भावना कत्तिको छ? 
अहिले मकाउमा तीन हजार नेपाली काम गरिरहेका छन् तर नयाँ होटल क्यासिनो थपिने क्रमसँगै हाम्रो संख्या बढिरहेको छ। भर्खरै हामीले ग्यालेक्सी होटल क्यासिनोमा चार सय नेपाली ल्याउन काठमाडौँमा अन्तर्वार्ता गर्यौँ । २०१५ मा दुई वटा ठूला होटल क्यासिनो थपिँदै छन्, जसमा सात–आठ सय नेपाली आउने निश्चित छ। मेरो अनुमानमा २०१७ सम्म मकाउमा काम गर्ने नेपालीको संख्या छ हजार पुग्छ, जुन अहिलेको भन्दा दोब्बर हो। मकाउको जनसंख्या सानो छ र अन्य धेरै अवसर भएकाले सुरक्षाकर्मी जस्तो उभिएर गर्ने काममा उनीहरूको रुची छैन। दोस्रो, मकाउको क्यासिनो क्षेत्रमा मुख्य भूमि चीनका कामदारलाई निषेध गरिएकाले पनि हामीले बढी अवसर पाएका हौँ। होटल क्यासिनोको सुरक्षा क्षेत्रमा नेपाली नै एक नम्बरमा छन्। एफ एन्ड बी, हस्पिटालिटीमा पनि नेपालीको माग बढ्दो छ। 

मकाउमा काम गर्ने नेपालीले जुवाको लतमा फसेर घरबार सिध्याएका खबर पनि आउँछन्, अहिले कस्तो छ अवस्था? 
मकाउ मनोरञ्जनको सहर हो र जुवा नै यहाँको मुख्य आम्दानीको स्रोत हो। जुवाको साथमा जाँड–रक्सी त हुनै नै भयो। होसियार हुनुपर्ने धेरै पक्ष छन्, एक हिसाबले ‘जान्नेलाई श्रीखण्ड नाजन्नेलाई खुर्पाको बीँड' हो मकाउ। त्यसैले हामीले व्यवसायको साथसाथै संरक्षकको भूमिका पनि निभाउनु परिरहेको छ। मैले काठमाडौँमा अन्तवार्ता लिँदा नै जुवा–तासमा रुची छ भने मकाउ नजानोस् भनेर सम्झाउने गरेको छु। मकाउमा राम्रो काम गर्ने भाईहरूले पोखरा, काठमाडौँ, बुटवल, धरानमा जग्गा लिएको, एक डेढ करोडको घर बनाएको, छोराछोरीलाई राम्रो शिक्षा दिएको जस्ता प्रगतिको कथा सुनाउँदा खुसी लाग्छ। तर केही भाईहरू जुवाको लतमा लागेर घर न घाटको भएर बसिरहेका छन्। घरमा पैसा पठाउन त परै जाओस्, छ महिना एक वर्षदेखि परिवारसँग सम्पर्कमै नआउने दयनीय अवस्था पनि छ। त्यस्ता व्यक्तिलाई होटल व्यावस्थापनसँगै बसेर सम्झाउने र सकेसम्म सुधार गर्ने प्रयास गर्छौँ। केही नलागेपछि कामबाट छुटाएर परिवारसँग बस्नेगरी नेपाल फिर्ता पठाउने र सुध्रेपछि फेरि ल्याएर काममा लगाइदिने गरेका छौँ। 

मकाउमा रोजगार प्रवर्द्धनमा नेपाली महावाणिज्य दूतावासको भूमिका कस्तो छ?
हामीले आफ्नो तर्फबाट नेपालको प्रवर्द्धन गरिरहेका छौँ र त्यसमा दूतावासको सहयोग पनि राम्रै छ। तर सरकारको तर्फबाट थप प्रयास गर्ने हो भने मकाउमा नेपालीलाई रोजगारीको थप बाटो खुल्न सक्छ।

नेपालमा होटल क्यासिनो विस्तारमा मकाउको अनुभव कत्तिको सान्दर्भिक होला? 
क्यासिनो नेपालमा नयाँ व्यावसाय होइन। पञ्चायत कालदेखि नै सोल्टी होटलको क्यासिनो निकै चर्चामा थियो। त्यसपछि अरु क्यासिनो पनि आए तर व्यावस्थापनको ठूलो समस्या देखिन्छ। केही साताअघि मात्र ‘नेपालमा क्यासिनो होटलको बजार राम्रो छ, हामी नेपाली व्यावसायीसँग मिलेर लगानी गर्न इच्छुक छौँ' भनेर मकाउको एउटा ठूलै कम्पनी सम्पर्कमा आएको थियो। नेपाल पुगेर अध्ययन गरेपछि त्यो कम्पनीले प्रस्ताव ल्याएको हो। भारतीयलाई लक्षित गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो होटल खोल्ने त्यो कम्पनीको योजना छ। अर्कोतिर चिनियाँ पर्यटकको संख्या बढिरहेको छ नेपालमा। जुवा चिनियाँ समाजको एउटा पाटो नै हो। विश्वकै ठूलो जनसंख्या र अर्थतन्त्र भएको चिनियाँ बजारलाई लक्ष्य गरी नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षित क्यासिनो होटल आवश्यक छ। अहिले नयाँ खालको जुवा खेल्ने तरिका ‘अनलाइन ग्याम्बलिङ' व्यापक छ। परम्परागत क्यासिनो विस्थापित गरी नयाँ खालको अन्तर्राष्ट्रिय प्रणाली ल्याउने हो भने नेपालमा यो व्यावसायको बजार राम्रो छ। 

हङकङमा पनि तपाईंले आफ्नै सुरक्षा कम्पनी खोलेर नेपालीलाई रोजगारी दिनु भएको छ, कस्तो छ त्यहाँको व्यवसाय? 
ब्रिटिस सेना छाडेपछि मैले हङकङ आएर जिफोरएस सुरक्षा कम्पनीमा काम सुरु गरेँ। त्यहाँ अनुभव र शिक्षा लिँदै थिएँ, एउटा चिनियाँ साथीले उसको सुरक्षा कम्पनी किन्न प्रस्ताव गर्यो । ‘हामीले चलाउन धौ धौ भो, तिमी गोर्खा पृष्ठभूमीको भएकाले चलाउन सक्छौ' भन्यो। अवसर किन छाड्ने भनेर मैले त्यो चिनियाँ सेक्युरिटि कम्पनी लिएँ। हङकङमा नेपालीको पहिचान र इतिहास गोर्खा भएपनि विस्तारै त्यो बिलाउँदै गएको थियो। मैले आफ्नै व्यावसायिक रणनीति र मापदण्ड सहित दुई वर्षपछि त्यो चिनियाँ कम्पनीलाई गोर्खाज ब्रान्डसहित नेपालीमा रुपान्तर गरेँ। त्यसको नाम गोर्खा एकता इन्टरनेसनल अन्तर्गत गोर्खा एकता सेक्युरिटि सर्भिस लिमिटेड राखेँ। त्यसयताका छ वर्षमा हाम्रो कम्पनी निकै माथि आइसकेको छ। हङकङमा नाम चलेको छ र धेरै ठूला कम्पनीले हामीसँग काम गरिरहेका छन्। 
हाम्रो कम्पनीको सामान्य सेक्युरिटि गार्डले पनि महिनामा कम्तिमा १८ हजार हङकङ डलर तलब खान्छ। हङकङको अहिलेको बजारमा यो आकर्षक तलब हो। हङकङको सुरक्षा क्षेत्रमा गोर्खालाई नम्बर एक बनाउने हाम्रो लक्ष्य हो। पहिला बेलायती, चिनियाँहरूले कम्पनी खोलेर नेपालीको ब्रिटिस सेनाको अनुभव, मेहनत र इमान्दारीबाट फाइदा उठाएर करोडौँ डलर कमाउन सफल भए। हामीप्रति त्यत्रो विश्वास र शक्ति हुँदा पनि किन अगाडि बढ्न सक्दैनौँ भन्ने लागिरहन्थ्यो। अहिले हङकङको सेक्युरिटी बजारमा गोर्खा एकता कम्पनी नचिन्ने छैनन् जस्तो लाग्छ। हामी नेपालीले नै सञ्चालन गरेको गोर्खा ब्रान्डको यो कम्पनी अबको दुई वर्षभित्र हङकङको सेक्युरिटी बजारमा अग्रपंक्तिमा आउने विश्वास छ। 

तपाईं हङकङको निर्माण व्यावसायमा पनि संलग्न हुनुहुन्छ, सेक्युरिटी र निर्माण गरी तपाईंको कम्पनीमा कति नेपालीले काम गर्छन्? 
हङकङको सेक्युरिटी र निर्माण गरी अहिले हामीसँग करिब छ सय नेपाली कामदार छन्। निर्माण क्षेत्रमा अहिले हाम्रो हातमा छ–सात वटा परियोजना छन्। त्यसमध्ये तीन वटामा बढी सक्रिय छौँ– हङकङ आइल्याण्डको मेट्रो सुरुङ, हङकङ–ग्वान्झाओ रेलवे र अर्को एउटा ढल निकासको परियोजना। हङकङको पूर्वाधार निर्माणमा पहिलेदेखि नै नेपालीको प्रमुख भूमिका छ। नेपाली जनशक्ति छैन भने हङकङको रेलवे सुरुङ निर्माण नै धौ धौ पर्छ। सुरुङमा ड्रिल एन्ड ब्लास्टजस्ता उच्च सीपयुक्त कामका लागि सरकारबाट लाइसेन्स नै लिएको हुनुपर्छ, चानचुने मानिसले गर्न सक्दैन। झण्डै सय मिटर लामो टनेल बोरिङ मेसिन (टिबिएम) पाइलट, मेकानिकको काम गर्ने नेपाली नै हुन्। हङकङमा अस्ट्रेलियाली, फ्रान्सेली, कोरियाली, बेलायती सबै निर्माण कम्पनीले नेपाली कामदार खोज्छन्। अबका चार पाँच वर्ष निर्माण क्षेत्रमा धेरै अवसर छ हङकङका नेपालीलाई। 

मकाउ र हङकङमा कमाएको पैसा कहाँ लगानी गर्नुहुन्छ? 
वैदेशिक रोजगार आफ्नो व्यावसायिक क्षेत्र भए पनि मैले नेपालमा जलविद्युत, पर्यटन र स्वास्थ्यमा लगानी गरेको छु। राजनीतिक स्थिरता भयो भने धेरै एनआरएन नेपाल फर्किन्छन् र अवसर पनि त्यहीँ छ। आर्थिक लगानीसँगै आफुले सिकेको सीप, अनुभव पनि देशमै लगानी गर्नुपर्छ भन्ने मान्यता विकास भइरहेको छ। चीन, भारतको आर्थिक विकासमा डायस्पोराको ठूलो भूमिका छ, नेपालमा पनि त्यो दिन टाढा छैन। 

तपाईं नेपालमा एनआरएन भवन निर्माणका लागि अर्थ संकलनमा पनि सक्रिय देखिनुहुन्छ, कहाँ पुग्यो यो अभियान? 
म एनआरएनमा लागेको दस वर्ष भयो। हङकङको अध्यक्षपछि एसिया प्रशान्त क्षेत्रीय संयोजक हुँदै अहिले केन्द्रिय सल्लाहकार छु। वर्तमान अध्यक्ष शेष घले एनआरएनको आफ्नै घर बनाउने विशेष पहलमा हुनुहुन्छ र त्यसका लागि १६ करोड रुपैयाँ संकलन हुने प्रतिवद्धता आइसकेको छ। जापानमा भएको आठौं क्षेत्रीय सम्मेलनमा मैले संयोजन गरेको अर्थ संकलन कार्यक्रममा दुई करोड १३ लाख रुपैयाँ उठ्यो। एसिया प्रशान्त क्षेत्रको जिम्मा मैले लिएको छु। हामीले हङकङमा कार्यक्रम गरिसकेका छौँ र अब जापान, कोरिया, मलेसिया, सिंगापुर, बु्रनाई, म्यानमार, चीन जाने तयारीमा छौँ। बालुवाटारमा जग्गा पनि खरिद गरिसकिएकाले चाँडै नै घरको शिलान्यास हुन्छ।

Published on: 26 January 2015 | Nagarik

Back to list

;